स्वाइन फ्लुको प्रकोपमा भारत, एक वर्षको अवधिमा २ सय २६ को मृत्यु



Download our app to get more features

नयाँदिल्ली । भारतको राजधानी नया“दिल्ली र नजिकैका राज्यहरूमा स्वाइन फ््लुको प्रकोप फैलिएको छ ।

खासगरी नयाँदिल्ली र नजिकैका राजस्थान, पञ्जाब र हरियाणामा यसको प्रकोप बढी देखिएको हो । स्वाइन फ्लु एच–१ एन–१ भाइरसको संक्रमणले हुन्छ । यी क्षेत्रमा दिनहुँजसो सयौंको संख्यामा स्वाइन फ्लु संक्रमित थपिँदै गएका छन् । 

संक्रमणकै कारण हालसम्म २ सय २६ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत वर्षको तुलनामा स्वाइन फ्लुको संक्रमणमा चिन्ताजनक ढंगले वृद्धि भएको हो ।

राजधानी दिल्लीमा बिहीबार एकै दिनमा १ सय ३ नयाँ स्वाइन फ्लु संक्रमितको पहिचान भएको स्वास्थ्य सेवा निर्देशनालयको कार्यालयले जनाएको छ । योसँगै दिल्लीमा मात्र पछिल्लो डेढ महिनामा १ हजार १ सय ९६ भन्दा बढीमा संक्रमणको पुष्टि भएको छ । 

संक्रमणकै कारण दिल्लीमा मात्र यस वर्ष १३ जनाको मृत्युसमेत भइसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, सरकारी निकायले भने हालसम्म त्यसको पुष्टि गरको छैन ।

दिल्लीसँग जोडिएको राजस्थानमा स्वाइन फ्लुको प्रकोप थप भयावाह छ । राजस्थानमा अहिलेसम्म २ हजार ३ सय ६३ मा यस्तो संक्रमण देखिएको छ । राज्यमा मात्रै स्वाइन फ्लुकै कारण १ सय १७ को मृत्यु भएको सरकारी निकायलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरका छन् । 

सन् २०१८ मा भारतभर स्वाइन फ्लु संक्रमणका १४ हजार ९ सय ९२ घटना पुष्टि भएकोमा सन् २०१९ को पहिलो महिनाभित्रै ६ हजार ७ सय १ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको छ ।

पुसको दोस्रो सातादेखि माघको तेस्रो सातासम्ममा भारतभर ६ हजार ७ सय १ जनामा संक्रमण पुष्टि भएकोमा त्यसको आधाभन्दा बढी अर्थात् ४ हजार १ सय १४ घटना चार राज्यमा देखिएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा २ हजार १ सय १ मा मात्र त्यस्तो संक्रमण देखिएको थियो । यस वर्ष सबैभन्दा बढी संक्रमण राजस्थान र दिल्लीमा देखिएको हो । सन् २००९ मा स्वाइन फ्लुले ठूलै महामारीको रूप लिएको थियो ।

राजधानी दिल्लीमा स्वाइन फ्लु संक्रमणका कारण मृत्यु भएकाको संख्या उल्लेख गरिएको छैन । गत महिना सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहमा समेत संक्रमण देखिएको थियो । शाहको स्वास्थ्य परीक्षण रिपोर्टमा स्वाइन फ्लु पुष्टि भएपछि उनलाई नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टियुट अफ मेडिकल साइन्स (एम्स्) मा भर्ना गरिएको थियो ।

सामान्यतया हरक हिउँद र वर्षामा स्वाइन फ्लु संक्रमण देखा पर्ने गरको छ ।  चिकित्सकले संक्रमणका हिसाबले स्वाइन फ्लुलाई सामान्य जोखिम र उच्च जोखिममा वर्गीकरण गर्ने गरका छन् । बच्चा, गर्भवती महिला, ६५ वर्षमाथिका व्यक्ति, फोक्सो, मुटु, कलेजो र मिर्गौलाका बिरामी उच्च जोखिमको वर्गमा पर्छन् । उनीहरूमा भएको संक्रमण समयमा पहिचान नभए मृत्यु हुने गर्छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-02-11 07:04:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts