रगतको अभावले विरामी मारमाः ‘ब्लड बैंक’ नहुँदा झनै समस्या



Download our app to get more features

काठमाडौं, ११ फाल्गुन । संखुवासभा जिल्लामै ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ ।

बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुफर्ने अवस्था छ । 
रेडक्रसका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा रत्तदाता नै उपस्थित भएर ५० सुत्केरीलाई रगत दिइएको थियो ।

हेमोग्लोबिन कम भएका ३३ जनालाई समेत रगत दिइएको थियो । आव २०७५र०७६ को पुस मसान्तसम्ममा मात्रै ६३ सुत्केरी आमालाई रगत दिइएको छ ।

हेमोग्लोबिन कम भएका १२ जनालाई फनि रगत दिइयो ।

रेडक्रसले सञ्चालन गरेको आकस्मिक रत्तसञ्चार सेवा २२ औं वर्षमा प्रवेश गरेको अवसरमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

यही तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा दिनानुदिन रगतको आवश्यकता बढ्दै गएको शाखा सभापति सरोजकुमार बज्राचार्यले बताए ।

उनका अनुसार सुत्केरी आमालाई बढी रगत चाहिन्छ । जिल्लामा ब्लड बैंक नहुँदा समस्या भएको उनले बताए ।

‘जिल्ला अस्पतालमा समेत ब्लड बैंक नहुँदा रगत चाहिएका बेला सेना र प्रहरीको सहयोग माग्नुपरेको छ,’ बज्राचार्यले भने, ‘रगत आवश्यकता पर्दा पहिले सम्झिने नाम हो रेडक्रस, अनि हामीले सेना र प्रहरीलाई पनि सम्झनुपर्छ ।’

इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रेडक्रसका कर्मचारी र अस्पतालका चिकित्सकले सेनाका गुल्मपति र प्रहरी प्रमुखलाई फोन गर्ने गरेको बज्राचार्यले बताए ।

‘ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतारमा बोलाउनुपर्छ, कतिपय ड्युटीमा हुन्छन्’, उनले भने, ‘मिल्दो रक्त समूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । सेना र प्रहरीले धेरैको ज्यान बचाएका छन्,’ उनले भने, ‘ब्लड बैंक थियो भने त्यहीँबाट दिन मिल्थ्यो ।’

स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रक्तदाता जुटाउनैमा एक घण्टाभन्दा बढी समय लाग्छ ।

जिल्ला स्वास्थ्यको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रक्तदान गर्न थालेको वर्षौं बितिसकेको छ । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी सेना र प्रहरीबाहेक अन्य पेसा व्यवसायीले प्रायः रक्तदान गरेको भेटिँदैन ।

खबर गर्न सजिलो र रक्तदानका लागि ‘कन्भिन्स’ गर्नु नपर्ने भएकाले सीधै सेना र प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरेको अस्पतालका निमित्त प्रमुख डा. लक्ष्मण खडकाले बताए ।

प्रहरी नायब उपरीक्षक श्याम सारूमगरले प्रहरीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गरे । स्वास्थ्य समस्यालाई बुझेर आफूहरूले इमर्जेन्सी सेवा दिएको उनले बताए ।

रक्तसमूह मिल्ने प्रहरी आफैं रक्तदान गर्न राजीखुसी हुन्छन् । प्रहरीमा जुनसुकै समूहको रगत फेला पार्न गाह्रो नहुने उनले बताए । चिकित्सकका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरू बढदै गएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले भने, ‘उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै निम्तिने गर्छ । त्यसैले जिल्लामा रगतको बढी खाँचो परेको हो ।’

रेडक्रसले खाँदबारीस्थित सेनाको गुल्म, सदरमुकाम सुरक्षाका लागि आएका सशस्त्र प्रहरी, जिल्ला प्रहरीका जवान र अधिकृतको नामावली र ब्लड ग्रुप राखेर सम्पर्क गर्दै बिरामीलाई रगत उपलब्ध गराउछ ।

रेडक्रसकी कार्यालय प्रमुख लक्ष्मी कार्कीले भनिन्, ‘खबर गरेपछि रगत दिन प्रहरी, सेना र सशस्त्र आउने गर्छन् ।

जिल्ला अस्पतालका निमित्त प्रमुख खडकाले बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्ने गरेको अनुभव सुनाए ।

बिरामीलाई रगत दिनुपरेमा प्रहरी र सेनाकै भर पर्नुपर्ने बाध्यता पनि सुनाए ।

बैंक स्थापना गर्न सहयोग
संखुवासभा जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि सिर्जनशील सामुदायिक विकास केन्द्रले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई २९ हजार ५ सय ८५ सहयोग गरेको छ ।

उक्त रकम मनकामनामा लाग्ने एकादशी मेलामा चिया बेचेर संकलन गरेको केन्द्रकी सचिव बबिता कटुवालले बताइन् ।

उनले सबै पक्षलाई झक्झक्याउन यो अभियान सुरु गरेको बताइन् ।

ब्लड बैंकको आवश्यकता एकदमै छ, उनले भनिन्, ‘यतिका वर्ष हुँदासम्म यसका लागि कसैले पहल गरेको पाइएन र हाम्रो संस्थाले यो अभियान थालेको हो ।’

आजको कान्तिपूरबाट

Last modified on 2019-02-23 13:04:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts