गण्डकी मेडिकल कलेजद्वारा मुद्दा फिर्ता लिन विद्यार्थीलाई दवाव



Download our app to get more features

पोखरा, ६ चैत । गण्डकी मेडिकल कलेजका पदाधिकारीले विद्यार्थीलाई ठगी मुद्दा फिर्ता लिन दबाब दिन थालेका छन्  । पक्राउ पुर्जी जारीपछि लुकेर बसेका उनीहरूले अभिभावकलाई मनोवैज्ञानिक दबाब दिइरहेको विद्यार्थीले बताएका छन्  ।

दबाब आउन थालेपछि आफूहरूले असुरक्षा महसुस गर्न थालेको विद्यार्थीले बताए । बढी लिएको शुल्क फिर्ता माग्दै डेढ महिनासम्म आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थीले १० जना पदाधिकारीविरुद्ध ठगी मुद्दामा कारबाहीका लागि प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी दर्तापछि प्रहरीले दुई पदाधिकारीलाई पक्राउ पनि गरिसकेको छ । अन्य फरार रहेकाले खोजी जारी रहेको प्रहरीले बताउँदै आएको छ । जिल्ला प्रशासनसँगको सहमतिमा गत शनिबार विद्यार्थीले कलेज पदाधिकारी र अस्पतालका विभिन्न वार्डको ताला खोलेका थिए । उनीहरूले कलेज सञ्चालनमा आउन दिएका छैनन् । कक्षामा विद्यार्थी गए पनि शिक्षक आउँदैनन् ।


‘पढाइ सुरु हुनेरनहुने केही टुंगो भएन । उल्टै हामीलाई मुद्दा फिर्ता लिन दबाब आएको छ,’ मंगलबार एक विद्यार्थीले भने, ‘आज काठमाडौंबाट भन्दै ९÷१० जना अभिभावक हाम्रो होस्टलमै आउनुभयो ।’ अभिभावकले सञ्चालकहरूलाई भेट्न चाहे पनि मुद्दा फिर्ता लिनुपर्ने सर्त आएको उनले बताए । ‘हाम्रा अभिभावक र हामी सबै मानसिक दबाबमा छौं,’ उनले भने, ‘यतिका दिनको बन्दले कलेज र हाम्रो भविष्य के हुने भन्ने चिन्ता भयो ।’

आफूहरूले जायज माग राखेर गरेको आन्दोलनलाई सरोकारवाला पक्षले नबुझेको उनको गुनासो छ । शिक्षकलाई पठनपाठन थाल्न आग्रह गर्दा ‘व्यवस्थापन पक्षले सुचारु गर्न भनेकै छैनन्, कसरी पठनपाठन गर्नू ?’ भन्ने जवाफ आउने गरेको विद्यार्थीले बताए ।

सरकारले तोकेभन्दा प्रतिविद्यार्थी ८ देखि १६ लाख रुपैयाँसम्म बढी शुल्क लिएको भन्दै सन् २०१५ देखि २०१८ सम्मका ब्याचका ६ सय विद्यार्थी फिर्ताका लागि आन्दोलित भएका थिए । सरकार र सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयले पनि मागबारे सुनुवाइ नगरेपछि मुद्दा प्रक्रियामा गएको विद्यार्थीको भनाइ छ । दलका भ्रातृ संगठन खोल्न नपाइने भएकाले चिकित्साशास्त्रका विद्यार्थीले गरेको आन्दोलनमा कुनै पनि दलका विद्यार्थी संगठनले बोलेनन् ।


(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-03-20 12:45:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts