औषधिमा विदेशी बजारको रजाइँ, आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल



Download our app to get more features

काठमाडौं, २५ फागुन । सरकारले नेपाली औषधि उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकार चुकेको छ ।

नेपालमै उत्पादन हुने ३० प्रकृतिका औषधि विदेशबाट ल्याउन सरकारले प्रतिबन्ध लगाएको थियो । तर, आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएपछि नेपालमा विदेशी औषधीको रजाइँ बढेको पाइएको छ ।

सरकारले २०७४ जेठमा ३० प्रकृतिका औषधिका लागि कच्चा पदार्थ मात्रै ल्याउने र ती औषधि विदेशबाट आयात गर्न नपाइने गरी निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि कार्यतालिकासहित स्वास्थ्य मन्त्रालयमा पेस गरिएको थियो ।

मन्त्रालयबाट २०७४ जेठमा नै कार्यतालिकाबमोजिम औषधि व्यवस्था विभागमा पत्र पठाए पनि झन्डै दुई वर्ष बितिसक्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

जसकारण अझै भारत, बंगालदेश, चीन, बेल्जियमलगायतबाट नेपालमै उत्पादन भई आत्मनिर्भर भएका औषधिसमेत आइरहेका छन् ।

स्रोतका अनुसार सरकारका उच्च अधिकारी विदेशी औषधि आयातकर्ताको दबाबमा निर्णय कार्यान्वयमा आलटाल गरिरहेका छन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार सरकारी बेवास्ताका कारण ३० प्रकृतिका औषधि निर्वाध रूपमा विदेशबाट भित्रिरहेका छन् ।

उनले भने, ‘सरकारको बजेट वक्तव्यमा समेत उद्योगलाई आधारभूत संरक्षण दिने नीति लिएको छ । तर, नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्न सरकार संवेदनशील भएको देखिँदैन । उल्टै विदेशी औषधिलाई नै प्रोत्साहन गर्न खोज्ने सरकारी अधिकारीको कार्य आपत्तिजनक छ ।’

औषधि व्यवस्था विभागले तत्कालीन स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन सन्दर्भमा कार्ययोजनासहित विवरण पठाएको थियो ।

कार्ययोजनामा नेपालमै उत्पादित ३० प्रकारका औषधि २०७४ असार मसान्तदेखि लागू हुनेगरी आयातमा रोक लगाइने भनिएको छ ।

अहिले नेपाली बजारमा उत्पादन भएर पनि उचित बजार पाउन नसकेका औषधिमा अल्बेन्डाजोल, एमोक्सासिलिन एजिथ्रोमाइकिन, ट्रिमेथोरपिम प्लस सल्फामेथोजाजोल, मेट्रोनिडाजोल, एन्टासिड, ओमेप्राजोल, पेन्टाप्राजोल, रेनिटेडिन, मल्टिभिटामिनहरू पारासिटामोल रहेका छन् ।

यस्तै, सेट्रेजिन, केही मलम, इन्डोमेथासिन, टिनिडाजोल, अल्वेन्डाजोल, अक्सिक्लोनजाइड भेट, लेभामिजोल भेट, कालामाइन लोसन, क्याल्सियम कार्बोनेट रहेका छन् ।

यस्तै, क्याल्सियम कार्बोनेट, जेन्सन भ्वाइलेट, निमो सुलाइड, ट्रामाजोल, साइप्रो हेप्टाडिन पनि नेपालमै आत्मनिर्भर भएका औषधिभित्र पर्छन् । यी औषधि अहिले पनि आयात भइरहेको छ । यसरी हेर्दा दैनिक १ करोड ४० लाख रुपैयाँबराबरका औषधि आयात भइरहेको नेपाल औषधि उत्पादक संघले जनाएको छ । संघका सदस्य विप्लव अधिकारीले भने, ‘नेपाली औषधिलाई प्रोत्साहन गर्ने सरकारले नीति त ल्याएको छ । तर, सरकार अझै कार्यान्वयनमा गम्भीर देखिएको छैन ।’ औषधि उत्पादक संघले सरकाले ३० प्रकृतिका औषधिको कच्चापदार्थ मात्र आयात गर्ने नीति लिएमा दुई वर्ष्भित्रमा ७५ प्रतिशत औषधिमा देश आत्मनिर्भर हुने बताएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने नेपालमै आत्मनिर्भर भएका औषधिहरूलाई प्रोत्साहन गर्न सरकार संवेदनशील भएको दाबी गरे । उनले भने, नेपालमा उत्पादित औषधिको क्वालिटीसँग कुनै सम्झौता नहुनेगरी विदेशबाट आयात नगर्न हामी तयार छौं । ’

सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बिदेसिने गरेको छ ।

हाल देशभर ५३ औषधि उद्योगले यलोपेथिक प्रकृतिका औषधि उत्पादन गर्दै आएका छन् । अझै ३० वटा नयाँ उद्योग सञ्चालनको तयारीमा छन् । हाल नेपालमा करिब ३ सय प्रकृतिका औषधि उत्पादन हुँदै आएका छन् । बजारमा झन्डै ९ सय थरीका औषधि बिक्री वितरण भइरहेका छन् ।

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-03-09 14:15:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts