दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी



Download our app to get more features

दाङ, ३ असार । जिल्लामा अझै पनि पाँच हजार ६ सय ५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । 

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६ सय ५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएको छ । 

सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पुर्याउन तथा सन् २०२० सम्म उपचारबाट घटाउन सक्ने न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा दृष्टिदोषको उपचारसेवा शुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए । 

जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मोतिविन्दुरहित गाउँ शहर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले सो परियोजना ल्याएको बताइएको छ । जसअन्र्तगत तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात वटै गाउँपालिकासँग समन्वय गरिरहेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताए । स्थानीय निकायको ६० प्रतिशत र अस्पतालको ४० प्रतिशत सहभागितामा यस्तो उपचार सेवा शुरु गर्न लागिएको हो । 

जसअन्र्तगत विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर राख्ने र त्यहाँ भेटिएका बिरामीलाई अस्पतालमा शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ । एउटा व्यक्तिको मोतिविन्दुको शल्यक्रियाका लागि रु आठ हजार रकम लाग्ने र सो मध्ये स्थानीय निकायले ६० प्रतिशत र अस्पतालले ४० प्रतिशत रकम व्यहोर्ने गरी कार्यक्रम तयार पारिएको छ । जसले गर्दा पैसाको अभावले न्यून दृष्टियुक्त भएर बस्नु नपर्ने नेत्रज्योति संघले जनाएको छ । 

जिल्लाको घोराही उपमहानगरपालिकाको १९ वटा वडामा एक लाख ५६ हजार जनसंख्यामा एक हजार ५ सय ८४ जनामा मोतिविन्दु रहेको पाइएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका सबै वडाभित्र रहेको एक लाख ४१ हजार जनसंख्यामा एक हजार ४ सय ३५ जनामा मोतिविन्दुको समस्या रहेको छ । त्यसैगरी, लमही नगरपालिकाभित्र ४ सय ८३, राजपुर गाउँपालिकामा २ सय ५४, गढवा गाउँपालिका ३ सय ९१ र राप्ती गाउँपालिकामा ४ सय १३ जना मोतिविन्दुको समस्या रहेको छ । अस्पतालले प्रत्येक वर्ष २४ हजार बढीको आँखा रोगीको आँखामा देखिएको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि दिने गरेको नेत्र अधिकृत शालिकराम गौतमले बताए ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts