काठमाडौं महानगरले २ सय शय्याको अस्पताल चलाउने

बन्द रहेको जनमैत्री अस्पताल खरिद गर्नेबारे छलफल



Download our app to get more features

काठमाडौं, ५ मंसिर । काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ ।

महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि महानगरले चालू आर्थिक वर्षको बजेटमै २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘उपयुक्त भए बन्द रहेको जनमैत्री अस्पताल खरिद गर्ने कि भन्ने पनि छ, अन्य अस्पतालहरू वा भवन खरिद गरेर सञ्चालन गर्न पनि सकिन्छ,’ कार्कीले भने, ‘अध्ययनको प्रतिवेदन के आउँछ सोहीअनुसार गर्छौं ।’

६१ प्रकारका औषधि निःशुल्क
यसअघि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको महानगरपालिकाले अब ६१ प्रकारको औषधि वितरण गर्ने भएको छ । महानगरपालिकाको आफ्नै बजेटबाट थप २६ प्रकारको औषधि किनेर बिरामीलाई बाँड्न लागेको स्वास्थ्य विभागमा कार्यरत जनस्वास्थ्य निरीक्षक महेन्द्र गिरीले बताए । नयाँ औषधिहरूमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोललगायत रहेका छन् । महानगरमा वृद्ध–वृद्धाको संख्या धेरै रहेको र अधिकांशमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, दमलगायतका समस्याबाट ग्रसित रहेकाले थप औषधि निःशुल्क उपलब्ध गराउन लागिएको उनले जानकारी दिए ।


मेडिकल अफिसर नियुक्त गर्न विज्ञापन
हाल पारामेडिक्स र अहेवबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको महानगरपालिकाले यही आर्थिक वर्षबाटै मेडिकल अफिसर नियुक्त गर्ने भएको छ । त्यसका लागि विज्ञापन खुलाउन प्रशासनलाई पत्राचार गरिएको र केही दिनमै विज्ञापन आह्वान गर्ने श्रेष्ठले बताए । चिकित्सक अभावमा स्वास्थ्य केन्द्र आउने महानगरवासीलाई आवश्यक औषधि दिन र थप उपचारका लागि आवश्यक परामर्शसमेत दिन नसकिएको उनको भनाइ छ । महानगरपालिकाले २७ वटा सहरी स्वास्थ्य क्लिनिक र पाँचवटा हेल्थ पोस्ट सञ्चालन गर्दै आएको छ । ती क्लिनिकमा खोप, परिवार नियोजनलगायतका सेवा लिनेको भिड लाग्ने गरेको छ ।

सम्भाव्यता अध्ययन अन्तिम चरणमामहानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार महानगर प्रमुख विद्यासुन्दर शाक्य महानगरवासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा गम्भीर छन् । उनले अस्पताल सञ्चालन गर्ने विषयमा तत्कालीन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिसँग पनि छलफल गरिसकेका छन् । महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिकुमार श्रेष्ठले अस्पताल सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्य अध्ययन अन्तिम चरणमा पुगेको बताउँदै उपयुक्त पाइए मात्रै जनमैत्री अस्पताल महानगरले खरिद गर्ने बताए ।

 

(आजको नयाँ पत्रिका दैनिकमा अर्जुन पौडेलले लेखेको समाचार)

Last modified on 2018-11-21 14:09:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts