स्वास्थ्य बीमा : एक वर्षभित्र ७७ जिल्लामा



Download our app to get more features

पहिलो पटक कैलाली, बाग्लुङ र इलाममा नमूनाका रुपमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ३३ वटा जिल्लामा सञ्चालनमा रहेको छ ।

सरकारले बितेका आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याउने घोषणा बमोजिम अहिले ३३ जिल्लामा यो कार्यक्रम लागू भइसकेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा थप सातवटा जिल्ला पर्सा, बझाङ, कालिकोट, मुगु, डोल्पा, हुम्ला, सिरहामा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारी लक्ष्य रहेको छ ।

यसैगरी आगामी आर्थिक वर्ष ०७५ /७६ मा यो कार्यक्रम थप ७ वटा जिल्ला पर्सा, वझाङ, कालिकोट, मुगु, डोल्पा, हुम्ला, सिरहा थप गरी ७७ वटै जिल्लामा पुर्याउने सरकारको लक्ष्य रहेको छ । स्वास्थ्य बीमा कार्यक्रम बोर्डको वेभ साइटमा राखिएको यहि जेठ ९ गतेसम्मको तथ्याँकलाई आधार मान्दा अहिलेसम्म जम्मा ८ लाख ७८ हजार ५ सय ४३ जनाले बीमा गराइसकेका छन् । सबै जिल्लामा एकैचोटी बीमा कार्यक्रम लागू नभएका कारण सबैको नविकरण गर्ने बेला भइसकेको छैन् । ३३ जिल्लामध्ये ८ वटा जिल्लामा यो कार्यक्रम लागू भइसकेको १ वर्ष पूरा भइ नविकरणको समय समेत गुज्रिसकेको छ भने बाँकी जिल्ला मध्ये कुनैको ८ महिना त कुनैको दुई चार महिना मात्र भएको छ ।  

वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलका अनुसार यो समाचार तयार पार्दासम्म पोहोर साल बीमा गरेर नविकरणको समय पाइसकेका मध्ये १५ प्रतिशत व्यक्तिले भने बीमा नविकरण गराएका छैनन् । पौडेलका अनुसार  बीमा नविकरण नहुनुमा विभिन्न कारणहरु हुन सक्छन् । यसका लागि टोली बनाएर अध्ययन नै गर्नुपर्ने उनको भनाई । तर पनि उनले नविकरण नगराउनुमा यी कारण हुन सक्ने आँकलन गरे –

  • बीमाको शुरुवाती रकम र नविकरण रकम समाना हुनु,
  • बीमाबाट प्राथमिक उपचार मात्र प्राप्त हुनु,
  • परिवारमा कोही बिरामी नै नपरेका कारण फजुल खर्च जस्तो महसुस हुनु,
  • बीमाका फाइदाबारे कम जानकार हुनु आदी । 

के हो स्वास्थय बीमा ?
स्वास्थ्य बीमा गरेपछि बिरामी पर्दा वा चोटपटक लाग्दा उपचार खर्च बीमावापत् पाइन्छ । वार्षिकरुपमा निश्चित रकम तिरेपछि निश्चित रकमसम्म उपचार खर्च बीमा कम्पनीमार्फत् पाइन्छ । बीमा कम्पनीले ल्याएको योजनाअनुसार वार्षिकरुपमा थोरै रकम तिरेर भैपरी आउने स्वास्थ्य जोखिमको खर्चबाट बच्न सकिन्छ । विश्वमा यो बीमाको विकास धेरै अगाडीदेखि भएपनि नेपालमा भने २०४० सालतिरबाट मात्रै स्वास्थ्य बीमा सुरु भएको हो ।

सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो । व्यक्तिगत स्वास्थ्य बीमा गर्न तपाईंको परिचय खुल्ने प्रमाणित परिचयपत्र भए पुग्छ । बीमा गर्न सामान्यतया ५ वर्ष पुगेको हुनुपर्छ भने कम्पनीपिच्छे ५५ देखि ६५ वर्षसम्मका ब्यक्तिले स्वास्थ्य बीमा गर्न सक्छन् । न्यूनतम सीमा नभए पनि अधिकतम भने कम्पनीअनुसार १० लाखदेखि ३५ लाखसम्मको बीमा गर्न सकिन्छ ।सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमाको रकमअनुसार बीमांक भने एकसय रुपियाँदेखि ५ हजार रुपियाँसम्म पर्छ । पाँचजना भएको परिवारले वार्षिक दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउनेछन् । पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप प्रतिव्यक्ति चारसय २५ रुपियाँ अतिरिक्त तिरेर पनि सदस्य बन्न पाउनेछन् ।

सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्म उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अंग, चस्मा, सुन्ने यन्त्र, लिंग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागूपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् । 

संस्थागत स्वास्थ्य बीमा
संस्थागत स्वास्थ्य बीमा भने संस्थाले नै गरिदिनु पर्छ । कुनै कम्पनी वा उद्योगको प्यान नम्बरसहितको लेटरप्याडमा कम्तीमा ५ देखि १० जना र बढीमा सीमा नलगाई कम्पनीले नै प्रिमियम दिने गरी बीमा गर्न सकिन्छ । यसो गर्दा भुक्तानी पनि कम्पनीकै नाममा हुन्छ । यदि बीमित ब्यक्ति दिर्घरोगी छ भने वा गर्भवती छ भने वा बीमा गरेलगत्तै २८ दिनभित्र कुनै बिरामी परेमा भने बीमा कम्पनीले उपचार नबोहोर्ने राष्ट्रिय बीमा कम्पनीको भनाई छ । अरु बिरामी वा अङ्गभङ्ग हुँदा सरल तरिकाले भुक्तानी हुन्छ ।

नेपालको संविधानले नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानबमोजिम यो कार्यक्रम लागू भएको हो । यो बीमा कार्यक्रम लागू भएपछि पनि सरकारले २५ शैयासम्मको अस्पतालबाट उपलव्ध हुने निःशुल्क स्वास्थ्य सेवा र ७० ओटासम्म औषधि निःशुल्क नै प्राप्त हुने प्रावधान हो । यो सेवापश्चात् स्वास्थ्य सेवा लिँदा व्यक्तिगतरुपमा गरिने खर्चलाई कम गर्न र गरिबीको रेखामुनि रहेका २५ प्रतिशत जनतालाई समेत स्वास्थ्य सेवा सुविधा सुनिश्चित गराउन सहयोग पु¥याउने लक्ष्य लिएको छ ।

विद्येयकमा यस्तो छ 
सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने व्यवस्था सहितको स्वास्थ्य बीमा ऐन २०७३ को विधेयक गगन थापा स्वास्थयमन्त्री हुँदाको समयमा पारित गरेको हो ।

मन्त्रीपरिषदको बैठकले ‘स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७३’ लाई पारित गरेको हो । विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । यस्तै वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । (हाम्रो डक्टर मासिकबाट)


 

Last modified on 2018-07-13 12:48:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts