अनुमतिबिना गैरऔषधि धमाधम बिक्री हुँदै, सरकारले निगरानी गर्न सकेन



Download our app to get more features

काठमाडौं, १७ चैत । औषधि व्यवस्था विभागको अनुमतिबिना खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल्स) नेपाली औषधि बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । मन्त्रिपरिषद् बैठकले २०७४ जेठमा औषधि व्यवस्था विभागलाई ‘न्युट्रास्युटिकल्स’ सन्दर्भमा नियमन गर्न जिम्मा दिएको थियो । तर, विभागको अनुमति नलिएर औषधि पसलबाट अत्यन्तै महँगो रूपमा न्युट्रास्युटिकल्स धमाधम बिक्री भइरहेको पाइएको हो । न्युट्रास्युटिकल्स अहिलेसम्म औषधिका रूपमा दर्ता भएको छैन ।

औषधि पसलबाट खाद्यपूरक सामग्री क्याप्सुल आकारमा धमाधम बिक्री हुँदा पनि सरकारले निगरानी भने गर्न सकेको छैन । न्युट्रास्युटिकल्स भन्नाले मानवलाई शारीरिक फाइदा हुने वा कुनै दीर्घ रोगबाट बचाउने गुण भएको, खाद्य वा अन्य स्रोतबाट निकालिएका वा शुद्ध पारिएका प्राकृतिक रासायनिक पदार्थलाई पाउडर, ट्याब्लेट, क्याप्सुल, झोलजस्ता खाद्य ढाँचामा तयार गरी तोकिएको मात्रामा प्रयोग गर्ने खाद्य पदार्थ हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आहारपूरक (डाइटरी सप्लिमेन्ट) खाद्य पदार्थ नियमन कार्य्विधि २०७२ मा न्युट्रास्युटिकल्सलाई खाद्यमा राखिएको थियो । कार्य्विधिमा न्युट्रास्युटिकल्सको आयात, निर्यात तथा उद्योग स्थापना गर्न सकिने प्रावधान छ ।

चिकित्सकीय उपचारमा भिटामिन, मिनिरललगायत विविध समिश्रणमध्ये केहीलाई हालसम्म औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ । तर पनि बजारमा डायटरी सप्लिमेन्ट, न्युट्रास्युटिकल्सहरू गुणस्तर यकिन नभई अत्यधिक चर्को मूल्यमा बिक्री भइरहेको छ ।

मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन, २०७४ अनुसार जानीजानी प्रभावहीन र अनावश्यक औषधि सिफारिस गरेको भनी क्षतिपूर्तिसहित कारबाहीको माग दाबी गर्न सक्ने प्रावधान छ । औषधि ऐन २०३५ मा औषधि व्यवस्था विभागको अनुमति लिएर मात्रै औषधिजन्य सामग्री बिक्री गर्न मिल्ने भनिएको छ ।

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-04-01 06:28:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts