छालामा क्यान्सरको रजाई



Download our app to get more features

क्यान्सरले मानिसका विभिन्न अंगहरुलाई आक्रमण गर्दछ । अन्य अंगका क्यान्सरभन्दा छालाको क्यान्सर फरक किसिमको हुन्छ किन कि यसलाई समयमा नै उपचार गराउँदा निको हुनसक्छ । २०१२ सालमा ब्रिसवेनमा बिदा मनाउन बस्दा छालाको क्यान्सरका विषयमा जानकारी लिने उत्सुकता उब्जिनुको कारण ब्रिसवेन नै यसको मुलघर भएको थाहा पाएर हो । 

संसारलाई उत्तरी दक्षिणी भूभागमा बराबरी गरेर बाँड्न बीच भागमा एउटा काल्पनिक रेखाको कल्पना गरिएको छ जसलाई एक्वेटर भनिन्छ । एक्वेटरको नजिक पर्ने देशहरुमा बरोबास गर्ने ब्यतिmहरुलाई छालाको क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ । ब्रिसवेन र डार्विन नामक शहरहरु एक्वेटरको नजिक भएकाले यिनिहरुलाई छालाको क्यान्सरका माइतिघर भने हुन्छ । रमणीय ब्रिटेन सहर दिन प्रतिदिन ठुलो हँुदै गैइरहेको छ । नेपालबाट आएका भुटानी शरणर्थीहरुले पनि यो शहरलाई आफ्नो कान्छि आमा बनाई सकेका छन् । विश्वकर्माले मन लगाएर फुर्सदमा रचना गरे जस्तो लाग्ने यो शहर स्वर्गजस्तै लाग्छ । पुस माघ महिनामा यहाँ केही गर्मी हुन्छ  । ब्रिसवेन २९ डिग्री ल्याटिचुड र २९  मिनेट दक्षिण तिर भएकाले यो एक्वेटरको नजिक पर्दछ । एक्वेटरको नजिक पर्ने मुलुकहरुमा सुर्यबाट आउने अल्ट्राभायोलेट प्रकाश ज्यादा हुन्छ । गर्मीको समयमा ब्रिसवेनका गोल्डकोष्ट र सनसाइन जस्ता अनेकौ समुन्द्रका किनारमा गएर मानिसहरु पौडी खेल्छन् । यसरी धेरै समयसम्म अल्ट्राभायोलेट प्रकाशले मानिसहरुको छालालाई प्रभाव पार्ने अवसर पाउँछ । धेरै समयसम्म घाममा बस्दा छाला डढेर फोकाहरु आउने गर्दछन् । अष्ट्रेलियाको घामबाट जोगिन छालामा सनस्क्रिन क्रिम लगाउनुको साथै मानिसहरु टोपी पनि लगाउँछन् ।

अल्ट्राभायोलेट प्रकाश ए र बी गरी दुई किसिमका हुन्छन् । सनस्क्रिन क्रिमले बी किसिमको अल्ट्राभायोलेट प्रकाशलाई छेक्न सक्षम हुन्छ भने ए किसिमको अल्ट्राभायोलेट प्रकाशलाई छेक्न सक्दैन । मेलानोमा छालाको एक किसिमको क्यान्सर हो । मानिसको शरीरका विभिन्न भागमा साना साना काला कोठी पाइन्छन् । कोठी जस्तैे मेलानोमा पनि कालो हुन्छ तर यो दिन प्रतिदिन बढ्दै गएर पछि  शरीरलाई हानी गर्छ । मैले १९६१ मा कर्नाटक विश्वविधालयबाट एम .बी.बी.एस जाँच दिएको थिए  । कानूनसँग सम्बन्धित विषयमा अध्ययन गर्दा पोष्टमार्टम गर्नेदेखि लिएर घाउ जाँच सम्बन्धि कुराहरु सिकाइन्छन् । कुनै व्यतिmलाई  कसरी चिन्ने भन्ने विषयमा पनि एम बी बी एस पढ्ने विधार्थीहरुले जानकारी राख्नुपर्छ । यहि विषयको जाँचमा मलाइ जाँचमा प्रश्न गर्ने प्रध्यापकले मेरो अनुहारतिर हेर्दै यसो भने तिमी  अन्तिम जाँच  दिने विद्यार्थी भएकाले म तिमीलाइ सजिलो प्रश्न सोध्न गैइरहेकोछु  । तिम्रो दायाँ पटिको आँखा मुनि सानो कालो कोठी रहेछ । यही  कालो कोठीका विषयमा भन । प्राध्यापकको  सजिलो प्रश्न मैले पढेको जुरिसप्रुडेन्को पुस्तकमा पढेजस्तो त लागेन तापनि मैले भूमिका बाँधेर उतर दिँदा अन्तमा यो मानिस चिन्ने आधार हुन सक्छ भन्ने बितिकै प्रध्यापक खुशी हँुदै मलाई जाने इसारा गरे । विद्यार्थीहरुलाई प्रश्न गर्दागर्दा थाकेर प्राध्यापकले मलाइ चाडै छुटकारा दिएको होकि जस्तो पनि मलाई त्यसबेला लागेको थियो । पछि बेलायत पढ्न जाँदा पासपोर्ट बनाउँदा मैले दाँया आँखा मुनि कालो कोठी  भएको भनेर लेखेको छु ।

यहाँ उल्लेख गरिएका मेलानोमा नामक छालाको क्यान्सर अल्ट्राभायोलेट ए बाट हुने भएकाले सनस्क्रिन क्रिम लगाएर यसलाई रोक्न सकिँदैन । बेजलसेल र स्कामससेल छालाका क्यान्सर अल्ट्राभायोलेट बी को प्रभावबाट हुने हुनाले यी हुई मुख्य छालाका क्यान्सर हुनबाट सनस्क्रिन क्रिमले बचाउन सक्छ । यसर्थ गर्मीको समयमा समुन्द्रको पानीमा शरीरलाई डुबाएर आनन्द लिनेहरुले सनस्क्रिन क्रिम लगाउन र टोपी लगाउन बिर्सनु हँुदैन ।

छालाको क्यान्सर अन्य कारणहरुबाट पनि हुन्छ । ह्यूमेन प्यापिलो भाइरस नामक विषाणुले छालाको क्यान्सर गराउन सक्छ भनिन्छ । धुम्रपान गर्दा हृदयघात गराउने मुटुरोग र पुरानो दमखोकी हुन्छ । विभिन्न अंगका क्यान्सर गराएर धुम्रपानले मानिसलाई अल्पायुमा नै मृत्यृको मुखमा पुर्याउँछ । धुम्रपानले छालाको क्यान्सर गराउन सक्छ भन्ने कुरा विद्धान वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । मेलानिन नामक पदार्थले छालालाई कालो गराउँछ । छालामा मेलानिन कम हुनेहरुको छाला गोरो हुन्छ । कालो छाला व्यतिmहरुको ठाउँ ठाउँको छालामा मेलानिन नहँुदा यस्ता मानिसहरुको शरीर सेता टाटाले भरिएका हुन्छन् । छालामा मेलानिन कम भएर गोरो छाला भएका मानिसहरु राम्रा देखिए तापनि यिनीहरुलाई अल्ट्राभायोलेटको प्रकाशले प्रभाव  पारेर छालाको क्यान्सर गराइदिन्छ ।

अष्ट्रेलियाबासीहरु समुन्द्रको चिसो पानीको आनन्द लिन बराबर घाममा बाहिर निस्किन्छन् । यसो गर्दा छालाको क्यान्सर हुने डर हुन्छ । संसारमा सबैभन्दा ज्यादा छालाको क्यान्सर हुने ठाउँ अष्ट्रेलिया नै मानिँदो रहेछ  । यसर्थ अष्ट्रेलियाबासीहरुले छालाको क्यान्सरबाट आफु र आफ्ना परिवारलाई जोगाउन हरेक दिन सुर्य भगवानलाई सम्झिने गर्दछन् । भगवान्को प्रकोपबाट बच्न सकभर उनको अगाडि नपर्नु बुद्धिमानी हुन्छ । हे सुर्य भगवान तिम्रो नदेखिने अल्ट्राभायोलेट प्रकाशबाट क्यान्सर जस्तो भयानक रोग प्रकट हुन नदेउ । यो अल्ट्राभायोलेट प्रकाश नियन्त्रण गरेर भविष्यमा यसलाई मानव कल्याणकारी काममा लगाउन वैज्ञानिकहरु सफल हुन सकुन् मेरो यहि शुभकामना छ ।

 

(स्वास्थ्य सम्बन्धी मेरा अनुभवका कथाहरू नामक प्राडा डम्बरबहादुर कार्कीको पुस्तकबाट

Last modified on 2018-06-27 08:38:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts