रामदेवको नेपालस्थित पतञ्जलीमा ‘विद्रोह’, अवैध काम गरेको भन्दै नयाँ पातञ्जल समिति गठन



Download our app to get more features

भक्तपुर, १६ असोज । भारतको हरिद्वारबाट सञ्चालित नेपालस्थित पतञ्जली योग समितिमा विद्रोह भएको छ । नेपालस्थित पतञ्जलीमा वर्षौं संलग्न योग अभियन्ताहरुले विद्रोह गर्दै नयाँ योग समितिसमेत गठन गरेका छन् । 

पतञ्जलीमा विद्रोह गरेकाहरुले सुदर्शन सुवेदीको अध्यक्षतामा पातञ्जल योग समिति गठन गरेका छन् । पातञ्जल योग समिति गठन गरेकाहरुले पतञ्जलीलाइ नेपालमै वैधानिक, आधिकारिक, स्वायत्त र स्वतन्त्र संस्थाका रुपमा विकास गर्ने नेपालस्थित नेतृत्व तयार नभएपछि आफुहरु वैकल्पिक समिति गठन गर्न बाध्य भएको दाबी गरेका छन् । 
समितिले सोमबार पत्रकार सम्मेलन गर्दै संस्था दर्ता गरि सञ्चालनमा ल्याएको जानकारी दिएको हो । सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष सुवेदीले पतञ्जली नेपाललाइ भारतबाट सञ्चालित हुने प्रथाको अन्त्य गर्न नेपालस्थित नेतृत्व तयरा नभएपछि पतञ्जलीमा विद्रोह गर्न बाध्य भएका स्पष्ट पारे । 

’पतञ्जलीलाई नेपालको कुनै पनि निकायमा दर्ता गर्न, संस्था सञ्चालन गर्ने विधिविधान बनाउन नेतृत्व नयार भएन,’ उनले भने ’दर्ता नभएको, आफ्नै विधिविधान नभएको संस्था र यसले गर्ने सम्पूर्ण क्रियाकलाप अवैधानिक हुन्छ । पतञ्जली पनि नेपालको लागि अवैधानिक संस्था हो । त्यसैले हामीले वैधानिक रुपमा पातञ्जल योग समिति नेपाल दर्ता गरेका हौं ।’ 

त्यसो भए पतञ्जली योग समिति नेपाल अवैधानिक संस्था हो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष सुवेदीले पतञ्जली अवैधानिक मात्रै नभई यसले नेपालमा रकम उठाई भारत पठाउनु राष्ट्रघातसमेत भएको दावी गरे । 

पतञ्जलीले नेपालको राष्ट्रियता र अखण्डतामा आँच पुर्याउने काम गर्दै आएको आरोप समेत उनले लगाए । ’पतञ्जलीले नेपालीलाई उसको उत्पादनको व्यापारिक एजेन्टमात्रै बनाएको छ,’ उनले थपे, ’पतञ्जलीले नेपाल र नेपालीलाई लुट्ने काममात्रै गर्दै आएको छ । नत्र नेपालबाट उठेको रकम नेपालमै योगको विकास तथा आयुर्वेदको विकासमा लगानी गर्नुपथ्र्यो ।’ 

सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पातञ्जल योग समिति नेपाल केन्द्रीय समिति गठन भएको जानकारी दिइएको छ । उपाध्यक्षमा राजभक्त श्रेष्ठ, सचिवमा नवराज काफ्ले र कोषाध्यक्षमा जानुका भट्टराई छन् । योगप्रसाद आचार्यको अध्यक्षतामा २३ सदस्यीय भक्तपुर जिल्ला समिति गठन गरिएको छ । केन्द्रीय सचिव काफ्ले समितिलाई ७७ वटै जिल्लामा विस्तार गरिने जानकारी दिए । उनले पतञ्जलीले जस्तै पातञ्जलले पनि नेपाली जडिबुटी प्रयोग गरी विभिन्न आयुर्वे्दिक उत्पादन गर्ने लक्ष्य लिएको सुनाए ।

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)

Last modified on 2018-10-02 13:45:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts