अस्पतालको सबै भार एक्लो डाक्टरको काँधमा !



Download our app to get more features

रुकुम २५ माघ । मुसीकोटस्थित जिल्ला अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी आउँछन् । समान्य स्वास्थ्य समस्यादेखि जटिल बिरामीको चाप एक जना डाक्टरको काँधमा छ । अस्पतालमा प्रमुखसहित दुई डाक्टरको दरबन्दी भए पनि अहिले अस्पताल प्रमुख डा. सुशील पोखरेलमात्रै छन् ।

एक जना डाक्टरको सरुवा भएको छ । अर्का एक/दुई महिनादेखि तालिममा छन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको अस्पतालको भनाइ छ ।

‘कार्यालयको कामदेखि बिरामीको जाँचसमेत आफैं गनुपर्छ’, डा. पोखरेलले भने, ‘ एक जनाले सबैतिर भ्याउनुपर्दा कसरी राम्रो सेवा दिन सकिन्छ ?’ व्यस्तताले व्यक्तिगत जीवन समेत अस्तव्यस्त हुनुका साथै आराम गर्ने समय मिलाउनै नसकिएको उनले बताए । अस्पालमा बिहान १० देखि २ बजेसम्म बहिरंग सेवा चल्छ । अन्तरंग सेवा भने २४ सैं घण्टा चालु हुन्छ ।

सामान्य स्वास्थ्य समसका कारण बहिरंगका बिरामीलाई अन्य स्वास्थ्यकर्मीले जाँचे पनि अन्तगरंगमा भर्ना भएकालाई डाक्टर आफैंले हेर्नुपर्छ ।

‘ त्यसमाथि बिरामीको यत्रो चाप छ, कसरी भ्याउनु ?’ उनले भने ‘कामको रापले आफैं बिरामी भइएलाजस्तो छ ।’बिरामीको चाप हेरेर अस्पतालमा दरबन्दी थप्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसमाथि अहिले भएकै दरबन्दीको समेत छैनन् ।

जनसंख्या वृद्धिको अनुपातमा अस्पातालको स्तरान्नति र जनशक्ति थप्नुपर्नेमा भएको पनि कम हुँदै गएको डा. पोखरेल बताउँछन् । ०४५ सालमा स्थापना भएको अस्पतालमा सेवासमेत प्रभावित  भइरहेको छ । डाक्टर अभावबारे अस्पतालले प्रदेशदेखि संघीय सरकारलाइ जानकारी गराएको छ । पटक–पटक डाक्टर पठाइदिन भन्दै लिखित अनुरोधसमेत गरिएको उनले सुनाए । तर हालसम्म डाक्टर आउने अत्तोपत्तो छैन ।

संघीय सरकारले पठाएको एक डाक्टर पनि सुर्खेतस्थित प्रदेश अस्पतालमै छन् उनले जानकारी दिए ।

‘नजिकको प्रदेश सरकारले  समस्या सुन्नुपर्ने हो, झन् उल्टैमाथिबाट आएकालाइ पनि प्रदेश अस्पतालमै राखिदियो ।’ अस्पतालले भोगिरहेको समस्यालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलले महसुस गर्न नसक्दासमेत समस्या झन् लम्बिरहेको अस्पतालको भनाइ छ ।

‘स्थानीय तहको जनप्रतिनिधि र यहाँको सांसद–मन्त्रीको ध्यान नपुगेजस्तो छ’, उनले भने ‘यसको मार यहाँका जनताले खेपिरहेका छन् ।’

(आजको कान्तिपूर दैनिकबाट)

Last modified on 2019-02-08 11:40:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts