कोहलपुर स्वास्थ्य चौकीकी ‘डाक्टर्नी मेडम’: पद स्विपरको, काम नर्ससरह



Download our app to get more features

बाँके, ११ चैत । ‘तपाईंलाई दुख्यो होला, एकैछिनमा ठीक भइहाल्छ है ।’ निदाइरहेको छोरो पिठ्यूँमा बोकेर २७ वर्षीया फुलनदेवी चौधरी बिरामीका घाउ सफा गर्दै थिइन् । बिरामीलाई पीडाबोधबाट अल्झाउन उनी मीठो वचनमा कुरा गरिरहन्थिन् । 

कोहलपुर नगर स्वास्थ्यचौकीमा स्विपर पदमा रहेकी उनी कामले नर्सजस्तै छिन् । त्यहाँ आउने बिरामीले उनलाई ‘डाक्टर्नी मेडम’ भन्दै सम्बोधन गर्छन् । बर्दिया घर भएकी उनले बिरामीका घाउ सफा गर्नेदेखि औषधि र्पुयाउने, सुत्केरीका समस्या बुझ्ने र बालबालिकाको तौल नाप्नेलगायत काम गर्दै आएकी छन् ।

झन्डै ३ वर्षदेखि स्वास्थ्यचौकीमा रहेको बताउने उनी त्यहाँकी स्वास्थ्यकर्मी हुन् कि स्विपर, छुट्याउन गाह्रो छ । ‘कामअनुसारको दाम छैन,’ उनले भनिन् । स्विपर पदमा ७ हजार रुपैयाँ तलब पाउँछिन् । स्वास्थ्यचौकीमै बस्दै आएको बताउने उनले राति सुत्केरी गराउन आए भने आफू पनि खटिनुपर्ने सुनाइन् । ‘प्रसूतिका लागि कोही आए रातभर सुत्न पाइँदैन,’ उनले भनिन् ।

कार्यालयको सरसफाइदेखि अस्पतालमा आउने बिरामी उपचारमा उनको भूमिका सक्रिय रहन्छ । स्वास्थ्य चौकीमा दैनिक ५० देखि सयको हाराहारीमा सेवाग्राही आउँछन् । खाना खाने फुर्सदसमेत नहुने उनले सुनाइन् । अस्पतालमा करारसहित ५ अनमी छन् । उनीहरूकै भरमा बर्थिङ सुविधाप्रदान गरिँदै आएको स्वास्थ्य चौकीका सिनियर अहेव मीठु शाहीले बताइन् । 

फुलनदेवीले स्वास्थ्य चौकीमा नर्ससरहको काम गर्नु भनेको उनको बाध्यता हो । पर्याप्त जनशक्ति नहुँदा फुलनदेवीले सहयोगगर्नुपरेको उनले बताइन् ।

फुलनदेवीले कुनै स्वास्थ्य प्रशिक्षण लिएकी छैनन् । हेरेकै भरमा स्वास्थ्यसम्बन्धी काम गर्नुपरेको उनले बताइन् । बिरामीको ड्रेसिङ सामान्यतः नर्सले गर्छन् । घाउको सफाइमाविशेष ध्यान दिनुपर्छ । त्यो अत्यन्त संवेदनशील मानिन्छ । फुलनदेवीले ड्रेसिङ गरिरहँदा आफूले सही गरे कि गलत भन्ने हेक्का पाउँदिनन् । यस्तो बेला अन्योल भयो भने उनी सिनियर अहेवलाईजानकारी गराउँछिन् ।

कोहलपुर नगरपालिकाको जनसंख्या १ लाख हाराहारी छ । यति मात्रै नभएर सुदूपश्चिमदेखि उपचारका लागि यहाँ आउने सेवाग्राही पनि उत्तिकै छन् । स्वास्थ्य चौकी इन्चार्ज अनिलसेन ठकुरीका अनुसार एक डाक्टर मात्रै भइदिए पनि सेवामा गुणस्तर थपिन्थ्यो । स्वास्थ्य चौकी जनसेवाको चापले गर्दा कम्तीमा ५० बेडको अस्पताल आवश्यक रहेको उनले सुनाए ।

जनस्वास्थ्य अधिकृत धन रेग्मीले भने स्वास्थ्य चौकीमा आवश्यक कर्मचारी भएको र भौतिक पूर्वाधार पर्याप्त रहेको दाबी गरे । उनले अब छिट्टै प्रयोगशाला खोल्ने सुनाए । नगरपालिकाले ४ लाख रुपैयाँ बजेट छुटयाए पनि स्वास्थ्यकर्मी थप्ने विषयमा प्रस्ट नहुँदा अन्योलमा परेको बताए । ‘हुन त निःसर्त बजेट हो । अर्को वर्ष गर्न सकिन्छ,’ उनले भने, ‘प्रयोगशाला बनाउने, कर्मचारी राख्ने कुरा भएको छैन । त्यसैले अन्योल छ ।’ अर्को आर्थिक वर्षमा योजनापूरा गर्ने दाबी उनले गरे ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-03-26 14:24:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts