निजी मेडिकल कलेजको ‘दादागिरी’



Download our app to get more features

काठमाडौं, ६ माघ । सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेबमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो। तर निजी मेडिकल कलेजले मन्त्रिपरिषद्को निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै चर्को शुल्क असुले पनि सरकार मूकदर्शक बनेको छ । मेडिकल कलेजहरूले सरकारसँगकै मिलेमतोमा विद्यार्थीमाथि ठगी गरिरहेको सरोकारवालाको भनाइ छ । चिकित्साशिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सर्वसुलभ रूपमा चिकित्सा शिक्षा पाउनुपर्ने आवाज उठाउँदै आएका छन् । तर नागरिक निर्धारण गरेको मूल्यभन्दा बढी शुल्क तिर्न बाध्य छन् । नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष अधिवक्ता मोहन इङनाम सरकारी मेडिकल कलेजहरुले सार्वजनिक सूचना निकालेर सरकारको निर्धारण गरेको शुल्क नमान्ने भनेर आफंै शुल्क निर्धारण गर्दा पनि सरकारले कुनै कारबाही नगर्नुले यसमा सरकारको मिलेमतो रहेको प्रस्ट हुने बताउँछन् ।

सरकारले गत असोज २६ गते चिकित्सा शिक्षाअन्तर्गत स्नातक एमबिबिएसका लागि शैक्षिक वर्ष २०७५⁄७६ मा उपत्यकाभित्र ३८ लाख ५० हजार रुपैयाँ, उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ एवं बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो। तर, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजले उक्त निर्णय अवज्ञा गर्दै सार्वजनिक सूचना प्रकाशित गरेर सम्पूर्ण कलेजमा एकरूपता हुने गरी छुट्टै शुल्क निर्धारण गरेको पाइएको छ । मेडिकल कलेजहरूले सार्वजनिक रूपमै सरकारको निर्णय मान्य नहुने जानकारी गराउँदै आफंै शुल्क निर्धारण गरी कानुन हातमा लिँदासमेत सरकारले बेवास्ता गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो रहेको सरोकारवालाले आरोप लगाएका छन् ।

मेडिकल कलेजले खुलेआम सरकारको निर्णय नमानेर आफैंले शुल्क निर्धारण गर्नुलाई संगठनको आडमा मेडिकल कलेजहरुले दादागिरी देखाएको अधिवक्ता इङनामको आरोप छ । सार्वजनिक रूपमै मन्त्रिपरिषद्को निर्णय मान्दैनौं भन्दै मेडिकल कलेजहरुले आफंै शुल्क निर्धारण गर्दा पनि सरकार चुपचाप बस्नु रहस्यमय रहेको उनले बताए । यसले सरकारी निर्णय औपचारिकताका लागि मात्र रहेछ भन्ने प्रस्ट भएको इङनामको दाबी छ ।

त्रिविबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूको संगठन सोसाइटी अफ टियु अफिलिएटेड हेल्थ इन्स्टिच्युसन्स, नेपाल (स्टाहिन) ले सार्वजनिक सूचना जारी गरेर हाकाहाकी सरकारले तोकेभन्दा बढी शुल्क लिने घोषणा गरे पनि सरकार मूकदर्शक बनेर बसेको पाइएको हो । स्टाहिनमा त्रिविलबाट सम्बन्धन प्राप्त मेडिकल तथा डेन्टल कलेजहरू युनिभर्सल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, पोखरा र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । त्यस्तै डेन्टल कलेजमा पिपुल्स डेन्टल कलेज र एमबी केडिया डेन्टल कलेज सोसाइटीमा आबद्ध छन् ।

मेडिकल कलेजहरुको संगठित संस्थाले सार्वजनिक सूचना प्रकाशित गरेर सरकारको निर्णयलाई चुनौती दिँदा पनि सरकार मौन बस्नु भनेको मेडिकल माफियासँग सरकारको साठँगाँठ छ भन्ने प्रस्ट रहेको अधिवक्ता डा. रमेश पराजुलीको आरोप छ । उनले मेडिकल कलेजहरूको संगठनले नै सरकारको निर्णय मान्दैनौं भनेर सार्वजनिक घोषणा गर्दा पनि सरकारले लुट्नलाई छुट दिनु आफँैमा रहस्यको विषय भएको बताए । 

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2019-01-20 15:41:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts