डा. केसी कर्णालीमा गएर अनसन बस्ने



Download our app to get more features

काठमाडौं, १४ असार । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको लागि भन्दै संघर्षरत प्राध्यापक डा.गोविन्द केसीले १५ औं अनसन बस्ने घोषणा गरेका छन् ।

विपन्न नागरिकले सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि डा.केसीले आफ्नो १५ औं सत्याग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भोलीदेखि सुरु गर्ने घोषणा गरेका हुन् ।

निःशुल्क पीजी पछिको सेवा अवधि समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुलाई विज्ञप्ति मार्फत केसीले माग राखेका छन् ।

सरकारले बारम्बर सहमति र सम्झौता गरेर काठमाडौं बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन पक्षमा झारा टार्नेमात्र काम भएको, प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको, पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने काम हुन नसकेको भन्दै कर्णालीमा अनसन बस्ने केसीको विज्ञप्तिमा उल्लेख छ ।

मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेको केसीको निश्कर्ष छ । तर, अहिले सो अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना प्राप्त भएको भन्दै केसीले त्यस्तो कदम स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts