किस्ट मेडिकल कलेजमा अवैध शुल्कः ढोका थुनेर मोलमोलाइ, धम्क्याएर असुली



Download our app to get more features

काठमाडौं, ५ चैत । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरू कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन् ।

किस्टका केही विद्यार्थी एवं नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आचार्य, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि विद्यार्थीसँग मोलमोलाइ गर्छन् । उनीहरूले कलेजले लिन पाउने शुल्क खातामै जम्मा गर्न लगाउँछन् भने अतिरिक्त शुल्क निजी खातामा राख्न निर्देशन दिन्छन् । कतिपय अवस्थामा नगद कारोबारसमेत हुने गरेको स्रोतले बतायो ।

काउन्सिलका एक सदस्यले आचार्य, थापा एवं बस्नेतको नाम किटानी गरेर उजुरी परेको बताए । ’उनीहरूको व्यक्तिगत खाता छानबिन गरियोस्, स्रोत नखुलेको रकमको ठूलो कारोबार भएको देखिन्छ’ भनी विद्यार्थीले काउन्सिललाई सूचना दिएका हुन् । उनका अनुसार एक विद्यार्थीले किस्टका पदाधिकारीले गरेको मोलमोलाइको अडियो रेकर्ड नै सुनाएका थिए ।

किस्ट कलेजले अतिरिक्त शुल्क नतिरे आन्तरिक परीक्षामा फेल गराउने, हाजिर नगराउने, परिचयपत्र, लाइबे्ररी कार्ड नबनाइदिने गरेको विद्यार्थीको गुनासो छ । अवैध शुल्क उठाएका विषयमा विरोध वा नियामक निकायमा उजुरी गर्दा कलेजले अनेक बहानामा दण्डित गर्ने र परीक्षामा फेल गराउने गरेको उनीहरूले बताए । 

नेपाल मेडिकल काउन्सिलले किस्टमा भएको अनियमितता छानबिनका लागि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानलगायत निकायमा पत्राचार गरेको थियो । गोप्य रूपमा सूचना र उजुरी दिन चाहने किस्टका विद्यार्थी खुल्न भने नचाहेको काउन्सिल स्रोतले बतायो ।

किस्ट मेडिकल कलेजमा पूर्वाधार कमजोर छ । खुला बाटो र दमकल पार्किङ गर्ने व्यवस्थासमेत नभएको कलेजमा अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले जबरजस्ती सिट बढाइदिएर संरक्षण गरेका थिए । उनको बहिर्गमनपछि समेत सञ्चालकहरूले राजनीतिक तथा अन्य प्रभावमा बढी कोटा निर्धारण गराई विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको स्रोतले बतायो । 

छानबिन थालेपछि हाजिरी
विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुल्दै आएको किस्ट कलेजमाथि छानबिन सुरु भएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको टोलीले कलेजका विषयमा छानबिन थालेको हो । टोलीमा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, उपसचिव विष्णुप्रसाद मिश्र, केन्द्रका एसपी कमलप्रसाद अधिकारी र इन्स्पेक्टर बुद्धिराज खनाल छन् । ’स्थलगत निरीक्षण गरेर आवश्यक कागजात र विवरण मागेका छौं,’ सहसचिव लम्सालले भने, ’केही विवरण प्राप्त भयो, केही आउने क्रममा छ ।’

सन् २०१८ ब्याचको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीबाट किस्टले १ लाख ५० हजार अतिरिक्त रकम लिएको बिलभर्पाइ प्राप्त भएको छ । अन्य विद्यार्थीसँग पनि सोही दरमा रकम माग गरिएको छ । 


(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-03-20 06:20:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts