रक्तदानले यसरी गर्छ जीवन दान



Download our app to get more features

रमिता खतिवडा
डाइलाइसिस नर्स, राष्ट्रिय मिर्गाैला उपचार केन्द्र

सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसले स्वइच्छाले आफ्नो रगत दान गर्नु हो । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबाइटिकसँगै कार्बनडाइअक्साइड, युरियाजस्ता बिकार ओसारपसार गर्छ । रगतको रातो रक्तकोणले अक्सिजन कार्बनडाइअक्साइड यताउता गर्न, श्वेत रक्तकोणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भागमा प्लाज्मा (९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व) रहेको हुन्छ । रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थहरू रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स हुन्छ । 

हामीले सुन्दै आएका छौं, ‘रक्तदान जीवनदान’ । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले नयाँ जीवन पाउँछ । रक्तदानले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । साधारणतया एउटा व्यक्तिको शरीरमा ६ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्छ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४ सय ७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई कुनै हानी गर्दैन । किनभने एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको १ सय २० दिन भित्र सो रगत स्वत नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगत उत्पादन हुनेगर्छ । त्यसैले स्वस्थ ब्यक्तिले हरेक ३÷३ महिनामा रक्तदान गर्न सक्छ ।

जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरीट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । सो प्रोटिन रगतमार्फत बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ । एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुनःनिर्माण भैसक्छ । र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।

यस्ता बिरामीका लागि रगत धेरै चाहिन्छ
कुनै पनि बेला जो कोहिलाई रगत चाहिन सक्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान हो । यसकारण रक्तदानको ठूलो महत्व छ । नेपालमा बर्षेनी करिब ३ लाख युनिट रगत आवश्यक पर्छ तर जहिले पनि अभाबको समाचार आइरहेका हुन्छन् । बिशेषगरी अधिक रक्तश्रावका बिरामी, प्रसूति, मुटु, मष्तिष्कको शल्यक्रिया, दुर्घटनामा परेका बिरामीहरूलाई रगत अनिवार्य हुन्छ भने अन्य रोगका लागि पनि तारन्तार रगत चाहिन्छ । जटिल प्रकृतिका शल्यक्रिया दिनानुदिन बढिरहेको हाम्रो नेपालमा रगतको अभाब हुँदा शल्यक्रिया नै समयमा हुन नसक्ने स्थिति हुन्छ । सडक दुर्घटना, बाढी, पहिरो, भुकम्प जस्ता घटनाहरूका साथै अबिछिन्न गर्भधारण, गर्भपतन पहिलाको तुलनामा बढेकाले रगतको माग अत्याधिक छ ।

मानव स्वास्थ्यका लागि रगतलाई जति महत्वका साथ हेरिएको छ सोही अनुसार नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । केही तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा रगतको माग अनुसार आपूर्ति हुन नसकेको देखिन्छ । रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभए पनि दुरदराज र ग्रामीण क्षेत्रमा रगत अभावमा नै मुत्यु हुने बिरामीको संख्या धेरै छ । रक्तदान सम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैन्न । कतिपयले भने कयौं पटक रक्तदान गरेर सामाजिक रूपमा उच्च छबी बनाएका पनि छन् ।
 

विकल्परहित रक्तदान
आधुनिक चिकित्सा विज्ञानले विश्वमा धेरै प्रगति हासिल गरेपनि कृत्रिम तरिकाले रगत उत्पादन गर्ने प्रबिधि फेला पारेको छैन । त्यसकारण कसैलाई रगत चाहिएको बेला अर्को व्यक्तिले रक्तदान गर्नु एकमात्र बिकल्प छ । मानब शरिरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले त्यसै नष्ट भएरखेर जाने रगत नियमित रूपमा दान गर्दा फाइदाजनक हुन्छ ।अहिले बिभिन्न सामाजिक संघसंस्थाहरूले बृहत रक्तदान कार्यक्रम तथा जनचेतनामुलक अभियानहरू सन्चान गरी रगत संकलन कार्यलाइ प्रभाबकारी बनाउन सकारात्मक प्रयास पनि गरिरहेको देखिन्छ । 

१८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलामा महिनावारी, गर्भवती वा ब्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने, चक्कर लाग्ने बेहोस हुने समस्या भएमा रगतदान गर्नु हुँदैन । यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान गर्नु उचित हँुदैन ।

‘रक्तदान गरी पुण्य कमाऔ’
 

Last modified on 2018-07-15 16:32:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts