डा. केसीको अनशनलाई लिएर रिपोटर्स क्लबमा चर्को बहस, गगन थापाले १४ करोड खाएको दुर्गा प्रसाईको आरोप



Download our app to get more features

काठमाण्डौ । प्रहरी हिरासतमै १५ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको माग र चिकित्सा शिक्षा विधेयकलाई लिएर सार्वजानिक बहस सुरु भएको छ । 

डा. केसीले अनशन सुरु गरेको भोलिपल्ट आइतवार राजधानीको रिपोटर्स क्लवमा केसी पक्षधर र निजी मेडिकल कलेज पक्षधरहरुले आआफ्ना धारणा राखे । कार्यक्रममा डा. गोविन्द केसी निकट अधिवक्ता ओमप्रकाश अर्यालले डा. केसीको माग विपरित र माथेमा आयोगको प्रतिवेदन अनुरुप सरकारले विधेयक संसोधन गरेको भन्दै आपत्ति प्रकट गरे । उनले केसीले उठाएका मेडिकल कलेजलाई सम्बन्धन दिने शर्तहरुमाथि चलखेल भएको आरोप लगाए । उनले आउँदो दशवर्ष राजधानीमा मेडिकल कलेज खोल्न नदिने बुँदा बिना छलफल हटाइएको बताए । त्यस्तै, सरकारी प्रतिष्ठानहरुमा ७५ प्रतिशत छात्रवृत्ति दिने, एउटा विश्वविद्यालयले ५ वटाभन्दा बढि कलेजलाई सम्बन्धन नदिने जस्ता माथेमा आयोगमा भएका बुँदा हटाएर विधेयकलाई माफियाहरुको अनुकुल बनाइएको दावी गरे । 

केपी ओली सरकारले मेडिकल क्षेत्रका विषयमात्र नभइ नागरिकको अभिव्यक्ति स्वतन्त्रता पनि कुण्ठित गरेको बताए । उनले भने शान्तिपूर्वक विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई सीमित गराएर यो सरकारले निरंकुशता र अधिनायकवादको सुरुवात गरेको छ । 
दुवैपक्ष लचक हुनुपर्छ नेपाल चिकित्सक संघ

कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा ढुण्डीराज पौडेलले मेडिकल कलेजले लिने शुल्क, आशयपत्र पाइसकेका, पूर्वाधार पुगेका र ठूलो लगानी भइसकेका मेडिकल कलेजको हकमा छलफलबाट निर्णय गर्नुपर्ने बताए । उनले माथेमा आयोगको प्रतिवेदनमा रहेका अव्यवहारिक पक्षलाई सर्वपक्षीय छलफलबाट संसोधन गरेर सबैलाई स्वीकार्य बनाउनुपर्ने बताए । 
उनले भने,‘माथेमा आयोग प्रतिवेदनका आधारमा सरकारले यस अघि गरेका सहमति र निर्माा गरेको ऐनलाई कार्यान्वयन गर्नुपर्छ, डा. गोविन्द केसीले उठाएका सबै मागहरु जायज छन् भन्न सकिँदैन, केही मागहरुको बारेमा गहन अध्ययन हुन बाँकी छ, सरकारले बहुमतको दम्भ देखाउनुहुँदैन।’
डा. केसीले नेपाल चिकित्सक संघसँग छलफल गरेर अनशन नबसेको भन्दै उनले त्यसमा संघले कस्तो भूमिका खेल्ने छिट्टै निर्णय गरिने बताए । 

कार्यक्रममा निजी मेडिकल तथा डेन्टल कलेज एशोसियसनका अध्यक्ष सुरेश कनौडियाले निजी क्षेत्रलाई निषेध गर्ने सरकारको रणनीति हो भने स्पष्टसँग भन्नुपर्ने बताए । उनले भने,‘राज्यले कि निजि मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्यो, होईन भने निर्वाध रुपमा बाँच्ने आधार दिनुपर्छ, गोविन्द केसीको सबै मागहरु जायज छैनन् भनेर त म भन्दिन्, तर केही मागहरुको बारेमा हाम्रो विमति छ, तत्काल सरकारले यो समस्या समाधान गर्नुपर्छ ।’

९ महिनाको गर्भवतिलाई बच्चा नजन्मा भन्न मिल्छ ? – दुर्गा प्रसाईं 

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. केसीको नाममा आफु बलिको बोको बनेको गुनासो गरे । सरकारको आशय पत्र लिएर करोडौं ऋणमा संरचना बनाएपछि मेडिकल कलेज नचला भन्नु अन्याय भएको उनको दावी छ । 

डा. केसीप्रति क्रुद्ध प्रसाईंले भने, ‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाईदा लिँदैछन्, उनलाई अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माईतीघरमा कागजका टोपी लगाएर आन्दालेन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् ?’

गगन थापाले १४ करोड घुस लिएको आरोप 

प्रसाईंले गगन थापा भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप समेत लगाए । प्रसाईले गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भिर आरोप लगाएका छन् ।

उनले भने,‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफीया भनेर बोलेकोले नै पुष्टि हुन्छ, तर हेक्का रहोस गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ।’
तत्कालिन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाईमात्रै थाहा हुन्छ, तर हामीलाई सुचना छ।’

Last modified on 2018-07-03 07:00:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts