मेडिकल सिटीका रुपमा विकास हुँदै चितवन



Download our app to get more features

चितवन मेडिकल सिटीका रुपमा विकास हँुदै गएको छ । छोटो अवधिमा भरतपुर नगरपालिकाबाट उपमहानगरपालिका हँुदै महानगरपालिकामा बढुवा भएको चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न चौतर्फी दबाब बढ्दो छ । जम्मा १० लाख हाराहारीमा जनसंख्या भएको चितवन जिल्ला भरतपुर महानगरपालिकामा मात्रै दुई लाख जनसंख्या छ । पर्यटन, कृषि, शिक्षा क्षेत्रमा आत्मनिर्भर बनिसकेको चितवनमा स्वास्थ्य क्षेत्रले समेत आत्मनिर्भरको बाटो लिएको अधिकारीहरू बताउँछन् । 

केहिँ बर्ष यता काठमाण्डौंपछि सबै भन्दा राम्रा र धेरै चिकित्सक चितवन काम गर्न थालेका छन् । चिकित्सकको रोजाई र अस्पतालहरूले थप्दै गरेको संरचना र प्रविधिका कारण १० बर्षयता चितवन मेडिकल हबको रुपमा विकास हुन थालेको हो । चितवन जिल्लामा तीन वटा सरकारी अस्पताल छन् भने एक दशकयता मात्रै ३६ वटा हेल्थ पोष्ट, १५ वटा नगर स्वास्थ्य केन्द्र, तीन वटा सामुदायीक स्वास्थ्य केन्द्र, भरतपुर क्यान्सर अस्पताल, निजी स्तरबाट संचालित सुविधासम्पन्न दुई मेडिकल कलेज छन् । 

यस्तै भरतपुरमा मात्रै २४ वटा निजी अस्पताल खलिसकेका छन् । १ सय १४ वटा डाइग्नोष्टिक सेन्टर, पोलिक्लिनिक, डेन्टल क्लिनिक रहेका छन् । जति पनि स्वास्थ्य संस्थाहरू रहेका छन् सबै भरतपुर केन्द्रित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख डा. विजयकुमार झा बताउँछन् । यसकारण सिंगो चितवन जिल्लालाई भन्दा पनि भरतपुरलाई मेडिकल सिटी मान्न सकिने उनको भनाइ छ ।

उपचार नपाए भरतपुर आउनु
‘देशका अन्य स्थानमा उपचार सम्भव नभए चितवन आउनु भन्ने’ भनाई चितवन आसपासका जिल्लामा सुन्न सकिन्छ । विदेशका सुविधानसम्पन्न अस्पतालले जस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि भरतपुर चितवनका अस्पतालले यस्तो नीति नै अबलम्बन गरेका हुन् ।

चितवनमा हाल ९ सय ६५ चिकित्सक कार्यारत छन् । जम्मा चिकित्सक मध्ये ७० प्रतिशत विशेषज्ञ चिकित्सक रहेका छन् । यो काठमाडौं पछिको सबै भन्दा धेरै चिकित्सको संख्या हो । सुगममा बसोबास गर्ने र विभिन्न अवसरको खोजी गर्नेका लागि चितवन जिल्ला नयाँ स्थानका रुपमा विकसित हँुदै गएको छ । धार्मिक ऐतिहासिक, एवं पर्यटकीय दृष्टिकोणले समेत महत्वपुर्ण मानिने चितवन देशको मध्य भागमा अवस्थित छ । पछिल्लो एक दशकमा चितवनले गरेको विकासले हिमाल, पहाड र तराईलाई जोड्ने पुलको काम गरेको जानकारहरू बताउँछन् । 
   
व्यवस्थित हुन आवश्यक 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख डा. विजयकुमार झाका अनुसार चितवनले मेडिकल सिटीको रुपमा विकास गर्दै गए पनि अब यहाँका अस्पतालहरू व्यवस्थित हुन जरुरी छ । यहाँका स्वास्थ्य संस्था कुनै योजनाबिनै स्थापना भएका जस्तो देखिने उनको भनाइ छ ।

उनले अब चितवनमा विशेष रोगका लागि विशिष्ठिकृत अस्पतालहरू स्थापना हुनुपर्ने जोड दिए । उनले भने ‘चितवन मेडिकल सिटी बन्न योग्य छ । तर, चितवनले स्वास्थ्यमा मारेको फड्को बिना योजनाको विकास जस्तो देखिएको छ । यसलाई व्यवस्थित र मापदण्डमा ल्याएको खण्डमा दीर्घकालीन रुपमा सोच्न सकिन्छ ।’ अहिले एउटै अस्पतालमा सबै किसिमका रोगको पहिचान हुँदै आएको छ । तर, मेडिकल हबको रुपमा विकास गर्दैगर्दा रोग अनुसारको अस्पताल हुन पनि आवश्यक  छ । 

नियमित स्वास्थ्य सेवा सञ्चालन
चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार मेडिकल सिटी बन्न स्वास्थ्य सेवा नियमीत संचालन हुनुपर्छ । बन्द हड्ताल जस्ता कुनै पनि बाहनामा सेवा रोक्न पाइदैन । ‘सेवाले बिरामीलाई प्रत्यक्ष प्रभाव पार्न सकोस र त्यो गुणस्तरीय सेवा पनि हुन सकोस्’ डा. झाले भने । एउटै ठाउँमा स्वास्थ्य संस्था थुपारेर मात्रै मेडिकल हव बनाउन सकिदैन यो विस्तारित सेवा हुनुपर्छ । चितवन मेडिकल हबको रुपमा विकास हुन उपयुक्त भए पनि केहि कुरामा परिवर्तन गर्न आवश्यक  देखिन्छ । डा. झाले भने ‘पहिला नै रोगको उचित पहिचान गरेर चितवनका जनतालाई स्वास्थ्य राख्न सकेको खण्डमा आर्थिक र स्वास्थ्यका हिसाबले चितवन थप अगाडि बढ्न सक्छ ।’ चितवनमा दक्षिण एशियामा नै सुविधा सम्पन्न मानिएको वीपी  कोइराला क्यान्सर अस्पताल र आधुनिक आँखा अस्पताल  छ । 

सबै प्रकारका उपचार चितवनमा 
नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. प्रकाश खतिवडाले चितवनमा सबै प्रकारका रोगको उपचार गर्न सक्ने सुविधा सम्पन्न दुई मेडिकल कलेज संचालनमा रहेको बताए । ‘मुटुको अपे्रसनदेखि सबै प्रकारका अप्रेसन चितवनमा हुन्छन् । मेरो उपचार हँुदैन की भन्ने अवस्था छैन’ उनले भने । चितवनका अस्पतालहरूमा ४ सय शय्याका आइसियु छन् । ‘जसरी पनि चितवनलाई मेडिकल सिटी बनाउनु पर्छ । तर, यहाँका स्वास्थ्य संस्थाले मेडिकल सिटी भयो भनेर ताली बजाउने हैन आफुलाई सुुधार गर्ने र अस्पतालका स्तरलाई उकास्नतिर लाग्नुपर्छ ।’ डा. खतिवडाले भने । 

किटजन्य रोगको हब पनि चितवन
मेचीदेखि महाकालीसम्मका बिरामी आउने लक्ष्य राखेर काम गर्नुपर्ने चुनौती पनि देखिन्छ । यसबाहेक चितवन किटजन्य रोगको केन्द्र पनि हो । मलेरीया, कालाजार, डेङ्गु आदि धेरै रोगबाट चितवन प्रभावित क्षेत्र हो । यस्तो अवस्थामा यसलाई पनि म्यानेज गर्न सक्ने हैसियत चितवनका अस्पतालहरुले बनाएको हुनुपर्छ । 

सामान्यदेखि जटिल रोग पत्ता लगाउन नमूना परीक्षणका लागि योग्य र गुणस्तरीय ल्याब चितवनका अस्पतालले संचालनमा ल्याएका छन् । सुरुका दिनमा नमूना परीक्षणका लागि चितवनमा राम्रा ल्याबको व्यवस्था नहुँदा भारत र काठमाडौं पठाउने गरेको डा. खतिवडाले बताए । उनले भने, ‘अहिले चितवनमा ठुला ठुला ल्याब संचालनमा छन् । चितवनमा भएका ल्याबहरूले जस्तो सुकै रोगको नमूना परीक्षण गर्ने क्षमता राख्छन् ।’

२२ जिल्लाको उपचार गर्ने थलो भरतपुर अस्पताल
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रुद्र मरासिनी विदेशबाट समेत उपचार गर्न चितवन आउने वातावरण सृजना गर्नुपर्ने बताउँछन् । सरकार र अस्पताल विकास समितिको गरि हाल भरतपुर अस्पतालमा मात्रै ६ सय शय्या छन् । अस्पतालमा सरकारी भन्दा विकास समितिका कर्मचारी धेरै छन् । ६ सय कर्मचारी अस्पतालमा कार्यरत रहेका छन् । यसमा नेपाल सरकारका १ सय ४० जना मात्रै छन् । त्यस बाहेकका ४ सय ६० जना अस्पताल विकास समितिबाट रहेका छन् । 

भरतपुर अस्पताल दुई ढृङ्गाको तरुलका रुपमा रहेको छ । अस्पताल संचालन गर्न विकास समितिलाई सरकारले धेरै अधिकार दिएको छैन । तर, सरकार भने विकास समितिले चलाउँछ भनेर मौन बसेको अवस्था छ । सरकारले भरतपुर अस्पतालको अधिकार सबै लिने वा सबै विकास समितिलाई दिने भन्नेमा निर्णय लिएको खण्डमा भरतपुर अस्पतालको विकास हुने देखिन्छ । भरतपुर अस्पतालमा उपचार गराउनका लागि २२ जिल्लाबाट मानिस आउने गर्छन । पुर्वको ढल्केबरदेखि पश्चिम दाङसम्मको बिरामी आउने गरेको अस्पतालको रेकर्ड छ । 

प्रति दिन ४ सय बिरामी क्यान्सरका
सन् १९९७  बाट बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले चितवनमा सेवा सुरु गरेको हो । सुरुवाती दिनमा ओपिडि सेवा राम्रोसँग सुरु भएको थिएन । डे प्यासेन्टबाट सेवा सुरु भएको थियो । ल्याब टेस्ट, स्क्रिनिङ् जस्ता कार्यहरू सामान्य रुपमा हुन्थ्यँे ।

उपचार पछि बिरामी भर्ना गर्ने प्रावधान क्यान्सर अस्पतालमा थिएन । क्यान्सर अस्पताल सर्जरी विभाग प्रमुख डा. विनय ठाकुरका अनुसार सन् १९९९ बाट बिपि कोइराला क्यान्सर अस्पताल भरतपुरले औपचारिक रुपमा बिरामीलाई सेवा दिन सुरु ग¥यो । सानो अस्पताल, थोरै सेवा, कम कर्मचारीबाट सुरु भएको सेवा बिस्तारै वृद्धि हँुदै गयो । सुरुका दिनमा ३० जना बिरामी ओपिडिमा आउने गरेकामा हाल ५ सय बिरामी हरेक दिन ओपिडिमा आउने गरेको ठाकुर बताउँछन् । ५ सय मध्ये ४ सय क्यान्सरका बिरामी उपचारका लागि आउने गरेका छन् । यो संख्यालाई क्यान्सर बिरामीको हकमा ठुलो मान्नुपर्छ । जनरल ओपिडिमा एक हजार बिरामी जादै गर्दा क्यान्सरमा मात्रै दिनमा ५ सय बिरामी आउनु भनेको ठुलो संख्या हो । परीक्षणका क्रममा ८० प्रतिशत बिरामीका क्यान्सर देखिने गरेको छ । अस्पतालले दैनिक २५ जनासम्म क्यान्सरका बिरामीको डाइग्नोसिस गर्ने गरेको छ । 

मेडिकल कलेज : डाइग्नोसिस सेवामा नेपालमै एक नम्बर
चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिश न्यौपानेले कलेजको उदेश्य चितवन र चितवनमा उपचार गर्न आउने बिरामीलाई सस्तो र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताए । नेपालको एक नम्बर मेडिकल कलेजका रुपमा स्थापित चितवन मेडिकल कलेजले अन्य कलेज र अस्पतालहरूले दिन नसकेका सेवा प्रदान गर्न थालेको छ । आइएसओ मान्यता प्राप्त पहिलो मेडिकल कलेज पनि हो चितवन मेडिकल कलेज ।
‘डाइग्नोसिस सेवामा हामी नेपालमै एक नम्बरमा छौं’ अध्यक्ष डा. न्यौपानेले भने ‘नेपालमा पहिलो सुविधासम्पन्न ल्याब हामीसँग रहेको छ । रेडियोलोजीमा सिटीस्क्यान, एमआरआई, मेमोग्रामदेखि लिएर ४० अल्ट्रासाउण्ड रहेको छ । जस्तो सुकै बिरामीको डाइग्नोसिस हामी आफै गर्छौ । डाइग्नोसिसका लागी भारत जानुपर्ने बाध्यतालाई चितवन मेडिकल कलेजले अन्त्य गरिदिएको छ ।’
  
तीन हजार भन्दा बढी शय्या 
चितवनका स्वास्थ्य संस्थाहरूले हाल चितवनसँग जोडिएका ६ जिल्ला चितवन, नवलपरासी, मकवानपुर, लमजुङ, तनहँु र गोरखाका नागरिकलाई प्रत्यक्ष रुपमा सेवा दिदै आएको छ ।  चितवन जिल्लाका अस्पतालहरूले ६ जिल्लाका ४० लाख नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा प्रवाह गरिरहेका छन् । चितवन मेडिकल कलेजले १२ सय ४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । चितवनका स्वास्थ्य संस्थाले मात्रै ६ हजार ५ सय ४४ जना नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । चितवन मेडिकल कलेजमा ७ सय ५० शय्या, कलेज अफ मेडिकल साईन्समा ७ सय ५० शय्या, क्यान्सर अस्पतालमा ३ सय शय्या, भरतपुर अस्पताल ६ सय शय्या र अन्य निजी स्वास्थ्य संस्थामा गरी चितवनमा ३ हजार १ सय ५४ शय्या संचालनमा छन्  ।  चितवनमा मात्रै १३ वटा नर्सिङ कलेज रहेका छन् । 

(हाम्रो डक्टर म्यागजिनबाट)

  
 

Last modified on 2018-06-28 20:43:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts