भाइरल ज्वरोले एक जनाको मृत्यु, दुई गाउँका सबै परिवार प्रभावित



Download our app to get more features

बाजुरा, २२ वैशाख । बाजुराको हिमाली गाउँपालिका–५ क्युडी र ६ नम्बरको पाडीमा फैलिएको भाइरल ज्वरोले एक जनाको ज्यान लिएको छ । यी दुई गाउँमा एक सातायतादेखि भाइरल ज्वरो फैलिएको हो ।

क्युडी गाउँकी ५५ वर्षीया छञ्चकला बुढाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिए । छञ्चकलाको गत बुधबार मृत्यु भएको हो। क्युडी र पाडी गाउँका सबै परिवारमा भाइरल ज्वरोबाट पीडित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले बताए ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेरा नेतृत्वको टोली क्युडी गाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको छ। रुघाखोकी पूर्णरूपमा नियन्त्रणमा नआउँदासम्म एक अहेब र एक अनमी गाउँमै रहने व्यवस्था मिलाइएको छ । थप जटिल अवस्था आए स्वास्थ्यकर्मीको अर्काे टोली पठाउने तयारी स्वास्थ्य कार्यालयको छ ।

त्यस्तै पाडी गाउँमा पनि भाइरल ज्वरो फैलिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले जानकारी दिए । २१ जना बिरामी भएको २ जनाको अवस्था गम्भीर रहेको जानकारी पाए लगतै स्वास्थ्यकर्मी पाडीमा पठाइएको अध्यक्ष मल्लले बताए ।

हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक धर्मदत्त बुढा नेतृत्वको ३ सदस्यीय स्वास्थ्यकर्मीको टोली पाडी पठाइएको छ । छिमेकी हुम्लाको ताजाकोट गाउँपालिकाको मैलामा भाइरल ज्वरोको प्रकोप फैलिएपछि क्युडी गाउँमा सरेको अनुमान गरिएको छ । क्युडी र मैला आमनेसामने छन् । तर मैलामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आइसकेको छ । २ जनालाई थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको छ ।

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)

Last modified on 2019-05-05 15:11:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts