अस्पतालमा भएको एक मात्र एम्बुलेन्स पनि दुई वर्षदेखि थन्कियो

प्रयोगविहिन बन्यो आईसीयूका उपकरण



Download our app to get more features

महेन्द्रनगर, ११ मंसिर । महाकाली अञ्चल अस्पताल दुई वर्षयता एम्बुलेनसविहिन बनेको छ । अञ्चल अस्पतालसँग भारतीय दूतावासले दिएको एक मात्र एम्बुलेन्स थियो । त्यो एम्बुलेन्स दुई वर्षदेखि बिग्रिएर थन्किएपछि अस्पतालसँग अहिले कुनै पनि एम्बुलेन्स छैन । 

अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले भने, ‘हामीले सरकारसँग पटकपटक माग गर्यौं तर पनि हाम्रो माग कहिले पूरा भएन, एम्बुलेन्स मात्रै होइन महाकाली अञ्चल अस्पताल आफैं ६ वर्षदेखि कार्यालय प्रमुखविहिन समेत बनेको छ ।’

महाकाली अञ्चल अस्पताललाई टिचिङ अस्पताल बनाउने प्रतिबद्धता गरेर प्रतिनिधिसभा चुनाव जितेका डा.दीपकप्रकाश भट्टले हालसम्म अस्पतालको लागि केहि गर्न नसकेको स्थानीयको आरोप छ । तर, डा. भट्ट भने अस्पतालको गुणस्तर उकास्नका लागि आफूले सक्दो प्रयास गरिरहेको बताए । 

उनले भने, ‘मैले सक्दो प्रयास गरिरहेको छु । अब अञ्चल अस्पताल केन्द्र सरकारभन्दा पनि प्रदेश सरकारसँग जोडिएको छ । त्यसो हुनाले मैले पनि प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको छु ।’विशेषज्ञ डाक्टर नै छैनन् सरकारले अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टर पठाउन सकेको छैन । हाल अस्पतालमा ३ जना विशेषज्ञ डाक्टर मात्र कार्यरत छन् । यद्यपी २७ जना डाक्टरको दरबन्दी अस्पतालमा दिइएको छ । जसमा १८ जना भने विशेषज्ञ डाक्टरको रहेको छ । 

विशेषज्ञ डाक्टरको अभाव हुँदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन । हाल अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ डाक्टर नभएको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी अवस्थीले बताए । 

आईसीयू आफैं आईसीयूमा
अञ्चल अस्पतालले दिने भनेको आईसीयू आफैं आईसीयू बनेको छ । अस्पतालको एक मात्रै आईसीयूमा हाल सम्म पनि सेवा सुचारु हुन सकेको छैन । दुई वर्षअघि नै आईसीयू सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसकेको निमित्त प्रमुख हिक्मत श्रेष्ठले बताए ।

उनले भने, ‘आईसीयूका लागि आवश्यक पर्ने सबै उपकरण जडान गरिसकिएको छ । तर, हामीसँग आईसीयूका लागि चाहिने विशेषज्ञ जनशक्ति छैनन् । त्यसकारण आईसीयू सञ्चालनमा आउन सकेको छैन ।’

आईसीयू सञ्चालनका लागि फिजिसियन, एनस्थेसियन, बालरोग विशेषज्ञ र केही नर्सहरु भयो भने आईसीयू सञ्चालमा ल्याउन सकिने उनको भनाई छ । अञ्चल अस्पतालका समस्याका बारेमा सरकारलाई जानकारी गराउँदा पनि आश्वासन मात्र पाउने गरेको श्रेष्ठले गुनासो गरे ।


(आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेको समाचार)

Last modified on 2018-11-28 10:39:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts