उपकरण थन्किदा सरकारी अस्पतालका बिरामी निजीमा रिफर



Download our app to get more features

काठमाडौं,६ वैशाख । सरकारी अस्पतालको चरम लापर्बाहीका कारण अधिकांश मेसिनरी उपकरण थन्किएका छन् । अस्पताल प्रशासनले दीर्घकालीन योजना बनाउन नसक्दा यो स्थिति आएको हो । अस्पताल प्रशासनको यस्तो लापर्बाहीको सीधा असर उपचारका लागि गएका बिरामीले भोग्नु परिरहेको छ ।
सरकारी अस्पतालका उपकरण जीर्ण हुँदा रोग पहिचान र निराकरणका लागि गएका बिरामी सो सेवाका लागि निजी अस्पतालमा रेफर हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएका मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको देखिएको छ । तर, सरकारले उपकरण प्रयोगको प्रभावकारिताबारे चासो देखाएको छैन ।
वीर अस्पतालका दुईवटा भेन्टिलेटर एक वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् ।

कान्ति बाल अस्पतालका लागि ४ करोड ५४ लाख रुपैयाँमा खरिद गरिएको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रिँदा मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउनुपरेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रहेको रगतसम्बन्धी परीक्षण गर्ने पीसीआर मेसिन उपयोगविहीन अवस्थामा रहेको पाइएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमोडाइलोसिसका लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्य सेवा विभागबाट गत वर्ष प्राप्त दुईवटा मेसिन सञ्चालन हुन नसक्दा भण्डारमा राखिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाउँछ ।
भक्तपुर अस्पतालमा इन्डोस्कोपी मेसिन बिग्रिएर सञ्चालनमा नरहेको पाइएको छ ।

यस्तै, सोही अस्पतालमा रहेको फुल्ली एटोमेटेड एनलाइजर प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ ।

२१ जेठ २०७५ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएको सो उपकरण प्रयोगविहीन अवस्थामा छ । यस्तै, जनशक्ति अभावका कारण जिल्ला अस्पताल गुल्मीमा एक्सरे, सीओटू सिलिन्डर प्रयोगविहीन छ । जिल्ला अस्पताल गुल्मीमा नै ईसीजी माइक्रोस्कोपलगायतका उपकरण मर्मत नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा २०७४÷७५ मा खरिद भएको ट्रान्सफर्मर अहिलेसम्म पनि जडान हुन सकेको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक दशमलव पाँच टेस्ला एमआरआई मेसिन उपलब्ध भए पनि सञ्चालनमा ल्याइएको छैन ।

प्रतिष्ठानमा सीटी स्क्यान मेसिन २०७४ भदौबाट बिग्रिए पनि अहिलेसम्म पनि मर्मत हुन सकेको छैन । धौलागिरि अञ्चल अस्पतालमा पनि जनशक्ति अभावका कारण यूएसजी, ईसीजी र इन्डोस्कोपी चालू अवस्थामा छैनन् ।

राप्ती अञ्चल अस्पतालमा विगतदेखि अर्थोपेडिक तथा आईसीयू उपकरण र एनआईसीयू, सीटी स्क्यान, इन्डोस्कोपी मेसिन रहेकामा व्यवस्थापकीय कमजोरी र दक्ष जनशक्तिको अभाव देखाई सञ्चालनमा नल्याएको पाइएको छ ।

महाकाली अञ्चल अस्पतालमा तीन वर्षअगाडि आईसीयू सञ्चालनका लागि खरिद गरिएका उपकरण सञ्चालन हुन सकेका छैनन् ।

कोसी अञ्चल अस्पतालमा पीसीआर मेसिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएकामा जनशक्ति अभावको कारण देखाई सञ्चालनमा नल्याएको महालेखापरीक्षकको प्रतिवेदनले देखाउँछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मेसिनरी उपकरण प्रयोग नभएको सन्दर्भमा अनुगमन अघि बढाइने बताए । उनले भने, ‘मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । अब हामी अनुगमनलाई अघि बढाउने तयारीमा छौं ।’
 
राजधानी  दैनिकबाट 

Last modified on 2019-04-19 11:35:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts