क्यान्सरपीडितका समस्याः विदेशमा दुःख पाएपछि स्वदेशमा उपचार



Download our app to get more features

काठमाडौं, २ कार्तिक । धादिङ, बेनीघाटका ४८ वर्षीय केशव बिसुरालको पाइतालामा ६ वर्षअघि साना बिमिरा निस्किए । विस्तारै फोकामा परिणत भएका ती बिमिरा फुटेर खाटा बस्यो । उनले सामान्य ठानेर उपचार खोजेनन् ।

घाउका खाटा विस्तारै मासुका डल्ला बनेर दुखाइ असह्य भएपछि मात्र अस्पताल पुगे । चिकित्सकले खिल बसेको भनेर शल्यक्रिया गरिदिए । ‘तर खिल निकालेको खाल्डो मासुले पुरिएन । अझ त्यही खाडल घाउमा बन्यो, फेरि जचाउँदा क्यान्सर भइसकेको रहेछ,’ ३ वर्षअघिको बेथा सुनाए ।

बिसुरालको क्यान्सर पहिलो स्जेटको मात्रै थियो । उनले स्वदेशमै उपचार गर्ने सोच बनाएका थिए तर छिमेकी र आफन्तले अत्याएपछि पत्नी कुमारीलाई साथलिएर भारतको राजीव गान्धी क्यान्सर अस्पताल पुगे ।

‘त्यहाँ चिकित्सकसँग बोल्न भाषामा समस्या भयो । खानेबस्ने ठेगान भएन,’ बिसुरालले भने, ‘६ महिना उपचार गराएँ तर बेथा कम भएन ।’ त्यहाँका चिकित्सकले नेपालमा रोग बिगारेकाले निको नभएको जवाफ दिएपछि उनीहरू फर्किए । अहिले हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नेपालमा १० लाखभित्र हुने उपचारका लागि उनले ६० लाख खर्चिसकेका छन् । ‘घरजग्गा सबै बेचिसकें । अब त बेच्नलाई केही छैन,’ कुमारीले भनिन् ।

४२ वर्षीया अर्की एक क्यान्सरपीडित पनि आफन्तकै लहलहैमा भारत पुगिन् । उनलाई पाठेघरको मुखको पहिलो स्टेजको क्यान्सर थियो । चिकित्सकले उनलाई यहीँ उपचार सजिलो र सस्तो हुने परामर्श पनि दिएका हुन् । ‘जान्नेबुझ्नेले क्यान्सर भयानक रोग हो, पैसा नहुने मान्छे पो नेपालमै अड्किन्छन् भनेपछि ऋण खोजेर भारत हिँडेँ,’ उनले सुनाइनन् । त्यहाँ चिकित्सक भेट्न धेरै दिन कुर्नुपर्ने, खानबस्न धेरै खर्च लाग्ने समस्याबाट उनी गुज्रिइन् । ३० लाख रुपैयाँ सकिँदा पनि रोग निको भएको छैन । अहिले नेपालमै उपचार गराइरहेकी छन् ।

नेपालमै सम्भव हुने उपचारको विश्वास नमानेर विदेश धाउने यस्ता पात्र थुप्रै छन् । विदेश धाएर दुःख पाएका, घरजग्गा सिध्याएका बिरामी क्यान्सर अस्पतालमा धेरै भेटिन्छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग विशेषज्ञ डा. समीर शर्माको डेढ दशक उपचार अनुभवमा पनि ५ प्रतिशत बिरामी विदेश पुगेरै उपचार गर्छन् । ‘विश्वभर जहाँ पुगे पनि उपचार एउटै हो । नेपालमा पनि उस्तै प्रविधि छ । तर उपचारप्रति बिरामीको विश्वास जाग्न सकेको छैन,’ उनले भने, ‘पैसा हुन्जेल विदेशमा उपचार गर्छन् । पैसा सकिएपछि नेपाल फर्केर निःशुल्क उपचार गर्ने पनि छन् ।’

नेपाल क्यान्सर अस्पतालका निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर लाग्नेबित्तिकै विदेश नै जानुपर्छ भन्ने मानसिकता कायम रहेको बताए । ‘तीन दशकअघि नेपालमा क्यान्सर रोगको उपचार थिएन । विदेशै धाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले नेपालमै विशेषज्ञ उत्पादन भइसके, प्रविधि पनि भित्रिसके । उपचारका लागि बिरामीले विदेश नै जानुपर्छ भन्ने छैन ।’ सामाजिक प्रतिष्ठा र आफन्तको करकापका कारण बिरामीले यहाँ उपचार गर्न नमान्ने उनले बताए । उनका अनुसार कतिपय बिरामी रोग लुकाउन पनि बिदेसिन्छन् । क्यान्सरबारे समाजले थाहा पाएर अपहेलना गर्ला भन्ने डरका कारण पनि बिरामी विदेश पुगेर उपचार गर्छन् ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले पनि क्यान्सर उपचारका लागि देशमै जनशक्ति र प्रविधि भए पनि बिरामीको विश्वास बढ्न नसकेको बताए । ‘अब्बल उपचार नेपालमा सम्भव छैन भन्ने मानसिकताबाट पीडित छन् बिरामी । ठूलो रोग लाग्दा पनि विदेश लगेनन् भन्ने सामाजिक दोषारोपण खेप्न नसकेर पनि विदेश लगिन्छन्,’ उनले भने ।

क्यान्सर लागेका सेलिब्रेटी, सामाजिक र राजनीतिक व्यक्तित्वले विदेशमा उपचार गराउने परिपाटीले पनि सामान्य नागरिकमा त्यस्तो मानसिकता हाबी हुन गएको विशेषज्ञहरूको ठम्याइ छ । डा. श्रेष्ठलाई नेपालमै निको भएका बिरामीले खुला रूपमा भनिदिए पनि धेरैले विदेश पुगेर दुःख पाउनु पर्दैनथ्यो भन्ने लाग्छ । ‘रोगबारे खुलेर बोल्नै मान्दैनन् बिरामी । रोगबारे बोली हिँड्दा जागिर नपाइने, इज्जत जाने, बिहे नहुनेजस्ता डरले ग्रस्त छन्,’ उनले भने । उनीहरूलाई खुलेर यहाँको सेवाबारे प्रचार गर्न सरकारले प्रेरित गर्नुपर्ने उनको विचार छ । डा. श्रेष्ठका अनुसार नेपालबाट भारत गएका बिरामीले उपचारभन्दा बढी दुःख पाउँछन् । बिरामीलाई अनावश्यक औषधि किन्न र परीक्षण गर्न लगाएर बढी खर्च गराइन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाको अनुभवमा हरेक २० जना क्यान्सरका बिरामीमध्ये एक जना भारत पुगेकै हुन्छन् । ‘नेपालमै उपचार सम्भव छ भन्दाभन्दै पनि अरूको कुरा सुनेर विदेश पुग्ने प्रवृत्ति छ,’ उनले भने, ‘सुरुमा जोसिएर विदेश पुग्छन्, उता दुःख पाएपछि फेरि नेपाल आएर उपचार गर्छन् ।’ नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन ।

परिषद्ले गरेको अध्ययन गरेको रिपोर्ट अब छिट्टै सार्वजनिक गरिने अध्यक्ष झाले बताए । उनका अनुसार विदेश उपचार गराउन जानेमध्ये ९९ प्रतिशत भारतको दिल्ली पुग्ने गरेका छन् । केही बिरामी बैंकक र सिंगापुर जान्छन् । विदेशमा बिरामीले नेपालमा भन्दा तेब्बरचौब्बर बढी खर्च गर्ने गरेको उनले बताए । नेपालमा भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर क्यान्सरको उपचार गरिने मुख्य ठूला अस्पताल हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत गरिब मुलुकमा महिलाको मृत्युको पहिलो कारण पाठेघरको क्यान्सर हो, दोस्रो स्तन क्यान्सर हो । पुरुषमा भने नेपाल फोक्सो, पेट र नाक, कान, घाँटी बढी हुने गरेको छ । संगठनको आँकलनअनुसार नेपालमा हरेक वर्ष क्यान्सरका ३० हजार नयाँ बिरामी थपिन्छन् र यही रोगका कारण बर्से्नि १५ हजारले ज्यान गुमाउँछन् ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-10-20 05:59:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts