नसर्ने रोगको जोखिम बढ्दै



Download our app to get more features

काठमाडौं, १ असार । नेपाल एनसिडिआई पोभर्टी कमिसनको अध्ययन प्रतिवेदनले नेपालमा नसर्ने रोगको जोखिम तिव्र रुपमा बढीरहेको र यसको सबै भन्दा बढी मार गरिब र विपन्न परिवारमा परिरहेको जनाएको छ । यस्तो जोखिमले गबिर विपन्नको संख्या पनि थपिदै गएको सो अध्ययनको निचोड छ । 

प्रतिवेदनका अनुसार नसर्ने रोग मध्ये मुटु रोगको जोखिम बढी छ । बेलायतको ल्यान्सेट जर्नलले नसर्ने रोगको बारेमा अध्ययन गर्न बनाएको ‘ल्यान्सेट कमिसन अन रिफ्रेनिङ एनसिडिज् एण्ड इन्जुरिज् फर द पोअरेस्ट बिलियन’ले नेपाल एनसिडिआई पोभर्टी कमिसन गठन गरेको थियो । कमिसनले नेपालमा नसर्ने रोग सम्बन्धी भएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो । 
प्रतिवेदनका अनुसार ग्लोबल बर्डेन अफ डिजिज्को सन् २०१५ को तथ्यांङ्कले मुलुकमा ५१ प्रतिशत नसर्ने रोग र १४ प्रतिशत दुर्घटनामा मानिसले ज्यान गुमाएको र शारीरिक रुपमा अशक्त भएको देखाएको छ । सन् २००४ मा प्रति एक लाख जनामध्ये १४ हजार ९ सय ३९ जनामा नसर्ने रोग लागेर अशक्त भएका थिए । सन् २०१५ मा यो संख्या बढेर १६ हजार ४ सय ३९ पुग्यो । दुर्घटनाबाट शारीरिक रुपमा अशक्त हुने समस्या पनि बढीरहेको अध्ययनले देखाएको छ ।

सन् २००४ मा प्रति एक लाख जनसंख्यामा दुर्घटनाका कारण तीन हजार ५ सय ५९ जना शारीरिक रुपमा अशक्त भए । तर सन् २०१५ मा यो संख्या बढेर चार हजार ५ सय ९६ पुग्यो । 
सन् १९९० मा मुलुकमा सरुवा रोगको समस्या नसर्ने रोगभन्दा बढी थियो । अध्ययनले सन् २०१५ सरुवा रोगको तुलनामा नसर्ने रोग दोब्बरले बढेको देखाएको छ । पछिल्ला वर्षहरूमा नसर्ने रोगबाट प्रभावित हुनेहरूको उमेर समूहमा परिवर्तन देखिएको छ । पहिले उमेर ढल्केकाहरू बढी प्रभावित हुने यो रोगबाट पछिल्ला वर्षमा युवा बढी प्रभावित छन् । 

सन् २०१५ को ग्लोबल बर्डेन अफ डिजिज्को तथ्याङ्कले मुलुकमा ४० भन्दा अघिको उमेरमा नसर्ने रोग लागेर ३७ दशमलव ९ जना शारीरिक रुपमा अशक्त भएकोमा दुर्घटनाका कारण ७९ प्रतिशत अशक्त भए । खासगरि युवामा नसर्ने रोग दम, जन्मजात मुटुमा समस्या, बाथ मुटु रोग, रक्तकोषहरूको असामान्य वृद्धि भएर लाग्ने क्यान्सर, लिम्फोमास भनिने क्यान्सर, सिकल सेल एनेमिया, टाईप वान मधुमेहका कारण प्रभावित छन् । यस्तै अध्ययनले सडक दुर्घटना, डुबेर र आत्महत्या गरेर युवा अवस्थामा मृत्यु हुनेको संख्या पनि बढिरहेको देखाएको छ । नेपालमा ४० भन्दा कम उमेरमा नै नसर्ने रोग र दुघर्टनाका कारण मर्नेहरूको संख्या उच्च आयस्रोत भएका मुलुकको तुलनामा बढी भएको सो प्रतिवेदनले देखाएको छ । 

जोखिमको कारण 
ग्लोबल बर्डेन अफ डिजिज्को सन् २०१५ को तथ्यांकले १७ प्रतिशत शारीरिक अशक्तताको कारण मुटु रोग,  १० प्रतिशत शारीइरिक अशक्तताको कारण कडा खालको श्वासप्रश्वास सम्बन्धी रोग, ८ प्रतिशत शारीरिक अशक्तताको कारण मधुमेहलाई देखाएको छ । यस्तै ९ प्रतिशत शारीरिक अशक्तताको कारण मस्कुलोस्केटल डिसअर्डर र ८ प्रतिशत शारीरिक अशक्तताको कारण मानसिक स्वास्थ्यमा समस्या भएलाई देखाएको छ । तर, नेपालमा मुटु रोग, मधुमेह, क्यान्सर र फोक्सोको रोगका कारण मात्र ४० प्रतिशत शारीरिक अशक्तताको समस्या निम्तिएको छ । 

यस्तै वार्षिक प्रति लाख जनसंख्या मध्ये करिब २२ सयको हाराहारिमा प्राकृतिक विपद्का कारण र प्रति लाख जनसंख्यामा दुई हजार मानिस इस्केमिक मुटु रोगका कारण अशक्त हुने गरेको देखाएको छ । नेपाल एनसिडिआई पोभर्टी कमिसनको अध्ययन प्रतिवेदनका अनुसार धुम्रपान, मद्यपान, उच्च रक्तचाप, घरभित्रको प्रदुषण, वातावरणीय प्रदुषण लगायतका कारण नसर्ने रोगले शारीरिक अशक्तताको समस्या बढेको हो । तर, प्रतिवेनदनका अनुसार यी कारण भन्दा पनि बढी ६२ प्रतिशत नसर्ने रोग विभिन्न खाले संक्रमण, गरिबी, उपयुक्त बासस्थानको अभावले लागिरहेको छ ।

सन् २०११ मा भक्तपुरको दुवाकोटका १३ हजार ६ सय ६९ जनामा गरेको एक अनुसन्धानले उनीहरूमा श्वासप्रश्वास सम्बन्धी रोग प्रमुख समस्या थियो । त्यसपछि उनीहरूमा क्रमशः मुटु रोग, उच्च रक्तचाप, ग्याष्ट्रिक देखिएको थियो । यस्तै सन् २०११ मा विभिन्न ३१ अस्पतालमा भर्ना भएका चार सय बिरामीमा गरेको अध्ययनले ४३ प्रतिशत सिओपिडि, ४० प्रतिशत मुटु रोग, १२ प्रतिशत मधुमेह र पाँच प्रतिशतमा क्यान्सर लागेको भेटिएको थियो । 

अधिकांश नसर्ने रोगका कारण निम्तने शारीरिक अशक्तताको समस्या धनीको तुलनामा गरिब र विपन्नमा बढी छ । गरिबहरू वातावरणीय प्रदुषणका कारण दम, सिओपिडी, उच्च रक्तचाप, मुटु रोग र स्ट्रोकको समस्याबाट प्रभावित भइरहेका छन् । यस्तै उचाईबाट लड्ने, आगोले डढ्ने र सडकमा हिडिरहेका बेला दुर्घटनामा पर्ने समस्या गरिबमा सामान्य बन्दै गएको अध्ययनले देखाएको छ । 

सर्भिस ट्रयाकिङ सर्भे–०११, का अनुसार हिमाली जिल्लाका ४४ दशमलव ३ प्रतिशत घरधुरिले ३० मिनेटमा पुगिने स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् । यस्तै, पहाडका ४८ दशमलव ९ र तराईका ७७ दशमलव ९ घरधुरिले ३० मिनेटमा पुगिने स्वास्थ्य सेवा लिइरहेका छन् । 

असमान सेवा
नेपाल सर्भिस प्रोभिजन एसेस्मेन्ट २०१५, का अनुसार जिल्ला अस्पताल र प्राथमिक उपचार केन्द्रमा मधुमेह, मुटु रोग र श्वासप्रश्वास सम्बन्धी कडा खाले रोगको उपचार सेवा राम्रो पर्याप्तता भए पनि उपचार गर्ने गाईडलाईन र तालिमप्राप्त स्वास्थ्यकर्मी अभाव छ । जस्तो जिल्ला अस्पतालहरूमा ९७ दशमलव ४ प्रतिशत मधुमेह रोगको उपचार गर्ने सेवा उपलब्ध भए पनि ८ दशमलव १ प्रतिशतमा मात्र गाईडलाईन उपलब्ध छ । तर तालिमप्राप्त जनशक्ति कहिँ पनि छैनन् । यस्तै ३ दशमलव १ प्रतिशत प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा मुटु रोगको उपचार गर्न स्वास्थ्य सेवा उपलब्ध भएकोमा जम्मा ० दशमलव ५ प्रतिशत केन्द्रमा मात्रै तालिम प्राप्त स्वास्थ्यकर्मी उपलब्ध छन् । 

निजी र सरकारी स्वास्थ्य संस्थामा नसर्ने रोगको उपचार सेवाको उपलब्धतामा पनि ठुलो अन्तर छ । १५ दशमलव १ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा मात्र मधुमेह रोगको उपचार हुन्छ । तर ९५ दशमलव दुई प्रतिशत निजी स्वास्थ्य संस्थामा यो रोगको उपचार सेवा छ । यसले निजी र सरकारी स्वास्थ्य संस्थामा सेवाको उपलब्धताको दृश्य प्रष्ट हुन्छ । 
नसर्ने रोगको प्राथमिक उपचारमा मात्र नभएर विशेषज्ञ सेवाको उपलब्धतामा पनि निजी र सरकारी स्वास्थ्य संस्थामा धेरै ठुलो खाडल देखिएको छ । स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष ०७२÷७३ को वार्षिक प्रतिवेदनले ८८ प्रतिशत निजी अस्पतालमा इकोकार्डियोग्राफी र ७६ प्रतिशतमा इलेक्ट्रोकार्डियोग्राफी सेवा उपलब्ध भए पनि सरकारी अस्पतामा यी सेवाहरु क्रमशः १२ र २४ प्रतिशत मात्र छ । 

प्रति परिवार नसर्ने रोग उपचारमा कति गर्छन खर्च
अध्ययन प्रतिवेदनले क्यान्सर रोगको उपचारका लागि एउटा परिवारले वर्षमा औसतमा एक लाख पाँच हजार, मिर्गौला, कलेज रोगको उपचारका लागि ९१ हजार १ सय ७७ र मुटु सम्बन्धी रोगको उपचारमा ८८ हजार ४ सय ८३ खर्च गर्ने गरेको देखाएको छ । मुटु, मिर्गौला र कलेजो रोगको उपचारमा सबैभन्दा बढी केमो–रेडियोथेरापी, डायलाइसिस र प्रत्यारोपण, इकोकार्डियोग्राफी र कार्डियाक सर्जरीमा पैसा खर्च हुने गरेको छ । 
मधुमेह, मुटु रोग र श्वासप्रश्वास सम्बन्धी कडा खाले रोगको बढ्दो जोखिम कम गर्न स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा चलाइरहेको पेन कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रतिवेदनले सुझाएको छ । अहिले १२ जिल्लामा सञ्चालित यो कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ । 

(हाम्रो डक्टर म्यागजिनबाट)
 

Last modified on 2018-06-16 08:35:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts