पोलियो रोगविरुद्धको ९ हजार भ्याक्सिन स्टोरमै जम्यो, केन्द्रले थाल्यो छानविन



Download our app to get more features

काठमाडौं, ७ असोज । १४ महिनामुनिका बच्चालाई दिइने पोलियो रोगविरुद्धको ९ हजार भ्याक्सिन स्टोरमा भएको लापरबाहीले बिग्रिएको छ । क्षेत्रीय मेडिकल स्टोर हेटौँडाको लापरबाहीले ठूलो परिमाणको भायल पोलियो भ्याक्सिन (एफआइपिभी) जमेर काम नलाग्ने भएको हो । दाताहरूले असहयोग गर्न सक्ने डरले सरकारले लापरबाही लुकाए पनि तथ्य बाहिरिएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप बिग्रिएको स्वीकार गरे । १ भदौदेखि पोलियो रोगविरुद्ध खोप अभियान सुरु गर्नुअघि पूर्वतयारी बुझ्न विश्व स्वास्थ्य संगठन र विभागका प्रतिनिधिको टोली हेटौँडास्थित क्षेत्रीय मेडिकल स्टोर पुग्दा ९ हजार भ्याक्सिन जमेर काम नलाग्ने अवस्थामा भेटिएको डा. गौतमले बताए । तर, उनले वैकल्पिक व्यवस्था गरेर खोप अगाडि बढाइएको पनि बताए । अन्य स्टोरबाट मगाएर खोप कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।

नेपालमा पहिलोपटक सुरु भएको हो एफआइपिभी
विश्व स्वास्थ्य संगठनको पोलियो उन्मूलनको अन्तिम रणनीतिअनुसार नेपालमा एफआइपिभी पहिलोपटक सुरु भएको हो । संगठनले पोलियो उन्मूलनका लागि सन् २०१३ देखि २०१८ सम्मको अन्तिम रणनीति बनाएको छ । नेपालले यही आधारमा रहेर सन् २०१४ देखि २०१८ सम्मको लक्ष्य बनाएको छ । यही लक्ष्यअनुसार पोलियो थोपा र भ्याक्सिनमा आइपिभी सुरु गरेको थियो । सन् २०१४ देखि नेपालले सुरु गरेको आइपिभी भ्याक्सिन विश्वव्यापी अभाव भएपछि सरकारले एक वर्षपछि सञ्चालन गर्न सकेन । त्यसपछि विश्व स्वास्थ्य संगठनले नेपालमा एफआइपिभी सञ्चालनमा ल्याएको हो । १ भदौदेखि नेपालमा सुरु भएको छ ।

२ देखि ८ डिग्री तापक्रममा नराख्दा बिग्रियो
२५ साउनमा तत्कालीन आपूर्ति व्यवस्था महाशाखाका खोप सुपर भाइजर शारदा न्यौपानेले काठमाडौंबाट बुझेर लगेको र हेटौँडामा छविलाल पण्डितले बुझेको उल्लेख छ । हेटौँडालाई बुझाउँदा सबै भ्याक्सिन कन्डिसनमा रहेको देखिएको छ । तर, भ्याक्सिनमा तापक्रम नमिलाउँदा सबै जमेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार उक्त भ्याक्सिन २ देखि ८ डिग्रीको तापक्रममा राखिनुपर्ने थियो । वेलैमा अनुगमन हुँदा ठूलो क्षतिबाट जोगिएको छ । ‘वेलैमा भ्याक्सिन जमेको पहिचान नभएको भए र बच्चामा खोप लगाइएको भए के हुन्थ्यो ?’ एक अधिकारीले भने । गल्ती गर्ने व्यक्तिलाई कारबाही गर्न भन्दै केन्द्रले छानबिन थालेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरूको सहयोगमा सुरु गरेको उक्त भ्याक्सिन ठूलो परिणाममा नष्ट हुँदा अन्तर्राष्ट्रिय प्रश्न अवश्य उठ्ने विभागका एक अधिकारीले बताए ।

९ हजार भ्याक्सिनको मूल्य ३ करोड
परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ९ हजार भ्याक्सिनको मूल्य करिब ३ करोड रुपैयाँ पर्ने बताए । देशभर ६ लाख ५० हजार बालबालिका १४ महिनामुनिका रहेका छन् । उनीहरूलाई प्रत्येक वर्ष करिब २५ लाख भ्याक्सिन आवश्यक पर्छ ।

ल्याब रिपोर्ट नआउँदासम्म जमेको कसरी भन्ने ? 
रमन झा, प्रमुख, क्षेत्रीय मेडिकल स्टोर, हेटौँडा

हामीले ल्याबमा पठाएका छौँ । रिपोर्ट नआउँदासम्म मैले बोल्न मिल्दैन । भ्याक्सिन प्लस र माइनसमा राखिन्छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि खोप सुरु हुनुअघि आएका थिए । तर, केन्द्रको टिम अहिलेसम्म अनुगमनमा आएको छैन । भ्याक्सिन जमेको आशंकाले ९ हजार भायल भ्याक्सिन बन्द गरिएको छ । भदौ १ बाट देशभर सो भ्याक्सिन सञ्चालन गरेकाले हामीले विराटनगरबाट ४ हजार भायल ल्याएर सञ्चालन गरेका छौँ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2018-09-23 10:53:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts