सर्वपक्षीय सहमतिको उल्लघंन, गण्डकीले फिर्ता गरेन विद्यार्थीको पैसा



Download our app to get more features

पोखरा, ९ वैशाख । विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्ने सहमति जनाएको गण्डकी मेडिकल कलेजले एक महिना बितिसक्दा पनि शुल्क फिर्ता गरेको छैन ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा काठमाडौंमा गत चैत ८ मा भएको सर्वपक्षीय वार्तामा सबै कलेजले लिएको बढी शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि विद्यार्थीले डेढ महिना लामो आन्दोलन स्थगित गरेका थिए । 

आन्दोलनबाट माग सुनुवाइ नभएपछि विद्यार्थीले कलेज सञ्चालक अध्यक्ष खुमा अर्यालसहित ११ जनाविरुद्ध ठगी मुद्दामा कारबाहीका लागि उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले दुईपदाधिकारीलाई पक्राउ पनि गरेको थियो ।

जिल्ला अदालतको आदेशमा १७÷१७ लाख धरौटी बुझाएर दुवै छुटिसकेका छन् । अन्य पाँच जना पनि विभिन्न समय अदालतमा उपस्थित भएर धरौटी बुझाई छुटिसकेका छन् । पक्राउबाट जोगिन लुकेका अध्यक्ष अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, कर्मचारीहरू हरिमाया पौडेल र विश्वराज घिमिरे अझै बाहिर आएका छैनन् ।

कलेजका जिम्मेवार पदाधिकारीविरुद्ध मुद्दा चलिरहेको कारण देखाउँदै कर्मचारीहरू प्रस्ट बोल्न मान्दैनन् । कलेजअन्तर्गतको अस्पतालमा अहिले मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घले छिन् भने प्रकाश बराल कलेजको कार्यवाहक प्रिन्सिपलको जिम्मेवारीमा छन् । ‘जिम्मेवारीअनुसार शैक्षिक काममात्रै मैले मात्र हेरेको छु,’ बरालले भने, ‘आर्थिक पाटोबारे जानकार छैन ।’ कलेजले विद्यार्थीलाई फिर्ता गर्नुपर्ने भनिएको रकमका विषयमा आफूले बोल्न नमिल्ने उनले बताए । डा. घले आफ्नो जिम्मेवारी अस्पताल सञ्चालनको मात्रै भएकाले कलेजको दायित्वबारे अनभिज्ञ रहेको दाबी गर्छिन् ।

तोकिएभन्दा बढी शुल्क फिर्तासहितका माग राखेर डेढ महिना कक्षा छाडेका विद्यार्थी अहिले छुटेको पढाइमा ध्यान दिइरहेको बताउँछन् । ठगी मुद्दामा कारबाही हुनुको साटो आरोपी धरौटी बुझाउँदै धमाधम मुक्त हुनु र कलेजलेशुल्क फिर्ता नदिँदा उनीहरू निराश छन् ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-04-22 12:07:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts