केयूका मेडिकल कलेजमा ठगीः विद्यार्थीबाट १ करोडसम्म असुली



Download our app to get more features

काठमाडौं, १ वैशाख । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । 

एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन् । कलेजहरूले संस्थागत निर्णय गरेर करोडौं रकम जम्मा पार्दा पनि विश्वविद्यालय बसेकाले मिलेमतो हुन सक्ने विद्यार्थीले आशंका गरेका छन् । विश्वविद्यालयको वेबसाइटमा एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छैन ।

बीडीएस अध्ययनका लागि सरकारले १९ लाख ३२ हजार शुल्क तोकेको छ । वेबसाइटमा २३ लाख २० हजार शुल्क तोकिएको छ । एमबीबीएस पढ्ने विद्यार्थीसँग कलेजहरूले ६० लाखसम्म शुल्क लिने गरेका छन् । ‘बिल भर्पाइ दिएर देखिने गरी लिने शुल्क ६० लाख हो,’ केयूअन्तर्गतको एक मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले भने, ‘कोर्स पूरा हुँदासम्म अनेक बहाना बनाएर ८० लाखदेखि १ करोडसम्म शुल्क लिन्छन् ।’ विद्यार्थीबाट लिने शुल्कको दर पनि फरकरफरक छ ।

सरकारले एमबीबीएस अध्ययन गर्न काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज (केएमसी), कान्तिपुर डेन्टल कलेज, भरतपुरको कलेज अफ मेडिकल साइसेन्स, नोबेल मेडिकल कलेज मोरङ, नेपालगन्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा, विराट मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज रूपन्देहीले शैक्षिक शुल्कको नाममा विद्यार्थीसँग अतिरिक्त शुल्क लिएर ठगी गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

संसद् सचिवालयस्थित समितिको कार्यालय र इमेलबाट समेत उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले चिकित्सा शिक्षा आयोग, केयू, टीयू, मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयबाट यससम्बन्धी कागजात संकलन गरेर छानबिन गरिरहेको जनाएको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-04-15 07:28:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts