रक्तचाप कम भए के गर्ने ?



Download our app to get more features

रक्तचाप निरन्तर कम हुनु पनि स्वास्थ्यको लागि हानिकारक मानिन्छ । यसकारण रक्तचाप कस्तो छ भनेर हरेक व्यक्ति पूर्ण जानकार हुनुपर्छ । रक्तचाप कम भयो भने मस्तिष्क र मिर्गाैला दुबैमा हानी पुर्याउन सक्छ । रक्तचाप कम भए अक्सिजन र पोषण तत्व  मस्तिष्कसम्म पुग्न सक्दैन । जसका कारण मस्तिष्कघात हुने सम्भावना उच्च रहन्छ ।

किन हुन्छ रक्तचाप कम
सामान्यतया शरीरमा पानीको मात्रा कम भयो भने रक्तचाप कम हुने गर्छ । मुटुलाई स्वस्थ राख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हँुदैन । गर्भावस्था, हर्मोनको असन्तुलन, मधुमेह, रगतमा चिनीको मात्रा कम, औषधिको प्रभाव, मुटुको असामान्य गति जस्ता कारणले पनि रक्तचाप कम हुन सक्छ । 
सबैभन्दा पहिले रक्तचाप किन कम भयो भनेर पत्ता लगाउनुपर्छ । रक्तचाप घटेमा रगतको मात्रा कम हुने, पिसाब कम लाग्ने, वान्ता हुने, झाडापखाला लाग्ने, रिङ्गाटा लाग्ने, आँखाको अगाडि अँध्यारो हुने, बेहोस हुने, अत्याधिक थकान हुने, कमजोरी जस्ता लक्षण देखापर्छ । यसको उपचार लक्षणको तिव्रता, स्वास्थ्य स्थिति अनुसार निर्भर हुन्छ ।

रक्तचाप बढाउने यी हुन् उपाय :

प्रशस्त पानी पिउने 
कुनै कारणले शरीरमा पानीको मात्रा कम भयो भने रक्तचाप घट्न थाल्छ । यस्तो अवस्थामा पानीको मात्रा बढाएर रक्तचापलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ । गर्मी मौसममा अत्याधिक पसिना आउने र पानीको कमी हुँदा रक्तचाप कम हुनेगर्छ । त्यसैले गर्मीयाममा हिउँदमा भन्दा अलि बढी पानी पिउनुपर्छ । साथै जीवनजल पनि पिउनु फाइदाजनक हुन्छ । 

नुन
रक्तचाप कम हुने बित्तिकै खानामा नुनको मात्रा बढाउनु पर्छ । गर्मीको समयमा चिसो पानीमा चिनी, नुन र कागती मिसाएर पिउँदा फाइदा हुन्छ । नुनको मात्रा बढाउनुपूर्व चिकित्सकको सल्लाह लिनुपर्छ । नुनको मात्रा बढी भएमा स्वास्थ्यमा नकारात्मक असर पर्नुको साथै रक्तचाप धेरै बढ्न पनि सक्छ । 

रक्सी
रक्सी सेवन पूर्ण बन्द गर्नुपर्छ । रक्सी पिउँदा पिसाब धेरै आउने र शरीरमा पानीको कमी हुन गई रक्तचाप कम हुन्छ ।

आहार
खानामा सँधै पौष्टिक आहार समावेश गर्नु पर्छ । शरीरमा पौष्टिक तत्वको अभाव हुँदा रक्तचाप कम हुनुका साथै कमजोरी हुन सक्छ । स्वास्थ्यको लागि घातक मानिने फाष्टफुड खानु भन्दा हरियो सागसब्जी र फलफुल खानु पर्छ । खानामा किसमिस, बदाम, गाजर, तुलसी, कागतीको सेवन राम्रो मानिन्छ । 

व्यायाम
उमेर र क्षमता अनुसार हरेक दिन व्यायाम गर्दा स्वास्थ्यमा फाइदा पुग्छ । व्यायाम गर्दा मुटु र रक्तनली स्वस्थ र मुटुको धड्कन राम्रो हुन्छ । 

जीवनशैली
सर्वप्रथम तनावरहित जीवन जीउने प्रयास गर्नुपर्छ । बसिरहेको स्थान वा पोजिसन फेर्नु परे बिस्तारै फेर्नुपर्छ । सुतेर झट्ट उठ्ने वा हत्तारिएर उठ्दा पनि रक्तचाप कम हुँदा चक्कर आउन सक्छ । त्यसैले ‘पोजिसन’ बदल्दा विस्तारै गर्नुपर्छ । यदि उभिदा चक्कर आउँछ भने कुनै पनि वस्तुको सहारा लिएर उभिने प्रयास गर्नुपर्छ । यसो गर्दा रक्तसञ्चार ठीक हुनुका साथै रक्तचाप सामान्य हुन जान्छ ।
 

Last modified on 2018-06-15 07:43:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts