बिरामी नै बनिन् आफ्नै जीवन संगिनी



Download our app to get more features

केही दिन अगाडि पंक्तिकारले डा. समीरा सफी खाँ र जावेदसँग भेट्दै गर्दा उनीहरुले आफुहरुको भेट, प्रेम र जीवनचर्याका बारेमा यसरी व्याख्या गरेः 

समीरा जावेदसँगको चिनजान र प्रेमका बारेमा यसरी खुलिन्,
वि.सं.२०५७ सालको कुरा हो, पहिलो भेट भयो । मलाई सन्चो नभएर म कमलपोखरीमा रहेको तत्कालिन ओम हस्पिटलमा गएको थिए । त्यतिखेर डा.जावेद इमर्जेन्सिमा मेडिकल अफिसरको रुपमा कार्यरत हुनुहुन्थ्यो । म एमबीबीएस सकेर वीर अस्पतालमा इन्टर्नमा गएको थिए । बेलुकाको समयमा मलाई एकदमै असहज भएर ओममा जाँदा मलाई डा.जावेद कस्तो रिसाहा लाग्नुभएको थियो । त्यतिखेर कस्तो आफूलाई नै रिस उठेर आयो कस्तो मान्छे रै छ भनेर । त्यसपछि खासै भेटघाट भएन ।

डा. जावेद चाहिँ त्यतिबेला बंगलादेशमा पीजी अध्ययनको लागि जानु भएको थियो । त्यहिभएर खासै कुनै सम्पर्क पनि भएन । पछि डा.भुपेन्द्र बस्नेतसँग झन्डै ३–४ महिनापछि अगाडीको अध्ययनको बारेमा कुराकानी हुँदा उहाँले नै मलाई भन्नुभयो ‘जावेद मेरो साथी हो अनि उ अहिले बंगलादेशमा पीजी अध्ययन गर्दैछ । उ सँग सम्पर्क गरेर बुझ्न सकिन्छ । उ राम्रो हो उसले सहयोग गर्छ ।’  तर, मैले त तपाईंको साथी कस्तो रिसाहा हुनुहुन्छ भनेर भनेको थिए । अनि पछि उहाँले इमेल आइडी दिनुभयो र इमेलमा नै कुराकानी सुरु भयो । त्यतिखेर खासै एकअर्काप्रति हामीबीच आकर्षण थिएन । पढाई र करिअरमा बढि ध्यान दिएका थियौं । त्यहि भएर भविष्यमा हामी बिहे नै गर्छौं भन्ने नै लागेको थिएन । फेरी डा.भुपेन्द्रले मलाई यति फकाउनुभयो की डा.जावेद यस्तो उस्तो भनेर मलाई पुरै फकाउनुभयो या भनौं न हामी दुवैजनाको थर पनि एउटै भएर ब्रेन वास नै गर्नुभयोे । हामी दुवै जनाको मिलन गराउने भनेकै डा.भुपेन्द्र हुन् ।

त्यसपछि सँगै मुस्कुराइरहेका जावेद बोल्न थाले:
म बंगलादेशमा हुँदा हाम्रो इमेलमा नै कुराकानी भइराख्थ्यो । तर, इमेलमा पनि खासै एक अर्काप्रति आकर्षण भएको अनुभव नै भएको थिएन । झन्डै ४–५ महिनासम्म कुराकानी भयो इमेलमा अनि विस्तारै घर परिवारको बारेमा कुराकानी हुन्थ्यो । तर, कतै न कतै एक अर्काप्रति सफ्ट कर्नर थियो । फेरि आफ्नै थरमा पनि भएर अलिकति बढि नै मेरो झुकाव बढ्यो । पछि मेलमा पनि कुरा हँदा डा.समिराले नै मलाई पढ्ने नै हो भने यहि काठमाडौंमा नै पढ्दा हुन्छ भनेर सजेस्ट गर्नुभयो । त्यतिखेर मैले मेरो पार्टवानको परीक्षा सकेर ६ महिनामा नेपाल आउने बिदा भएको थियो । अनि हुन्छ नी त नाम निस्केपछि पढौंला नी त भन्ने भयो । त्यतिखेर डा.समिरा पाटन अस्पतालमा मेडिकल अफिसर भएर काम गर्दै हुनुहुन्थ्यो । उहाँले नै फर्म लिएर आउनुभयो र मैले फर्म भरेर परीक्षा दिएँ र पछि नाम पनि निस्कियो । अनि अब काठमाडौंमा नै पढ्ने सल्लाह अनुसार नै निर्णय गरियो । अनि मेरो सर्टिफिकेटहरु लिन फेरि बंगलादेश जानु थियो । तर, जानुभन्दा पहिले घरमा बुबासँग कुरा गरे तर उहाँले कुनै प्रतिक्रिया नै दिनुभएन र म बंगलादेश गएँ । म बंगलादेशमा हुँदा मेरो बुबा काठमाडौं आउनुभयो र डाइरेक्ट औंठी लिएर नै आएर फोन गरेर म आको छु भनेर समीराको बुबालाई भन्नुभयो । मलाई फेरि केहीपनि थाहा नै थिएन । जब म आएँ अनि मैले थाहा पाए मेरो बिहेको डेट नै फाइनल भइसकेको थियो । मलाई पाटनमा ज्वाइन गर्नुपनि थियो अर्थात एडमिसनको लागि फर्महरु बुझाउनुपर्ने थियो । अनि म गए हस्पिटलमा र मैले त्यो फर्म बुझाउने बेलामा नै झन्डै १४ दिन जति बाँकी थियो । मैले सर मेरो विहे छ भनेर बिदा माग्दा जम्मा ३ दिनको बिदा र नियुक्तिको चिठी पाएँ । 

जब म आए बंगलादेशबाट अनि थाहा हुँदा त मलाई कस्तो आफूले सोचेको कुरा अचानक पुरा भएको देख्दा त मेरो मनमा कस्तो आहाँ भन्ने भयो । एक अर्कासँगको कुराकानीबाट बानी व्यहोरा मनपर्ने भएर पनि हामीले राम्रै भयो भन्ने नै सोच्यौं । 

वि.सं.२०५८ साल जेठ १ गते तारिखको हिसाबले सन् २००१ मे १५ मा विवाह भएको हो । विवाहको समय एकदमै अचम्म लाग्दो थियो । विदा नै नहुँदा कस्तो खालको बिहे हुने होला र भयो भन्ने पनि लाग्यो । ३ दिनको बिदा थियो पहिलो दिन काठमाडौंबाट कपिलवस्तु गएर भोलिपल्ट जन्ति लिएर आएँ फेरि कपिलवस्तु गएर भोजसोजको काम सकेर काठमाडौं आएर काममा फर्कें । यस्तो भयो त्यो समयमा हनिमुन समेत जान पाइएन । 

हामी दुवैजनाको काम नै यस्तो छ की एउटै अस्पतालमा काम गर्दापनि एक अर्कासँग भेटघाट नै हुँदैन । कहिलेकाँही त कार्यव्यस्तता यति धेरै हुन्छ की बोल्न पनि भ्याइँदैन । 

जावेदको नजरमा समीराको राम्रो पक्ष
सबै कामहरु व्यवस्थित तरिकाले गर्ने
खाना एकदमै स्वादिस्ट बनाउने (बिर्यानी मलाई बढि मन पर्छ)  
अभावको बेलापनि संयमित हुने
घर परिवार र बच्चालाई राम्रोसँग सम्हाल्न सक्ने
आफूलाई एकदमै मेन्टेन गर्ने


समिराको नजरमा जावेदको राम्रो पक्ष 
मलाई थकाई लागेको बेला वा म ढिलो आउँदा मिठो खाना पकाउने
घरपरिवार र बच्चाहरुको बारेमा कुनैपनि निर्णय लिनुपर्दा म माथि विश्वास गर्नुहुन्छ 
एकदमै इमान्दार हुनुहुन्छ
जे छ त्यो छ, दुईथरी कुरामा अल्झिनु हुन्न
एकदमै धेरै समझदार हुनुहुन्छ

जावेदको नजरमा समिराको नराम्रो पक्ष
जे सुन्नु हुन्छु तरुन्तै विश्वास गरिहाल्ने
कुनैपनि काम मिलेको छैन भने रिसाइहाल्ने
धेरै नै रिसाउने गर्छ, एकदिन सम्मै बोलचालै हुन्न
आफ्नो स्वास्थ्यलाई वेवास्ता गर्ने

समीराको नजरमा जावेदको नराम्रो पक्ष
एकदमै केयरलेस (सामान जथाभावी राख्ने)
खानपानमा बेवास्ता गर्ने
जुनसुकै कुरामा पनि छिट्टै रिसाउने (रिसमाथि नियन्त्रण छैन)
एकदमै बोरिगं हुनुहुन्छ 

समीराले थपिन् :
दुवै जनाको परिवार एकदमै सर्पोटिभ हुनुहुन्छ । यहि गर्नुपर्छ यसरी नै गर्नुपर्छ भन्ने कहिले कुनै परिवारबाट दवाव भएन । बिहेभन्दा पहिले जावेदले मलाई बंगलादेशबाट सिल्क साडी र लेदरको ब्याग गिफ्ट दिनुभएको थियो जुन अहिलेपनि मसँग सुरक्षित छ ।
समिराले मलाई बिहेपछि पहिलोपटक किटक्याट चकलेट गिफ्ट गर्नुभयो जुन पाएर म एकदमै सक्ड भए र यो कुरा म कहिल्यै बिर्सिन्न ।  

दुई जनाले मात्रै समय बिताउने मौका खासै पाइएन । पहिलो पटक ललितपुरको चिडियाखानामा डेट जस्तै गइयो । त्यो समय पनि अचम्म लाग्छ अहिले सोच्दा । दुई जना मात्रै घुम्न गएको जम्मा दुई पटक हो । पहिलो पोखरा र दोस्रो बैंकक । ७–८ वर्ष भइसक्यो गिफ्ट आदानप्रदान भाको छैन । 
वैवाहिक वर्षगाँठ, जन्मदिन, भ्यालेनटाइनडे जस्तो अवसरमा कुनै खासै प्लान हुँदैन । यो गरम वा आज कतै गएर डिनर गरम भन्ने नै हुँदैन ।

सन्देश
चिकित्सा पेशा भनेको एकदमै कठिन पेशा हो । यसमा धेरै नै तनाव हुन्छ भने धेरै आनन्द पनि आउँछ । यसको लागि दुई जनाबीच समझदारी हुनु एकदमै जरुरी छ । एकअर्काको कामलाई सँधै बुझ्ने र सम्मान गर्नुपर्छ । इगो हुनुहुँदैन । काम र परिवारलाई सँधैदुई ठाउँमा नै राख्नुपर्छ । किनकी कामको तनावमा घरपरिवारमाथि रिस पोख्नाले पारिवारिक माहोल नै बिग्रिन्छ । त्यसकारण कामलाई र परिवारलाई सँधै अलग नै राख्नुपर्छ । काम र परिवारलाई सँधै समान रुपमा हेर्नुपर्छ ।

कपिलवस्तुमा जन्मिएका डा.जावेद अहमद खान पेशाले अर्थोपेडिक र स्पाइन सर्जन हुन् भने काठमाडौंमै जन्मिएकी डा.समिरा शफि खान स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । दुवैजना हाल ग्राण्डी इन्टरनेशनल हस्पिटलमा कार्यरत छन् । 

Last modified on 2018-08-26 06:07:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts