तमाखुको कुलत छाड्दै कर्णालीका महिला



Download our app to get more features

बीबीसी I कर्णाली क्षेत्रका दुर्गम जिल्लामा पाका महिलामा धूमपानको लत रहेको देखिए पनि नयाँ पुस्ताका महिला त्यसप्रति कम आकर्षित रहेको जानकारहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले नेपालमा १५ वर्ष र त्यसभन्दा माथि उमेर भएका ३७.१ प्रतिशत पुरुष र ११.१ प्रतिशत महिलाले धूमपान गर्ने देखाएको छ।

कर्णालीमा धूमपान गर्नेहरूबारे यकिन आँकडा नरहे पनि त्यहाँ कार्यरत विभिन्न सङ्घसंस्थाका व्यक्तिहरूले प्रायः पाका महिलामा तमाखु सेवन गर्ने आम प्रवृत्ति रहेको बताउँछन्। नेपालमा धूमपानका कारण ज्यान गुमाउनेमा महिलाको सङ्ख्या उल्लेख्य रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।

धुमपानको लत भएका पाका महिला मध्ये आइतु कठायत पनि एक हुन् । ‘हातै हात साथीसँग मिलेर तमाखु खान सिकेँ, तमाखु खाएपछि मेरो मन शान्त हुन्छ,’ उनी भन्छिन्। भौगोलिक रूपमा विकट कर्णाली क्षेत्रमा धेरै प्रौढ महिलाले धूमपान गर्ने बताइए पनि यकिन तथ्याङ्क नरहेको स्थानीय अधिकारीहरू बताउँछन्।

कर्णालीमा सक्रिय रहेको एउटा गैरसरकारी संस्था किर्डार्कका कार्यकारी निर्देशक माधव न्यौपाने भन्छन्, ‘पाका उमेरका महिलाले आम रूपमा धूमपान गर्छन्, काम गर्दागर्दै थकाइ मार्ने समयमा तमाखु खाने चलन जस्तै छ।’ तर, नयाँ पुस्ताका महिलामा तमाखू खाने प्रवृत्ति कम हुँदै गएको न्यौपाने उल्लेख गरे । जुम्ला चन्दननाथकी एक जना गृहणी सुस्मिता खत्री भन्छिन्, ‘हामी अलिकति पढेलेखेको भएर तमाखु खानु हुँदैन भन्ने थाहा छ। त्यही भएर त्यसतर्फ खासै रुचि छैन।’ 

यस्ता असर देखिन थालेका छन्
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका जन स्वास्थ्य अधिकृत अंगदबहादुर शाही अस्पताल आउने महिलाहरूमा धूमपानका नकारात्मक असर देखिएको बताउँछन्। उनी भन्छन्, ‘यहाँ क्यान्सर लागेको भन्दै सहयोगका लागि सिफारिस लिन मानिसहरू हरेक दुई तीन दिनमा एक जना आउन थालेका छन्, सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलामा श्वासप्रश्वासका समस्या देखिएका छन् गर्भवती महिलाले धूमपान गरेकै कारण कम तौल भएका बच्चाहरू जन्मिएका छन्।ू
गर्भवती महिला, १८ वर्ष मुनिका बालबालिका र खुद्रा पसलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसकेको अधिकारीहरूले बताएका छन्।

त्यसका लागि जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको अधिकारीहरू बताउँछन् । तर, धूमपान नियन्त्रणका लागि ती निकायहरूको सक्रियता खासै नरहेको बताइन्छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts