कलेजो प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पतालले बिरामी खोज्न थाल्यो



Download our app to get more features

काठमाडौं, २४ माघ । त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणका लागि उपयुक्त बिरामीको खोजी थालेको छ । स्वास्थ्यसेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले अनुमति दिएस“गै अस्पतालले तयारी सुरु गरेको हो ।

‘हामीले प्रत्यारोपण गर्न सकिने उपयुक्त बिरामीको पहिचान प्रक्रिया सुरु गरका छौं,’ कलेजो प्रत्यारोपण टोलीको नेतृत्वकर्ता डा. रमेशसिंह भण्डारीले भने, ‘बिरामी पाएको दुई साताभित्र प्रत्यारोपण गर्ने प्रक्रिया सुरु हुन्छ ।’

अस्पतालका अनुसार जीवित दाताबाट कलेजोको टुक्रा दानमा लिएर बिरामीमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । दाता र ग्रहणकर्ताको परीक्षणमा १० देखि १४ दिनसम्म लाग्न सक्छ । प्रत्यारोपणका लागि २५ जनाजतिको चिकित्सा टोली बनाइएको छ । प्रारम्भमा ८ देखि १० प्रत्यारोपण दिल्लीस्थित अपोलो अस्पतालको ५ सदस्यीय टोलीसँगको समन्वयमा गरिनेछ । 

अस्पतालले ती भारतीय चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्ससमेत लिइसकेको छ । ‘हामीले फेब्रुअरीमा न्यूनतम एउटा कलेजो प्रत्यारोपण गररे यो कार्य सुरु गर्ने सोचअनुसार तयारी गरिरहेका छौं,’ भण्डारीले भने, ‘सुरुमा हरेक महिना अधिकतम २ वटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएका छौं ।’
 
मुलुकमा मुख्य रूपमा मदिरा सेवन, हेपाटाइटिस संक्रमण र बोसो जमेर कलेजोमा दीर्घकालीन जटिलता देखिने गरेको छ । ‘कलेजो प्रत्यारोपण गराउनुपर्ने बिरामी सातामा दुई–तीनजना हाम्रै अस्पताल आउने गरेका छन्,’ भण्डारीले भने । उनका अनुसार देशभरिका अस्पतालमा यस्ता बिरामीको संख्या उल्लेख्य छ । 

कलेजोले पाचन क्रिया, मेटाबोलिज्म सही राख्नुका साथै विषाक्त पदार्थ बाहिर निकालिदिन्छ । क्षतिग्रस्त कोषिका सजिलै परिवर्तन गर्न सक्ने यसलाई अंग र ग्रन्थि दुवै भनिन्छ । विश्वभरि कलेजो प्रत्यारोपणलाई सबैखाले शल्य चिकित्साभन्दा जटिल मानिन्छ ।

अहिलेसम्म धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विदेशी विशेषज्ञको सहयोगमा ३ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रले २०७३ मा पहिलोचोटि प्रत्यारोपण गरको थियो ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-02-07 13:54:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts