प्रहरीले उजुरी नलिँदा गलत रगत उपचारका कारण मृत्यु भएकी साहको अनुसन्धान अघि बढ्न सकेन



Download our app to get more features

काठमाडौं, २९ वैशाख । गलत रगत चढाउँदा मृत्यु भएकी आकृति कुमारी साहको प्रहरीले उजुरी नलिँदा कारबाहि अघि बढ्न सकेको छैन । 

प्रहरीले उजुरी नै नलिँदा अनुसन्धान अघि बढ्न समस्या भएको छ । उपचारमा लापरबाही भएको भन्दै महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालय जाँदा उजुरी नलिएको मृतकका आफन्तले बताए ।

उपचारमा संलग्न चिकित्सकमाथि शंका लागेको व्यहोरासहितको निवेदन दिँदा प्रहरीले उजुरी दिन नमानेको उनीहरूको भनाइ छ । बालिकाका आफन्त सुरेन्द्र साहले भने, 'मैले वकिल नै लिएर जाँदा पनि उजुरी लिन मानेका छैनन् उपचारमा लापरबाही गर्ने डाक्टरको नामबिनाको उजुरी दिएर हामीले कसरी न्याय पाउने ।’ एकै व्यहोरामा मेडिकल काउन्सिललगायत अन्य निकायमा उजुरी दर्ता भइसकेको छ । प्रहरीले उजुरी नलिँदा बालिकाको शवको पोस्टमार्टम हुन सकेको छैन । शव अहिले त्रिवि शिक्षण अस्पतालमा अलपत्र छ ।

कार्यालयका डीएसी फणिन्द्र प्रसाईंले पीडितपक्षले धेरै व्यक्तिको नाम राखेर उजुरी दिएकाले अनुसन्धान गर्न अप्ठयारो हुने बताए । उनले भने, ’अस्पतालका भएभरका मान्छेको नाम हालेर निवेदन लेखिएको छ । उहाँहरूकै सजिलोको लागि उजुरीपत्र परिवर्तन गर्न लगाएको हुँ ।’ 

वैशाख १७ गते सर्लाहीकी ५ वर्षीया बालिकाको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गर्दा मृत्यु भएको थियो । बालिकाको मृत्युबारे नेपाल मेडिकल काउन्सिल र गंगालाल अस्पताल आफैंले पनि छानबिन गरिरहेको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-05-12 15:13:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts