एउटा भिजिटरको आँखामा डा.केआई सिंह केसीः जसले छोरी उपहार दिए



Download our app to get more features

एकदिन मलाई फोन आयो, सूर्यजी म त काठमाडौ छाड्ने भएँ ।पाल्पा जाने भएँ । मेरो मन एकाएक खिन्न भयो । खिन्नतामा मेरो स्वार्थ पनि मिसिएको थियो । भर्खरै मात्र अप्रेशन गरेकी छोरी , आलो घाउ, उहाँसँग दैनिक सल्लाह लिन पाउने थिएँ ।अनुकूलता मिले घरमै आएर पनि छोरिलाई हेरिदिनुहुन्थ्यो । हाम्रो अत्यन्त राम्रो सम्बन्ध बनिसकेको थियो । दुःख सुखका गफ हामी खुलेर गथ्र्यौं।अझ मेरो समस्या त छाडिदिउँ उहा आफ्नै पनि यति धेरै चर्चा कमाई सकेको डाक्टर ,धेरै सम्भावना बोकेको डाक्टर । किन पाल्पा जान लागेको होला ? पाल्पाबाट कसरी भविष्य बन्ला ? काठमाडौमै बसेको भए धेरै अवसर र सम्भावना हरु हुनेथियो। सम्झाउन कोसिस पनि गरें।उहाँले निर्णय लिसक्नु भएको थियोे मान्नु भएन। उहाँ पाल्पा जाने नै हुनुभयो ।मन खिन्न पारेर कलङ्कीसम्म बिदा गर्न गएँ। यो अवधिमा हामी एउटै परिवारका सदस्य जस्तै भैसकेका थियौं।भाउजु डाक्टर अनुपा थापा । बाबु अर्नव ।तर, म थिएँ भिजिटर उहाँ हुनुहुन्थ्यो डाक्टर । उहाँले म माथि ठूलो गुन लगाउनु भएको थियो ।गुन पनि तिर्न नसकिने खालको। मृत्युको मुखमा पुगेकी छारीलाई उपहारस्वरूप दिनु भएको थियो।

उहाँ हुनुहुन्थ्यो डाक्टर केआई सिंह केसी। सन २०१२ को अन्त्यतिर मेरो छोरीको उपचारको क्रममा वीर अस्पतालमा मैले उहाँलाई चिनेको थिएँ। एउटा बिरामी कुरुवाको हिसाबमा। ब्रेन सम्बन्धी अत्यन्तै जटिल (भेनअफ ग्यालेन मालफरमेसन र भेन अफ ग्यालेन एनोरिजम) जस्तो समस्या लिएर जन्मेकी छोरीलाई  बचाउन अनेकौं कोसिस र बिकल्पहरु खोज्दाखोज्दै थाकेर छोरीको मृत्यु कुरेर बसेको अबस्था थियो त्यो । संयोग भनौं या हाम्रो भाग्य भनौ या छारिको भाग्य बलियो भनौं या डाक्टरहरुको कडा मिहिनेत । के भनौं, डाक्टर केआई सिंह केसीले डाक्टर गोपालरमण शर्मासँग सल्लाह गरी चीनबाट प्रोफेसर हरुको टिम बोलाई वीर अस्पतालमै मेरो छोरी को अप्रेसन सफल बनाइदिनुभएको थियो । ८०, ९० लाख खर्च लाग्ने अप्रेसन त्यो पनि निःशुल्क । बाच्ने सम्भावना न्युन भएकी छोरी बाँची। आजसम्म पनि त्यो हर्षको सीमा घटेको छैन । छोरी ठुली भैसकी। भनिन्छ जब मानिस सँधै सहजता मात्रै खोज्छ त्यो मानिस असफल त नहोला तर कहिल्यै सफल हुन सक्दैन । हुन पनि हो बिना जोखिमको जिन्दगी अर्थपूर्ण हुँदैन । तर, जोखिम केका लागि भन्ने चाहि पक्कै  हुन्छ। आज त्यस्तै जोखिमको सुखद परिणाम भोग्दै छन डाक्टर केआई सिंह केसी। सन् २०१४ सम्म बुटवल तथा त्यो भन्दा पश्चिम न्युरो सर्जरी को कल्पना पनि थिएन । सायद त्यो बेला डाक्टर केसीले पनि आफ्नो करिअर यहि ठाउँमा बन्छ भनेर सोचेका थिएनन् होला। तर आज त्यहि क्षेत्रले डाक्टर केसीको सुन्दर भविष्य निर्धारण र निर्माण गरिदिएको छ। आफ्नो डाक्टरी पढाइ सकेर वीर अस्पतालमा भोलेन्टियर सेवा दिँदा देखि नै नशा सम्बन्धी जटिल अप्रेसनहरु गराएर चर्चामा आएका डाक्टर  केसी त्यतिवेला आफु पनि राजधानीमै बसेर ठुलो न्युरो सर्जन बन्न चाहान्थे होला। उनले आफ्ना गुरु गोपालरमण शर्मासँग मिलेर नेपाल मेडिकल कलेजमा केहि समय काम पनि गरे तर किन हो किन उनको मन मानिरहेको थिएन ।पैसाभन्दा पनि केहि नयाँ गरौं जस्तो लागिरह्यो । राजधानी त्यसमाथि ठुलाठुला अस्पताल । बिरामीको चाप। नामदाम दुवै हुने ।भौतिक सुविधा सम्पन्न । सबैको आकर्षक ठाउँ। छोड्न त कठिन नै भो होला। 

तर,आज समयले कोल्टो फेरिसकेको छ। धेरै भएको छैन । जम्माजम्मी चार बर्ष। डाक्टर केआई सिंह केसी पुरै नेपाल भरि नै चर्चित छन्।अझ पाँच नम्बर प्रदेशको त तारा। वीर अस्पतालबाट सुरु भएको यात्रा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज चौराहा अस्पताल हुँदै क्रीमसन अस्पताल मणिग्रामसम्म  पुग्दा उहाँको पेशाले उच्चतम बिन्दु समातेको छ। बुटवल ,पाल्पा ,अर्घाखाँची ,गुल्मी , स्याङ्जा ,कपिलबस्तु, दाङ,प्युठान ,नेपालगन्ज ,धनगढी महेन्द्रनगर साथै युपी र विहारका जनताले समेत डाक्टर केसीबाट उपचार पाइरहेको छन्।

कुनै समय यस्तो थियो बुटवल आसपास र त्यो पुरै भेगका मानिस हरु न्युरो सर्जरीको उपचार नपाएर मर्नु पर्दथ्यो। पैसा हुनेहरू काठमाडौ या बिदेश जान्थे।नहुनेको मर्नुको विकल्प थिएन । आजभोलि पैसा हुने  वा  नहुने सबैले सहुलियत उपचार पाएका छन्। अझ दुर्घटनामा हुने घाइतेहरु जसको तुरुन्तै अपरेसन गर्नुपर्ने हुन्छ त्यस्ता बिरामीको पनि त्यहीं उपचार हुन्छ भन्ने सुन्दा हामी पनि एकदमै खुसी छौं। बुटवल झरेपछि डाक्टर केसीले सानाठुला गरि करिब तिनहजार आसपास सर्जरी गरिसकेको जनाएका छन्। ब्रेनको एनोरिजम, स्पाइन, ब्रेनको ट्युमर जस्ता जटिल सर्जरीहरु बुटवलमा नै सम्भव भएका छन्। आफ्नो करिअर नै दाउमा राखेर बुटवल झर्नुभएका केसी आज दिनमा ४०, ४५ जना ओपिडी बिरामी जाच्ने गर्दछन। दिनमा ३, ४ वटा अपरेसन । बिरामीको चापले गर्दा रात दिन भ्याईनभ्याई। डाक्टर केसीको सफलताले हामी भिजिटर र उनका शुभचिन्तकहरु पनि अत्यन्तै खुसी छौं। म बाहेकका अरु धेरै भिजिटर हरुपनि मेरो सम्पर्कमा हुनुहुन्छ । हामी सम्पूर्ण भिजिटरको तर्फबाट  डाक्टर केआई सिंह केसीलाई बधाई तथा अझै उच्च प्रगतिको शुभकामना । 

Last modified on 2019-03-28 07:19:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts