बलात्कारीलाई जोगाउन गलत रिपोर्ट दिएपछि धनुषाका दुई डाक्टरमाथि मुद्दा दायर



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । अभियुक्तलाई जोगाउन बलात्कार मुद्दामा पीडितको गलत स्वास्थ्य परीक्षण रिपोर्ट दिएको अभियोगमा दुई चिकित्सकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार अञ्चल अस्पताल, जनकपुरधाम, धनुषाका डा. भिके सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले अभियुक्तलाई फाइदा हुने गरी गलत स्वास्थ्य परीक्षण रिपोर्ट बनाएको आरोप छ । अनुसन्धानका क्रममा नियतबस नै उनीहरूले गलत रिपोर्ट दिएको खुलेपछि मेडिकल काउन्सिलले यसअघि नै उनीहरूको लाइसेन्स निलम्बन गरेको थियो । भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिएकाले दुई चिकित्सकविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

एक वर्षसम्म कैद हुन सक्ने
अभियोग प्रमाणित भए चिकित्सकद्वयलाई एक वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्नेछ । भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १९ को उपदफा (२) मा ‘सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वा नभए नगरेका कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुनेछ’ भन्ने उल्लेख छ ।

यस्तो थियो घटना
८ भदौमा धनुषा, जनकनन्दनी गाउँपालिका–२ की १२ वर्षीयालाई स्थानीय २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । इलाका प्रहरी खजुरीले भोलिपल्ट जनकपुर अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो । डा. विजयकुमार सिंह र डा. रम्भा गोइतले बालिकाको यौनांग नच्यातिएको तथा शरीरका अन्य भागमा पनि घाउ नभएको भन्दै ११ दिनपछि प्रतिवेदन तयार पारी प्रहरीलाई दिएका थिए ।

पछि सिरहा अस्पतालका डा. राकेशकुमार सिंहको नेतृत्वमा पुनः स्वास्थ्यपरीक्षण गराउँदा यौनांग च्यातिएको तथा अनुहारका विभिन्न भागमा चोट रहेको पाइएको थियो । बदमासी खुलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले चिकित्सकद्वयलाई कारबाही गर्न नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरेका थिए । त्यसपछि डा. हरिहर वस्तीको नेतृत्वमा मेडिकल काउन्सिलका अधिकारी सम्मिलित समितिले छानबिन गर्दा नियतबस नै चिकित्सकद्वयले गलत रिपोर्ट दिइएको पुष्टि भएको थियो ।

सो मुद्दाका अभियुक्त खत्वे पुर्पक्षका लागि कारागारमा छन् । अभियुक्तलाई जोगाउन नियतवश प्रमाण नष्ट गर्नेलाई पनि मुद्दा चलाउन सकिने प्रावधान फौजदारी अपराध संहितामा रहेकाले अख्तियारले चिकित्सकद्वयविरुद्ध मुद्दा दायर गरेको हो ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)
 

Last modified on 2018-11-03 17:12:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts