मुलुकी ऐन बहस

चिकित्सकले लापरबाही गरेको प्रमाणित कसले गर्ने ? 


Download our app to get more features
Birat Hospital

अहिले बजारमा खुब चर्चामा छ मुलुकी ऐन प्रतिस्थापन विधेयक ! ऐनमा चिकित्सकले कसैको उपचार गर्दा पर्याप्त होशियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने उल्लेख छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरीवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । सरसर्ती हेर्दा त ठिकै छ ! लापरबाही वा हेलचेक्र्याईं गर्नेलाई सजाय ठिकै छ ! तर यसमा कुरा यति सतही छैन ! लापरबाही वा हेलचेक्राई भनेको के हो ? कुन अवस्थामा लापरबाही हुन्छ भनेर कसले व्याख्या गर्ने ? अनि लापरबाही, भवितव्य, र जटिलता भनेको एकै हुन् कि फरक, त्यो पनि सबैले बुझ्न जरुरि छ ।

चिकित्सकीय अभ्यासमा डाक्टरले बिरामीलाई अनावश्यक कुनै कुरा गरेर वा गर्नुपर्ने आवश्यक कुरा नगरेर बिरामीलाई भौतिक वा मानसिक क्षति भएको छ भने त्यसलाई लापरबाही भनिन्छ । लापरबाहीलाई उपचार पद्दतिमा ज्ञान भएको विज्ञको समुहले प्रमाणित गरेमा लापरवाहीमा कारबाही गर्न मिल्छ र गर्नै पर्छ पनि । तर, यो प्रावधानको समस्या ऐनमा कहाँ छ भन्दा यो ऐनले लापरबाही प्रमाणित गर्ने संयन्त्रको बारेमा कहीं कतै उल्लेख गरेको छैन ! नेपालको विद्यमान संयन्त्रमा क्षतिपूर्ति समितिमा प्रमुख जिल्ला अधिकारी र सरकारी स्वास्थ्यकर्मी रहने व्यवस्था छ । प्रजिअ स्वास्थ्यका विज्ञ कतै होइनन् भने सरकारी स्वास्थ्यकर्मी पनि बिरामीको अनुसन्धान गर्नेभन्दा अर्कै विधाको अथवा समुदाय चिकित्साको हुन सक्छ, जसलाई उपचार पद्दतिको अलिकति पनि ज्ञान हुँदैन । यसको सोझो अर्थ भनेको डाक्टरको उपचारको छानवीन गर्ने जिम्मा उपचारको क ख नै थाहा नभएको मान्छेको हातमा पर्नु हो । 

चिकित्सा अभ्याँसमा भवितब्य भनेको के हो त ? भवितव्य भनेको सामान्य अवस्थामा कल्पना गर्न नसकिने घटना हुन् जसले बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पार्छ । जस्तो, औषधिको रियाक्सन ! यस्तो घटना लाखमा एकजनालाइ हुन्छ, जसको बारेमा कसैले भविष्यबाणी गर्न सक्दैन । तर, यसले बिरामीको मृत्यु समेत हुनसक्छ । अर्को उदाहरण, मानौं कि टाईफाईडको ज्वरो आएर भर्ना भएको बिरामीलाई अस्पतालमा हृदयघात भयो । अब सरसर्ती हेर्दा बजारमा सामान्य ज्वरो आएको बिरामीको अस्पताल वा डाक्टरको लापरबाहीले मृत्यु भयो भन्ने हल्ला हुन्छ । घरमा रहेको आम मान्छेलाई पनि हृदयघात हुनसक्छ, र अर्कै रोगले अस्पताल भर्ना भएकोलाई पनि । यसलाई डाक्टरको लापरबाही भन्नु त्यत्तिकै जायज हुन्छ जस्तो कि घरमा हृदयघात भएमा परिवारको लापरबाही भनेजस्तो ।  कस्तासम्म घटना भएका छन् भने, बिरामीको कुरुवा अस्पतालको नजिकको रुखमा झुण्डिएर मरेको पनि अस्पतालको लापरबाही भनेर भीडले पैसा असुलेको उदाहरण छन ।

अब, चिकित्सा पद्दति नबुझ्नेले भवितव्यलाई लापरबाही भनेर कारबाही सिफारिस गर्यो भने के होला? 
अर्को बुझ्नुपर्ने कुरा हो जटिलता (Complication) ! रोगको जटिलता भनेको सम्पूर्ण सावधानी अपनाएर बिरामीको उपचार गर्दा पनि आउने स्वास्थ्य समस्याहरु हुन् । जस्तै, अपरेसन गरेको बिरामीको घाउ पाक्ने । नेपालमा मात्र हैन, अमेरिकामा पनि सबै सावधानी अपनाएर अपरेसन गरे पनि करिब २ प्रतिशतको हाराहारीमा घाउ पाक्ने वा संक्रमण हुने हुन्छ । अब यहि घाउ पाक्ने प्रक्रिया चिनी र मुटु रोगी भएको बिरामीमा भयो भने संक्रमण जिउमा फैलिएर सेप्सिस भएर ज्यान जान सक्छ । अब यस्ता जटिलताहरु विभिन्न उपाय लगाएर कम गर्न त सकिन्छ, तर सय हजार मध्ये एकमा हुन्छ नै । अब यसलाई पनि बिरामी पक्ष वा चिकित्साको ज्ञान नभएको जोकोहिले लापरबाही नै भन्छन । यो नियम आएमा यस्ता नगरेका गल्तीमा पनि डाक्टर फस्ने हुन्छ! 

यो बाहेकका अरु कुरा पनि छन । बिरामी अलिअलि हिड्न बोल्न सकुन्जेल आयुर्वेदिक वा यस्तै औषधि खुवाएर राख्ने र, अन्तिम समय भएपछी अस्पतालको इमर्जेन्सीमा ल्याएर मृत्यु भएपछी पनि डाक्टरको लापरबाही भयो भनेर उफ्रिने महानुभावहरु धेरै भेटिन्छन नेपालमा । एक अस्पतालमा लास ल्याएर पनि इमर्जेन्सीमा डाक्टर आउन ढिलो भएको भनेर झगडा गरेर पैसा असुलेको पनि देखियो । बिरामीको जीवन बचाउन मृगौलाको अपरेसन गर्दा (छानवीन समितिले प्रमाणित गरेको) को प्रसङ्गमा मृगौलाको तस्करी गर्यो भनेर संसदमा उफ्रिएका पटमुर्ख सांसदहरुको भिडियो अझै पनि यहि आँखाले हेर्न सकिन्छ । 

अझै महत्वपुर्ण कुरा, सबै बिरामीको उपचार सम्भव छैन । नेपालमा मात्र हैन अमेरिकामा पनि अस्पताल नै सबभन्दा धेरै मान्छे मर्ने ठाउँ हो । राम्रो अस्पतालमा मानिसलाई अजम्बरी बनाउन मिल्ने भए अमेरिकामा मान्छे नमर्नु पर्ने ! डाक्टर, बिरामी र आफन्त सबैले चाहेर पनि बिरामीको जीवन बचाउन सम्भव हुँदैन । त्यसैले ज्ञान नभएको विश्लेषक र भीडको नजरमा सबै मृत्यु लापरबाही हुन जान्छन् । 

त्यसो भए लापरबाहीमा कारबाही नहुने ? 
लापरबाहीमा कारबाही हुनै पर्छ । कानुनभन्दा माथि कोहि हँुदैन । लापरबाही गरेर बिरामी अंगभंग भएमा वा ज्यान गएमा कारबाही हुनैपर्छ । तर लापरबाही प्रमाणित गर्ने संयन्त्र हुनुपर्छ । जेल किन ५ वर्षमात्र ? लापरवाहीको किसिम हेरेर २० वर्ष गरौँ न ! तर पहिला कानुनी संयन्त्र बनाऊ, छानबिन गर्ने विज्ञ समिति बनाऊ, लापरबाहीको गुरुत्व अनुसार कारबाही सिफारिस गरेर कारबाही गराऊ । प्रजिअ वा स्वास्थ्य जानकार नभएको व्यक्तिले डाक्टरको लापरबाहीको निर्क्यौल गर्छ भने त्यो प्रणालीमा बसेर स्वास्थ्य सेवा दिन सम्भव छैन । 

र यसको अर्को पाटो । हरेक मृत्युलाई लापरबाही भनेर अस्पताल तोडफोड गर्ने, डाक्टरलाई हतोत्साही गर्ने, अस्पताल तोडफोड गर्ने र पैसा असुल्ने अराजक झुण्डलाई कारबाही हुनुपर्छ कि पर्दैन ! यसमा त कानुन मौन छ जब कि छिमेकी भारतमा ड्युटी मा रहेका चिकित्सकलाई हातपात गरेमा बिना धरौटी जेलको व्यवस्था छ ।

डाक्टर कस्ने कानुन ल्याएर उपचार गुणस्तरीय हुन्छ त ? 
यो जस्तो हचुवा विश्वास केहि हुन सक्दैन । चिकित्सकले अहिलेको प्रणालीमा बिरामीलाई हुनसक्ने रोगमध्ये सबैभन्दा ज्यादा सम्भावना भएको रोगको हिसाबमा उपचार सुरु गर्छन जसलाई provisional diagnosis भनिन्छ । टेस्ट रिपोर्ट आएपछि फाइनल डाइग्नोसिस हुन्छ । टेस्ट गर्न पैसा नभएका र सुविधा नभएका ठाउँमा डाक्टरको अनुभवले नै बिरामी ठिक हुन्छन । अब गलत उपचार वा निदानमा ३ वर्ष जेल भनेपछि डाक्टरले दिमागबाट हैन जाँचबाट उपचार गर्न सुरु गर्नुपर्ने बाध्यता बन्छ । टाइफाइड जस्ता सामान्य रोग निदान गर्न हजारौं खर्च हुन्छ । उपचार असाध्यै महँगो ! अझ बिकराल अवस्था त तब आउँछ, जब बिरामी मरेमा जेल जानुपर्ने डरले कुनै डाक्टरले ज्यान जानसक्ने गम्भीर बिरामी हेर्न मान्दैनन, बचाउन प्रयासै गर्दैनन् ! बिरामीले डाक्टर खोज्दा खोज्दै मर्ने स्थिति बन्छ । डाक्टरले इमर्जेन्सी बाहेकका अवस्थामा कुनै बिरामी हेर्दिन भन्ने उसको नैसर्गिक अधिकार हो । आज डाक्टरलाई कानुनले च्याप्यो भनेर सामाजिक संजालमा थपडी मार्नेहरु भोलि सिरियस बिरामी भएको अवस्थामा डाक्टरले हेर्न डराएर मर्नुपर्ने स्थिति आउने निश्चित छ । 

३०–३५ वर्ष पढेर अनि कठिन काउन्सिल परीक्षा पास गरेको डाक्टरको निष्ठामा सन्देह गर्नु बिल्कुल सहि छैन । डाक्टरको कन्चटमा बन्दुकको नाल राखेर मृत्यु टाल्न सकिन्छ भन्ने सपना पागलपन भन्दा बढी केहि हुनसक्दैन !     

Last modified on 2018-08-14 17:24:56

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital