एचआईभीविरुद्धको खोप परीक्षण  ‘प्रभावकारी’​​​​​​​



Download our app to get more features

बीबीसी / स्वास्थ्य अनुसन्धानकर्ताहरूले भनेका छन्, एचआईभी संक्रमणबाट जोगाउने खोपको लामो समययताको पर्खाइलाई एउटा नयाँ परीक्षणले साकार बनाउने बलियो सम्भावना देखिएको छ।

उनीहरूका अनुसार नयाँ खोपले स्वस्थ वयस्कमा प्रतिरोधी क्षमता देखाएको र सुरक्षित परिणाम दिएको छ। हार्वर्ड मेडिकल स्कूलको टोलीले गरेको उक्त अध्ययनका क्रममा सो खोपको परीक्षण पूर्वी अफ्रिका, दक्षिण अफ्रिका, थाइल्याण्ड र संयुक्त राज्य अमेरिकाका लगभग चार सय स्वंयसेवकमा गरिएको थियो। वैज्ञानिकहरूले उक्त उपलब्धिलाई महत्त्वपूर्ण कोसेढुङ्गा भन्दै सावधानीका लागि पनि आग्रह गरेका छन्।

दुई हजार भन्दा बढी महिलामा परीक्षण
दुई हजारभन्दा बढी महिलामाथि दक्षिण अफ्रिकामा यो खोपको थप परीक्षण भइरहेको छ। विभिन्न प्रकृतिका भाइरससँग जुध्न सक्ने भनिएको खोप ३ सय ९३ जना मानिसमा परीक्षण गरिदाँ त्यो एचआईभी प्रतिरोधी रहेको पाइएको द लान्सेटमा छापिएको एउटा अध्ययनले देखाएको छ। त्यसले एचआईभीसँग मिल्दोजुल्दो देखिने भाइरसको संक्रमणबाट बाँदरहरूलाई पनि जोगाएको थियो।

विश्वभर लगभग ३ करोड ७० लाख मानिसमा एचआईभी वा एड्स रोगको संक्रमण छ र बर्सेनि लगभग १८ लाख नयाँ संक्रमितहरू थपिने गरेको अध्ययनहरूले देखाएका छन्।
एचआईभीको उपचारमा विभिन्न प्रगति भएपनि पूर्ण रुपमा त्यसको निदान गर्ने औषधि र उक्त भाइरस प्रतिरोधी खोपको विकासमा हालसम्म ठोस उपलब्धि हासिल भएको छैन्।

प्रेप नाम दिइएको एउटा औषधिले एचआईभीको संक्रमण रोक्न सक्ने ठानिएको छ। तर, खोप भन्दा फरक, एचआईभी संक्रमण हुन नदिन त्यसलाई नियमित वा दैनिक सेवन गर्नुपर्नेछ।

यसअघि विगतमा गरिएका एचआईभीविरुद्धका खोपको विकास गर्ने प्रयास विशेष प्रकृति र स्थानविशेषमा पाइने भाइरससँग जुध्नमै सीमित रहेका थिए। तर अहिले परीक्षण गरिएको खोप विभिन्न खालका एचआईभी भाइरससँग जुध्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। अहिलेको अपेक्षा विश्वभरि पाइने असीमित संख्या र प्रकृतिका एचआईभी भाइरसहरूविरुद्ध यो नयाँ खोप प्रभावकारी होओस् भन्ने रहेको छ।

परीक्षणमा सहभागी मानिसहरूलाई ४८ हप्ताको अवधिमा चारवटा खोप दिइएको थियो। त्यसबाट सबै सुरक्षित भएको र उनीहरूमा एचआईभी प्रतिरोधी क्षमताको विकास भएको पाइएको थियो।

Last modified on 2018-07-09 06:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts