क्यान्सर भनेपछि अस्पतालबाटै भागे बिरामीका पति



Download our app to get more features

चितवन, १२ जेठ । कम्दी गाविस–९, बाँकेकी माया परियारलाई यति बेला ‘छन गेडी सबै मेरी छैन गेडी सबै टेडी’ भनेजस्तै भएको छ । 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल वार्डको ११ नम्बर बेडमा रक्तक्यान्सरको उपचारका लागि भर्ना भएकी २५ वर्षीया परियार यति बेला खर्चको अभावमा तड्पिइरहेकी छन् । 

२०७२ साल चैत ३० गते नेपालगञ्ज मेडिकल कलेजले रिफर गरेपछि भरतपुरको क्यान्सर अस्पतालमा आइपुगेको परियारको आमा र बुवाले ऋण काढेर पठाएको ६० हजार रुपियाँ सकियो । रोग सञ्चो हुने कहिले हो, अझै कति समय अस्पताल बस्नुपर्ने हो, त्यसको टुङ्गो हुने तर उहाँलाई उपचारको भन्दा आर्थिक अभावका कारण चिन्ता छ । 

उनले भने, ‘मलाई रक्त क्यान्सर भएको भनेर नेपालगञ्ज मेडिकल कलेजले भनेपछि मेरा श्रीमान सुन्दर परियार अस्पतालबाटै भागे ।’ आफ्नो परिवारको नाममा जमिन नभएका उनका बाबुआमाले ऋण खोजेर सानिमाको छोरा भाइसँग यहाँ पठाएका थिए । 

उनले बेडबाट भने, ‘त्यो भाइ केही दिन बसेर फर्कियो, अहिले आफ्नै भाइले कुर्ने काम गरेको छ ।’ गाविसको सिफारिसले उपचारमा पाउने सहुलियत त छ तर औषधि महँगो भएकाले केही औषधि किन्नुपर्ने, रगत दिइरहनुपर्ने, रगत किन्न नपर्ने भने पनि रगतको विभिन्न परीक्षण गर्दा लाग्ने खर्च जुटाउन पनि उनलाई हम्मे परेको छ । 

पहिला पनि मायाका श्रीमान भारततिर मजदुरी गर्ने गरेको र अहिले पनि गाउँमा नभएपछि भारततिर नै छिरेको उनको अनुमान छ । नाकबाट पनि  अत्याधिक रक्तस्राव हुन थालेको र सामान्य मेडिकलमा गएर उपचार गराउँदा सञ्चो नभएपछि नेपालगञ्ज आएको र त्यहाँ रोग पत्ता लागेको हो उनको । उक्त वार्डमा काम गर्ने स्टाफ नर्स जेसिका खड्का अस्पतालले दिनसक्ने छुट त क्यान्सर सेवा समाजमार्फत आएको बताउँछन् । आर्थिक रुपमा अत्यन्त विपन्न भएकाले केही औषधि किन्नैपर्ने हुन्छ, त्यस्तोमा समस्या देखिएको छ । 

उनका कुरुवाले आर्थिक अभावकै कारण खाना नखाएको थाहा पाएपछि स्टाफहरु मिलेर केही रकम सहयोग गरेको जेसिकाले बताइन् । उनका अनुसार बिरामीले उपचार पाएपछि ढुक्क हुनुभन्दा आर्थिक अभावले छटपटाएको देख्दा जोकोहीलाई समेत पीडा हुने गरेको छ ।

अस्पताल शय्याबाट बिरामी परियारले भनिन्, ‘यो रोगलाई जित्न सकें भने मेरो आठ वर्षको छोरो हेमन्तले अभिभावक पाउँथ्यो । आज उसको बाबु मलाई रोग लागेको थाहा पाउनेबित्तिकै भागेको छ । कोही सहयोगी मनहरु भए मलाई बचाइदिनुस् ।’ अस्पतालका कार्यकारी निर्देशक डाक्टर चिनबहादुर पुन क्यान्सर सेवा समाजले सिफारिस गरेको र अस्पतालले गर्नसक्ने छुट आफूले गर्दै आएको बताए ।

औषधि ज्यादै महँगो छ, त्यसका लागि अहिले राज्यले मिर्गौलाको डायलासिस निःशुल्क गराउने निर्णय ग¥यो, त्यसरी नै रक्त क्यान्सरको उपचार पनि निःशुल्क गर्ने निर्णय गरिदिए सजिलो हुने बताउँछन निर्देशक पुन । उनका अनुसार समयमा उपचार गराउने हो भने रक्त क्यान्सर प्राय सञ्चो हुने गर्छ ।

क्यान्सर सेवा समाजका सदस्यसचिव भोला शिवाकोटीले माया परियारको उपचारमा संस्थाले सक्ने छुट गराएको र आवश्यक परे थप स्रोत खोजी गर्न सहयोग गर्ने आवश्वासन दिए । 

गोरखापत्र दैनिकबाट
 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts