आफुलाई गाडी किन्न आएको पैसा अस्पताललाई दिने मेयर...



Download our app to get more features

टिकापुर, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन् । बेला–बेलामा विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चचार्मा आएका हुन् । तेश्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नं १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन् । उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन् । 

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद्को निर्णय परिवर्तन गरेको हो । नगरसभाले कार्यपालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो । सोही अधिकार प्रयोग गरेर मेयर बजगाईंले यस्तो निर्णय गर्न प्रस्ताव गरेका थिए । 

गाडी चढ्न कुराभन्दा नगरबासीको स्वास्थ्य समस्या ठूलो भएकाले यस्तो निर्णय गरेको उनले बताए । 'मैले गाडी चढ्नुभन्दा ठूलो नगरबासीको स्वास्थ्य हो', उनले भने, 'नगरबासीको सविधानका लाग बरु म पैदल हिंड्न तयार छु ।' नगरपालिकाको पहलमा एक सय शैयाको सामुदायिक अस्पताल बनाउन लागिएको छ । नगरपालिकाले नै अस्पताल निर्माणको अगुवाइ गरेको छ । मेयर बजगाईंले अस्पताल निर्माणका लागि डिपिआर तयार भइरहेको जानकारी दिए । 

अस्पताल निर्माणका लागि चुहास्थित नवजागृति माविले २ विगाह ७ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले अस्पताल निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराउने निर्णय गरेका लम्कीचुहा नगरपालिकाका प्रवक्ता विष्णु खनालले जानकारी दिए । उनले सोही जमिनसँग रहेको २ विगाह १० कठ्ठा ऐलानी जग्गासमेत अस्पतालले उपभोग गर्न पाउने गरी सहमति भएको बताए । 
अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलको सांसद विकास कोषबाट १ करोड १० लाख छुट्याइएको छ । अपुग रकम नगरपालिकाको पहलमा जुटाउने तयारी छ ।

 नगरपालिकासँग से १ झ २३३ नम्बरको एउटा गाडी छ । यो गाडी मेयरले प्रयोग गर्दै आएका छन् । सोही गाडी नगरपालिकाको अन्य कामकाजमा समेत प्रयोग हुने गरेको छ । गाडी किन्ने रकम अस्पताललाई दिने निर्णय गरेपछि मेयर बजगाईं यतिबेला समाजिक सञ्जालमा छाएका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । 

आजको नागरिक दैनिकमा योगश रावलको समाचार छ । 

Last modified on 2018-11-27 15:12:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts