आयोगको सिफारिसपछि पनि बीमा बोर्डको कार्यकारी निर्देशक चयनमा ढिलाई

४ महिनामा कुनैपनि काम हुन सकेन



Download our app to get more features

काठमाडौं, १२ मंसिर । स्वास्थ्य बीमा ऐन जारी भएको एक वर्ष बितिसक्दा पनि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक चयन हुन सकेको छैन । राजनीतिक खिचातानीका कारण निर्देशक चयनमा ढिलाई भएको स्रोतले बताएको छ ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सात जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चयन गरेको छ । गत कात्तिक ६ र ७ गते लोक सेवा आयोगले ती पाँचजना निवेदकको अन्र्तवार्ता लिएको थियो । अन्र्तवार्ताको आधारमा आयोगले पहिलो नम्बरमा दामोदर बसौला, दोस्रो नम्बरमा श्रीमान् कार्की र तेस्रो नम्बरमा रमेशराज पोखरेललाई चयन गरेको थियो । अन्तिम तीनमा छानिएकालाई आयोगले कात्तिक ७ गते नै स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो ।

आयोगले सिफारिस गरेको एक महिना बितिसक्दा पनि सरकारले कार्यकारी निर्देशक चयन गर्न नसक्दा बोर्डको काम कारबाही अन्यौलमा परेको छ । यता सरकारले लामो समयसम्म पनि निर्देशक नियुक्त नगर्दा राजनीतिक चलखेल भएको हुन सक्ने सरोकारवालाहरुले अनुमान गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्रालयले गत भदौ २४ गते कार्यकारी निर्देशकको लागि निवेदन आह्वान गरेको थियो । उक्त पदका लागि ७ जनाले निवेदन दिएका थिए । जसमध्ये २ जनाको योग्यता नपुुगेको भन्दै मन्त्रालयले निवेदन रद्द गरेको थियो । बाँकी ५ जनाको लोक सेवा आयोगले परीक्षा लिएको थियो ।

आयोगबाट पहिलो नम्बरमा छानिएका दामोदर बसौलाले बीमा विषयमा विद्यावारिधि गरेका छन् । उनी बीमा विषय अध्यापन समेत गराउँछन् भने बीमा सम्बन्धी अध्ययन अनुसन्धानमा पनि सक्रिय छन् । बीमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्की दोस्रो नम्बरमा छन् । त्यस्तै तेस्रो नम्बरमा परेका रमेशराज नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् ।

बोर्डमा कार्यकारी निर्देशक नियुक्त नहुँद बीमा विस्तार कार्य पनि प्रभावित बनेको छ । पछिल्लो ४ महिनामा कुनैपनि नयाँ काम हुन नसकेको बोर्डका एक कर्मचारीले बताए । (आजको नागरिक दैनिकबाट)

Last modified on 2018-11-28 10:40:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts