वीरमा दन्त चिकित्सा सेवा लिन महिनौं कुर्नुपर्ने



Download our app to get more features

काठमाडौं, १७ मंसिर । वीर अस्पतालको दन्त सेवा विभागमा बिरामीको चाप अत्यधिक हुन थालेको छ ।

विभागमा बिरामीको चाप बढ्दा दाँत भर्ने प्रक्रियामै महिनौं कुर्नु परेको विभागले जनाएको छ । ‘दाँतको जरादेखि नै भनुपर्ने उपचारका लागि चार महिनापछि मात्र पालो आउँछ,’ विभागकी प्रमुख डा. शैली प्रधानले भनिन् ।

उपचारका लागि आवश्यक टेबुलको व्यवस्थापन हुन नसक्दा सेवा लिनका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता रहेको विभागकी प्रमुख डा. प्रधानले बताइन् । विभागमा दाँत उपचार गर्ने विशेष टेबल ३० वटा मात्र छन् । विभागलाई थप २० वटा टेबुल आवश्यक रहेको प्रधानले बताइन् ।

टेवुलका लागि प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि हालसम्म आफूहरुको माग पूरा हुन नसकेको प्रधानले बताइन् । थप टेबुल र आठ जना डेन्टल सहायक भएमा बिरामीको चाप हल हुने उनी बताउँछिन् ।

अस्पतालको दन्त चिकित्सामा हाल स्थायी, अस्थायी र आवसीय गरी ३८ डेन्टल चिकित्सकसहित ५४ कर्मचारी कार्यरत छन् ।

विभागको सेवा गुणस्तरीय र सस्तो भएकाले अस्पतालमा बिरामीको चाप हुने गरेको छ । ‘पूर्वराष्ट्रपति पनि दाँतको उपचार यहीँ आउनु भयो । केही समय अघि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पनि यहीँ आउनु भएको थियो,’ डा. प्रधानले भनिन् ।

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2018-12-04 07:17:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts