सञ्चयकोषका सदस्यलाई खुशीको खबरः ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा सुरु हुँदै



Download our app to get more features

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले ६ लाखभन्दा बढी सञ्चयकर्तालाई ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । यसका लागि कोषले प्रतिव्यक्ति चार सय २० रुपैयाँका दरले बीमा कम्पनीलाई प्रिमियम शुल्क बुझाउने छ । 

कोषले सबै सञ्चयकर्ताबाट वार्षिक २५ करोड २० लाख रुपैयाँ प्रिमियम तिर्नेछ । यो रकम मूल्य अभिवृद्धि कर बाहेकको हो । यसमा सबै सञ्चयकर्ताले सुविधा पाउने कोषले जनाएको छ । पहिलोपटक व्यवसायिक कम्पनीले वार्षिक चार सय २० रुपैयाँ प्रिमियम शुल्क लिएर ११ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा दिन लागेको हो । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा प्रतिव्यक्ति चार सय २५ रुपैयाँ लिएर ५० हजारसम्मको सुविधा दिने व्यवस्था छ । उक्त व्यवस्थामा परिवारका पाँच सदस्यले सेवा पाउने छन् । 

सरकारी बीमा कार्यक्रममा सहभागी हुन पाँच सदस्य भएको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम शुल्क बुझाउनुपर्नेछ । सञ्चयकोषले भने बिना प्रिमियम ११ लाखसम्मको निःशुल्क बिमा सुविधा दिने भएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कार्यान्वयनमा ल्याइएको यस योजनाबाट सरकारले पहिचान गरेका क्यान्सर, मिर्गौला फेल, हृदयघात, प्यारालाइसिस लगायतका नौवटा घातक रोग लागेमा १० लाख र सामान्य रोगका लागि एक लाख रुपैयाँको बिमा सुविधा पाइने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । 

कोषले आम्दानी गरेको मुनाफाबाट प्रति सञ्चयकर्ता चार २० रुपैयाँका दरले वार्षिक प्रिमियम शुल्क बुझाएर सञ्चयकर्तालाई यो सुविधा दिन लागेको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ । 

Last modified on 2018-11-15 14:43:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts