सुनसरीको हरिनगरामा सिटामोल र जीवनजल समेत भएन



Download our app to get more features

विराटनगर, १९ असार । सुनसरीको ग्रामिण क्षेत्रका स्वास्थ्य केन्द्रहरुमा औषधिको अभाब रहेको पाइएको छ ।


स्वास्थ्य चौकीहरुमा सरकारले निःशुल्क वितरण गर्नुपर्ने अत्यावश्यक औषधिको समेत अभाब हुँदा सेवाग्राही सर्वसाधारणहरु मर्कामा परेका छन् । हरिनगरा गाउँपालिको घुस्की स्वास्थ्यचौकीमा आइरन चक्की र पिल्ससमेत छैन । स्वास्थ्य चौकीमा जीवनजल र जुकाको औषधीसमेत नरहेको स्थानीयले बताएका छन् । केही दिन अघि मात्र ज्वरोको उपचारको लागि घुस्की स्वास्थ्य चौकीमा आएकी एक बृद्धले सिटामोलसमेत नपाएको गुनासो गरिन् । 
गाउँपालिकाले बजेट नदिँदा स्वास्थ्य चौकीहरुमा औषधिको अभाब भएको हो । हरिनगरा गाउँपालिका अन्तर्गतको घुस्की र रामनगर भुटाहा स्वास्थ्यचौकीमा औषधि छैन । तीन महिनादेखि औषधि अभाव हुँदा सर्वसाधारण सिटामोलसमेत नपाएर फर्किने गरेका छन् । महिलाले नियमित प्रयोग गर्ने सँगिनी सुईसमेत नपाएको ४ महिना पुगिसकेको छ । स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष ३ महिनामा २ पटक मात्र संगिनी सुई पठाएको स्वास्थ्य चौकीकी ईन्चार्ज रानी खातुनले बताइन् । स्वास्थ्य संस्थामा पिल्स २ महिनादेखि अभाव देखिएको छ भने ४ महिनादेखि संगिनी सुईको अभाव छ । २ महिनादेखि जुकाको औषधि समेत बिरामीले पाउन सकेका छैनन् । 

गाउँपालिकासँग औषधि र बजेट माग गर्दा पनि लामो समयदेखि नदिएको स्वास्थ्य चौकीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले भने सरकारले पठाएको रकम अपुग भएको कारण औषधि अभाव भएको बताए  । पछिल्लो समय संघीय सरकारले औषधि खरिद तथा बिक्रीको अधिकार स्थानीय तहलाई दिएको छ । गाउँपालिकाकाले चालु आर्थिक वर्षमा १५ लाखको औषधि खरिद गरेर वितरण गरेको जनाएको छ ।गाउँपालिकाले केही समय अगाडि खरिद गरेको ६ लाख रुपैयाँको औषधि गाउँपालिकाको स्टोरमा थन्किएर बसेको छ । करिब ४५ हजार जनसंख्या रहेको हरिनगरमा १०÷१५ लाखको औषधिले नपुग्ने अध्यक्ष अन्सारीले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts