फर्मासिस्टको अभावका कारण औषधि प्रयोगको जोखिम उच्च, ७ हजार फार्मेसी गैरकानुनी



Download our app to get more features

काठमाडौं, ५ वैशाख । औषधिको मात्राका बारेमा आधिकारिक सिफारिस गर्ने फर्मासिस्टको अभाव हुँदा औषधि प्रयोगको जोखिम बढ्न पुगेको छ । देशभर हाल २८ हजार औषधि पसल छ तर फर्मासिस्टको संख्या भने मुस्किलले ७ हजार मात्रै छ । जुन आवश्यक संख्याभन्दा चार गुणा कम हो ।

चिकित्सकका अनुसार औषधि व्यक्तिको जीवनमरणसँग जोडिएको वस्तु हो । जसको गलत प्रयोगले बिरामीको अकालमा मृत्यु हुन सक्छ भने सही सदुपयोगले बिरामीको ज्यान बच्न सक्छ । त्यही औषधिको प्रयोग कसरी गर्ने, कति मात्रामा प्रयोग गर्ने भन्ने स्पष्ट जानकारी दिने अधिकार प्राप्त फर्मासिस्टहरूको चरम अभाव देखिएको हो ।

सरकारी तथ्यांकअनुसार हाल देशभरमा २० हजार ८४३ फर्मासिस्ट र फार्मेसी सहायकको अभाव खड्किएको छ । औषधि ऐन, २०३५ को दफा १७ मा औषधि बिक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

देशभरि २८ हजार ६ सय औषधि पसल सञ्चालनमा छन् । महालेखा परीक्षकको प्रतिवेदनअनुसार नेपाल फार्मेसी काउन्सिलमा फर्मासिस्ट २ हजार ७११ र फार्मेसी सहायक ५ हजार ४७ दर्ता भएका छन् । यसरी, हेर्दा ७ हजार ७५७ फर्मासिस्ट छन् ।

सबै औषधि पसलमा फर्मासिस्ट वा फार्मेसी सहायक नरहेको स्पष्ट भएको भन्दै फर्मासिस्ट हुने सेवा प्रभावकारी नहुने महालेखा परीक्षकको प्रतिवेदनले देखाउँछ ।

फर्मासिस्टको उपस्थिति नभई सञ्चालित औषधि पसलहरू यकिन गरी कारबाही गर्न प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले फर्मासिस्टको चरम अभाव हुँदा औषधिको प्रयोगमा जोखिम हुन सक्ने बताए । उनले निजी फार्मेसीहरूले अनिवार्य रूपमा फर्मासिस्ट राख्नैपर्ने भए पनि सोअनुसार नराखेकाले सरकारले आवश्यक अनुगमन गरी कारबाही प्रक्रिया थाल्ने बताए ।

७ हजार फार्मेसी गैरकानुनी
यसैबीच, औषधि पसलको नियमनमा सरकार उदासीन देखिएको छ । देशभर ७ हजार फार्मेसीहरू गैरकानुनी ढंगले सञ्चालन हुँदा पनि जिम्मेवार निकायले अनुगमन गरी कारबाही गर्न सकेको छैन ।
औषधि पसलहरूको नियमन र कारबाहीको अख्तियारी प्राप्त निकाय औषधि व्यवस्था विभाग संवेदनशील नहुँदा गैरकानुनी ढंगले औषधि पसलहरू धमाधम सञ्चालन भइरहेका छन् । औषधि ऐन, २०३५ को दफा १० मा औषधिको बिक्री वितरणका लागि आफ्नो नाममा पसल वा फर्म दर्ता गराउनुपर्ने व्यवस्था छ । तर, फार्मेसीहरूले सो व्यवस्थाको अटेर गर्दै आएका छन् ।

दर्ता नभई सञ्चालित औषधि पसल एकीन गरी नियमानुसार आवश्यक कारबाही हुनुपर्ने सरोकारवालाहरूले बताउँदै आएका छन् । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार फर्मा्सिस्ट, फार्मेसी सहायक र व्यवसायीले औषधि बिक्री गर्न पाउने व्यवस्था छ ।

उनले भने, ‘अहिले ९ हजार व्यवसायीले पनि सक्रिय रूपमा औषधि उपलब्ध गराउन सक्नुहुन्छ । उहाँहरू तालिममार्फत आउनुभएको हो । तर, हाल बन्द छ ।’


(आजको राजधानी दैनिकबाट) 

Last modified on 2019-04-19 08:25:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts