स्वास्थ्यमा क्रान्ति



Download our app to get more features

खबरदार !
सपनाको रङ्गीन
घुम्टो ओढेर
अराजक यो सहरमा
मेडिकल पेसाको अस्मिता 
हरण गर्नेहरू खबरदार ।
खालमा सुताएर बिरामी
जोक्कर सत्ताको सरण
पर्नेहरु खबरदार ।
हजारौ गोविन्द केसीहरु
जुर्मुराउदैछन्
संंसदमा बसेर र्याल चुहाउने
व्यापारी सांसदहरु खबरदार ।।

क्षय रोगले तड्पिन्छन् बाबा,
सुत्केरी व्यथामा थलिन्छिन् आमा,
ज्वरो आउँदा 
सिटामोल नपाएर
कल्कलाउँदो गुलाफ ओइलिन्छ
घाटहरुमा 
कहा छौं सरकार ??
कतै परेवाको भुटुवा खादै
शान्तिको गीत त गाइरहेका छइनौ ?

सरकार किन 
जीउभरि गिद्धले झैं ठुगिरहन्छन्
बिरामीलाई यी मेडिकल माफियाहरु।
किन सरकार 
तिमी बिछ्याइरहन्छौ
तिनै माफिया हिड्ने हरेक पाइलामा
आफ्नै मुलायम हत्केलाहरु ?

साच्चै सरकार
कतिन्जेल बध गर्छौ 
डाक्टरी पढ्ने भ्रुण सपनाहरु
आफ्नै बधशालामा।
साच्चै सरकार
कतिन्जेल नाच्छौ ??
तर्साउने मुर्कुटाको माला लगाएर
बिरामीको छातीमा।

श्राप त लाग्छ लाग्छ 
सेतो एप्रोनको गोजीमा
कालो धन थुपार्नेलाई 
श्राप त लाग्छ लाग्छ 
इस्टेथेस्कोपको पासो देखाई
बिरामीको घाटी अठ्याउनेलाई ।।
श्राप त लाग्छ लाग्छ 
जाजरकोटमा झाडापखला फैइलिदा
महलमा ह्वस्की बगाउनेलाई ।।
श्राप त लाग्छ लाग्छ
बिरामी देश छाडेर
पैसामा विदेशीने डाक्टरहरुलाई ।।


युद्धमा रगत बगाएर होइन
म एक थोपा रगत,
रोगीलाई जीवन दान गरेर
मृत्युसँग जुधेकालाई
अमृत रस पिलाउदै
दुःखको घाउ सिलाउदै 
भोकको जुलुसमा
आमरण अनशनको पेस्की थमाउदै 
आकाशबाट खसालिने औषधिका मिसाइलहरु सँगै
म गाउँ गाउँ स्वस्थ बनाउदै हिड्छु ।
म टोल टोल स्वस्थ बनाउदै हिड्छु ।।

खबरदार !
चोरलाई चौतारी र
साधुलाई सुली चढाउने
मतियारहरु खबरदार ।
समाजवादको चोली र
माक्र्सवादको फरिया लगाएर
सिंहदरबारमा आइटम डान्स मच्चाउनेहरु

खबरदार ! 

ए ...माफियाको आहालमा
चुर्लुम्म डुबेको सरकार
पुरानो चश्मा बदलेर त हेर ।
हजारौं गोविन्द केसीहरु
सडकमा आइसके
सगरमाथाले विगुल फुकिसक्यो।
ए...धुस्खोरि चम्चेहरु
जाउ जाउ लुक
आफ्ना दुलाहरुमा
घामले पाइला टेकिसक्यो।।
   
(घिमिरे, जुनियर इन्टर्न बिएएमएस, चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत छन् )


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts