नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल



Download our app to get more features

हुम्ला, ५ मंसिर । जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी रहे पनि ज्योति हमालले मात्र काम गर्दै आएकी थिइन् ।

जिल्ला अस्पताल हुम्लाका डाक्टर टर्सी आङजोक लामाले दुईजनाको दरबन्दी भए पनि एकजना नर्स एक वर्षदेखि जिल्लामा नआएको जानकारी दिए । उनले दुई डाक्टर र एकजना अनमिले जिल्ला अस्पताल चलाउँदै आएको बताए ।

अन्य जिल्लाको तुलनामा हुम्लामा स्वास्थ्यकर्मीको संख्या कम भएसँगै काममा समस्या भएको लामाले बताए । जिल्ला अस्पताल हुम्लामा नवौँ र आठौँ तहका गरी दुई स्थायी डाक्टर र आवश्यकताअनुसार कर्मचारी हुनुपर्नेमा दुई डाक्टर र एक अनमिको भरमा अस्पताल चलेको छ ।

डाक्टरको काज फिर्ता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटाइएका डाक्टर डिल शाही रोका फिर्ता भएपछि जिल्लामा दुईजना स्थानीय डाक्टर नवीन रोकाया र डाक्टर टर्सी आङजोक लामा मात्रै कार्यरत छन् । जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवको सरुवा भएपछि जिल्ला अस्पताल हुम्लाको निमित्त प्रमुखका रूपमा डाक्टर लामा कार्यरत छन् ।

चीनले दियो उपकरण
अस्पतालका लागि चीन सरकारले ६० लाखबराबरको उपकरण सहयोग गरेको डाक्टर रोकायाले बताए । दुईवटा इसिजी मेसिन, दुईवटा मल्ट्रिफन्सन मनिटर, १५ वटा बिपी कप सहयोग आएको उनले बताए ।

 

(आजको नयाँ पत्रिका दैनिकमा नरजन तामाङले लेखेको समाचार)

Last modified on 2018-11-21 14:08:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts