सामान्य किसानका छोरा जो बने नेपालको पहिलो 'इम्युनोलोजिष्ट' डक्टरेट चिकित्सक



Download our app to get more features

डा. धर्मागत भट्टराई नेपालका प्रथम ‘डाक्टरेट अफ मेडिसिन’ ‘डी.एम.’ ‘इम्युनोलोजी एवं पेडियाट्रिक र्युमाटोलोजी’ बिशेष-बिज्ञ (superspecialist) हुन् । एक कक्षादेखि चिकित्सक अनि उदाउँदो ‘रोग प्रतिरक्षा बिज्ञान (इम्युनोलोजी) एवं बाल-बाथजन्य रोग बिज्ञान’ बिषयमा विद्यावारिधि सम्म छात्रवृतिमा पढेका डा. भट्टराईको यहाँसम्मको यात्रा संघर्षमय छ ।  पश्चिम चितवनको मेघौलीको सानो गाउँ धर्मपुरमा सामान्य किसान परिवारमा बुबा हरि प्रसाद भट्टराई र आमा ईश्वरा भट्टराईको कान्छा छोराको रुपमा जन्मेका उनी सानैदेखि मिहीन अध्ययन गर्न रुचाउने जिज्ञासु स्वभावका थिए । 

उनका बाबाआमा किसान जीवनमा जति कठिनाई र संघर्ष भएपनि शिक्षाबाट सन्तान बन्चित नहोस् भन्ने विचारका थिए । यसर्थ उनको पढ्ने धोकोमा बाबाआमा र परिवारको सधैँ साथ र प्रेरणा रह्यो । प्रारम्भदेखि बिद्यावारिधिसम्म कहिल्यै उनले शुल्क तिरेर पढेनन् । भट्टराईको प्राथमिक शिक्षा गाउँकै प्राइमरी स्कुलमा भएपनि माध्यमिक शिक्षा भने अर्को गाउँको प्रभात मा.वि. शुक्रनगर (हाल उच्च मा.वि.) बाट पुरा गरेकाहुन् जहाँबाट उनी जिल्लामै सर्बोत्कृष्ट हुन सफल भएका थिए । काठमान्डौको नेसनल स्कुल अफ साइन्सेज लैनचौरबाट प्लस टु पढाई पछि उनले छात्रवृतिमा कलकत्ता युनिवर्सिटीबाट एमबिबिएस पूरा गरेकाहुन् । 
 
झन्डै ३० वर्ष अघि सानै छँदा अरु देशका युद्ध, देशको आन्दोलन, र बिशेषगरी बासस्थानको दुई पट्टिका राप्ती खोला र नारायणी नदीमा बर्षेनी आउने बाढीले र फैलिएका सरुवा रोग आदिले उनलाई सोचमय बनाउँथ्यो । पिडामा छट्पटाएका उद्धार-उपचार नपाएका या अकाल जीवन गुमाएका पार्थिव शरीरहरुका विभत्स र कारुणिक दृश्यले उनमा ‘म जीवन दिने व्यक्ति बन्नपाए !’ भन्ने हूटहुटी भर्यो । अकाल मृत्युबरण गर्नेको पीडाले कहीं न कहीं उनमा मानवशरीर बुझ्ने चेष्टा जाग्यो । 

देशको सुगम ठाउंमध्येको एक मानिएको चितवनको त त्यस्तो अवस्था छ भने देशका दुर्गम ठाउँहरुको हालत कस्तो होला भन्ने जिज्ञासा खेलिरहन्थ्यो उनका मनमा । उमेर बढ्दै जाँदा उनले शिक्षा र स्वास्थ्यबाटै जनजीविकाको स्तर माथि उठ्ने र त्यसको नतिजापनि छिटो आउने सोचेर यस क्षेत्रमा लाग्ने प्रण गरे ।

उनले प्लस-टु (१२) पढ्दै गर्दा नजिकको अर्को ठाउँ ११/१२ का विद्यार्थीलाई ट्युसन पढाई खर्च जुताउँथे I उच्च मावि अध्ययनकालमा थुप्रै पत्रपत्रिकामा लेख लेखेर एकातिर लेख्ने भोक मेटाउने, अर्कोतिर खर्च जुटाउने भट्टराईले एमबीबीएस छात्रवृतिमा नाम निकाले र कोलकाताको आर.जि.का मेडिकल कलेजनिम्ति छानिएर पढ्न गए । एमबीबीएसपछि केही समय ललितपुरको पाटन हस्पिटलमा काम गरे । त्यसपछि छात्रवृतिमै भारतको प्रतिष्ठित उच्च अध्ययन संस्थान ‘पोष्ट-ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ पिजिआइ चन्डीगढ़बाट बालरोग विज्ञानमा एम.डी. (बिशेषज्ञ अध्ययन) सन् २०१४ को डिसेम्बरमा पूरा गरे । बालबालिका सम्बन्धी विशेषज्ञता नै रोज्नुको कारण उनी बच्चाको गजब हार्दिक प्रस्तुति बताउँछन् । निर्दोष निष्कलंक हृदयका ती बिरामी बच्चा सन्चो भै हाँस्दा उफ्रंदा मुस्कुराउंदाको आनन्द अतुलनीय हुने उनी बताउँछन् । 

एमडीपछि उनी नेपाल फर्केर बालरोग बिज्ञका रुपमा निजी अस्पतालमा काम गरे । उच्च अध्ययनलाई निरन्तरता दिने सोचमा प्रवेश परिक्षामा उनी दक्षिण भारतको ‘ग्लोबल हेल्थ सिटी’ नामक संस्थानमा र सन् २०१८ को सेसननिम्ति क्यानाडाको एक विश्वविद्यालयमा पनि फेलोशिपको निम्ति छानिए । कहीं उच्च शिक्षा प्रवेश नभएसम्म खर्च धान्नलाई दिल्लीमै एक अस्पतालमा सिनियर रेजिडेन्टको रुपमा कामपनि गरे । तर उच्च शिक्षाको तयारी गरिरहँदा सन् २०१७ जुलाईमै दक्षिण एसियामा सिर्फ ‘पोष्ट-ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ पिजिआइ चन्डीगढ़मा अध्यापन हुने ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एण्ड र्युमाटोलोजी’ बिषयमा डक्टरेट अफ मेडिसिन (विद्यावारिधि) निम्ति छानिन सफल भै २०२० मा उपाधि प्राप्त गरे I उनी यो बिषयमा डक्टरेट गर्ने पहिलो नेपाली हुन् । 

सम्पूर्ण तथ्य बुझ्दा तीक्ष्ण बौद्धिक क्षमता भएका सानैदेखि मेधावी छात्र भट्टराई यी सबै तहमा उत्कृष्ट भै अघि बढे I हरेक सफलतामा पर्दापछाडिबाट धेरै व्यक्तिको साथको कथा हुन्छ I उनी यहाँसम्मको संघर्षमय यात्राको कुरा गर्दा भावुक भै ममतामयी बाबाआमा, माहिलो दाजु-भाउजुको अनन्य माया, साथ र पढेका संस्थानका अझ बिशेषगरी ‘प्रभात मावि’ र ‘एन.एस.एस.’का उनका शिक्षकको प्रेरक दिशानिर्देशलाई कृतज्ञतासाथ बेलाबेला सम्झिरहन्छन् । 

आजसम्मको अध्ययन यात्राको क्रममा संस्थान र देशका पढाई र अतिरिक्त विधामा राष्ट्रिय स्तरमा पुरष्कृत अवार्डसंगै भट्टराईले थुप्रै अन्तर्राष्ट्रिय प्रतिष्ठित रिसर्च अवार्ड पनि जितेका छन् । ती मध्ये ‘युरोपियन लिग अगेन्ष्ट र्ह्युमाटिज्म (EULAR) को ‘योङ्ग साइन्टिष्ट अवार्ड’, ‘युरोपियन सोसाइटी फर इम्युनो-डेफिसीयन्सीज् (ESID)’ ग्रान्ट, ‘ईएसपीआईडी योङ्ग इन्भेस्टिगेटर अवार्ड’, ‘रेग्गियो कलाब्रियो (इटाली) फेलोशिप अवार्ड’, भारतको प्रतिष्ठित ‘आई.सी.एम.आर. डीस्सर्टेशन अवार्ड’ तथा ‘सीएसआईआर  (CSIR) अन्तर्राष्ट्रिय ग्रान्ट’ केही हुन् । यी बाहेक डा. भट्टराईका थुप्रै अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलनमा रिसर्च पेपर उत्कृष्ट छानिई पुरस्कृत छन् भने ३ मेडिकल टेक्स्टबुकमा योगदान र मान्यताप्राप्त सुचिकृत इन्डेक्स्ड मेडिकल जर्नलमा ३० बढी आर्टिकल प्रकाशित छन् ।  डा. भट्टराई साहित्यमा पनि उत्तिकै कलम चलाउँछन् । उनका एक कथासंग्रह र कवितासंग्रह प्रकाशोन्मुख छन् । 

उनले विशेष विज्ञता (Superspecialization) हासिल गरेको विषय हो- पेडियाट्रिक इम्युनोलोजी एवं र्युमाटोलोजी अर्थात् इम्युनिटी विकास, कमी र गडबडीका रोग तथा बाल-बाथजन्य रोग विज्ञान । यस सम्बन्धी विशेषज्ञ दक्षिण एसियामा नै निकै कम मात्र छन् । दक्षिण एसियामा भारतको चण्डीगढस्थित पिजिआई संस्थानमा मात्रै डी.एम. पढाई हुने यो विषयका विशेष विज्ञता हासिल गरेका विज्ञ नेपालमा हालसम्म कोहीपनि थिएनन् । यो विषयमा डी.एम. गर्ने डा. भट्टराई दक्षिण एसियामा नवौं हुन् भने नेपालका प्रथम विशेषज्ञ हुन् । नेपालमा यस विषयमा विज्ञको अभावले निदान र उपचार भनेजस्तो नहुने र विदेश नै जानुपर्ने अवस्था थियो । तर, अब भने विज्ञको कमीले सेवा खट्किएको यो चिकित्सा विधा ‘रोग प्रतिरोध तथा बाल बाथजन्य रोग विज्ञान’ मा उनको आगमनले नयाँ आशा दिलाएकोछ ।
 
नेपालमा केही चिकित्सकले वयस्कहरुका लागि लक्षित र्यूमाटोलोजी विषयमा अध्ययन र विशेषज्ञता हासिल गरेपनि ‘इम्यूनोलोजी र बालबालिकाको र्यूमाटोलोजी’को हकमा भने विशेष विज्ञ र साधनयुक्त अस्पताल हालसम्म थिएनन् । अझ हाम्रो देशमा इम्युन कमीले सन्चो नै नहुने दीर्घरोग हुन्छन् भन्ने ज्ञानको कमी त छ नै, विशेषज्ञता अभावले गर्दा चिकित्सकद्वारा पनि यी बिमारीको बारेमा सोचेर त्यसबारे निदान प्रयास गरेको पाइन्नन् I बाथजन्य रोगमा त झनै भ्रम छन् I ‘कहीं बच्चामा पनि बाथजन्य रोग हुन्छन् र ?’ या ‘बाथ भनेको जोर्नी मात्रैको बिमारी होला !’ भन्ने जस्ता घातक भ्रम ब्याप्त छन् । 

यथार्थमा बाथजन्य रोग बच्चामा झन् गम्भीर प्रकृतिका हुन्छन् र अर्को कुरा बाथजन्य रोग बहु आंगिक बहुप्रणालीगत हुन्छन् । जोर्नीको बाथ त एक उदाहरण मात्रै हो । बाथजन्य रोग जोर्नी बिनै मृगौला, छाला, मांशपेशी, मुटु, रक्तनली, फोक्सो, मस्तिष्क आदि कुनैपनि अंगका गम्भीर बिमार हुन सक्छन् । र यिनको समयमा निदान भएमा उपचार सम्भव छ ।   

विकसित देशमा अत्यन्तै फस्टाएको यो विधा उदाउँदो विधा हो । हरेक रोगको जरैदेखि कारण खोज्ने र त्यसको निदान खोज्ने यो विधामा अहिले संसारभर इम्युन कमी र गडबडीको निदान, इम्युनिटी सन्तुलन, त्यसको उपचार बाल बाथजन्य रोग उपचारदेखि जीन थेरापी, इम्युनोथेरापी, खोप विकास, बोनम्यारो ट्रान्सप्लान्टेसन आदि जस्ता उन्नत प्रविधि आइसकेका छन् । यस विधाका प्रथम विशेष–विज्ञता (सुपर–स्पेसियालिटी) हासिल गर्ने नेपाली बिशेष-बिज्ञ चिकित्सक डा. भट्टराई भएसंगै अब यी रोगको पनि नेपालमै निदान र उपचारको बाटो खुलेको छ ।

डा. भट्टराई हाल अन्तर्राष्ट्रिय सर्वोच्च इम्युनोलोजी संस्था ‘युरोपियन सोसाइटी फर इम्युनो-डेफिसीयन्सीज् (ESID) र एसियाको ‘एसिया प्यासिफिक सोसाइटी फर इम्युनो-डेफीसीयन्सीज् (APSID) को निम्ति नेपालको तर्फबाट अगुवा प्रतिनिधि पनि हुन् । यो नेपालको लागि नयाँ र गर्विलो आयाम हो । 

ठुलो मान्छे भन्दा पनि असल मान्छे बन्नु पर्छ भन्ने धारणा राख्ने डा. भट्टराई संघर्षबाट सपना पुरा गर्न सकिन्छ भन्ने कुराका ज्वलन्त उदाहरण हुन् । परिवार, समाज अझै सकिन्छ भने राष्ट्र र सके विश्वका लागि केही न केही गर्नुपर्छ भनेर अगाडी बढेको डा. भट्टराई बताउँछन् । गरिबले उच्च शिक्षा पाउन अति संघर्ष गर्नुपर्ने हाम्रो जस्तो ठाउँमा लक्ष्य बोकेका विद्यार्थीको लागि डा. भट्टराई एक प्रेरणा बन्न सक्छन् । 

Last modified on 2021-06-02 18:04:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts