भाटभटेनीले टिचिङको अर्को भवन बनाइदिने



Download our app to get more features

काठमाडौं, ७ फागुन । दश वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष निमार्ण गरिदिएको भाटभाटेनी सुपरमार्केटले सोही अस्पतालमा अर्को भवन बनाइदिने भएको छ ।

अस्पतालको आकस्मिक कक्षसँग जोडिएको स्थानमा भाटभटेनीले नौतले भवन बनाउने तयारी गरेको अस्पताल प्रशासनले जनाएको हो । यस विषयमा भाटभटेनीसँग लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले बताए ।

‘भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग भवन बनाउने सम्बन्धमा सहमति भइसकेको छ । प्रक्रियागत काम अघि बढिरहेको छ,’ प्रशासक अधिकारीले बताए । भवन निर्माणपछि अस्पताललाई हस्तान्तरण गर्नेगरी काम अघि बढेको उनले बताए । नयाँ भवनमा विस्तारित बहिरंग सेवा, आकस्मिक कक्षको विस्तार, औषधि पसल, भोजनालय र हेलिप्याड सुविधा रहनेगरी खाका तयार पारिएको छ ।

नयाँ भवन निर्माण गर्न निर्माणस्थलमा रहेका टहरा तथा पुरानो भवन भत्काउने काम सम्पन्न भइसकेको छ । ‘आठदश  दिनमा भवन डिजाइनको अन्तिम चरणको काम अघि बढ्छ । अहिले टहरा भत्काउने र पुरानो ढल व्यवस्थापन गर्ने काम भइरहेको छ,’ अधिकारी भने ।

भवन निर्माणका लागि त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक डा.दीपक महराकै पालामा दुई वर्षअघि प्रस्तावमाथि छलफल भएको थियो ।

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2019-02-19 14:12:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts