स्वास्थ्यकर्मीको आन्दोलनले अंग प्रत्यारोपण केन्द्र अस्तव्यस्त

५ वर्षदेखि कार्यरतलाई स्थायी गर्नुपर्ने मुख्य माग



Download our app to get more features

काठमाडौं, १ जेठ । कर्मचारीको आन्दोलनका कारण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अस्तव्यस्त बनेको छ । 

केन्द्रमा वर्षौँदेखि कार्यरत कर्मचारीलाई विस्थापित गर्ने गरी नयाँ पदपूर्ति गर्न लागिएको भन्दै नर्स, प्राविधिक कर्मचारी र चिकित्सक वैशाख दोस्रो सातादेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण केन्द्रको दैनिक उपचार सेवा प्रभावित बनेको छ । जनरल वार्डका ४५ बेड खाली छन् । करिब ३० जना नर्सले दैनिक काम छाडेर धर्ना दिइरहेका छन् ।

केन्द्रका नर्स र कर्मचारीले ०७० देखि नै कार्यरतलाई स्वतः स्थायी माग गर्दै आएका थिए । पटक–पटक भएका आन्दोलनका कारण दुई वर्षपहिले प्रशासनले स्थायी गर्ने सहमतिसमेत गरेको थियो । तर, विगतमा भएका सहमतिविपरीत नयाँ कर्मचारी नियुक्ति गर्न लागिएको भन्दै आन्दोलित भएका हुन् । केन्द्रका नर्स र कर्मचारीले अस्पतालको सेवासुविधा, उपकरणको व्यवस्थापन, नयाँ कर्मचारीकोे नियुक्तिमा प्रशासन र कार्यकारी निर्देशकले मनपरी गरेको आरोप लगाएका छन् । 

केन्द्रका आधाभन्दा बढी नर्स र कर्मचारी आन्दोलित छन्, केही कर्मचारी भने मौन बसेका छन् । कार्यरत नर्स र कर्मचारीले आफूहरूको सेवा र दक्षतामा आधारित भई स्वतः या आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिनुपर्ने माग गर्दै आएका छन् । 

पाँच दिनदेखि आमरण अनशनमा नर्स
आफ्ना माग बेवास्ता गरेकोे भन्दै दुईजना नर्स शुक्रबारदेखि आमरण अनशनमा बसेका छन् । लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालयअगाडि पोखराकी स्वतन्त्र नर्स जिता बराल र मानव अंग प्रत्यारोपण केन्द्रकी डिकी शेर्पा केन्द्रमै शुक्रबारदेखि अनशनमा बसेका हुन् । दुवैको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । तर, वार्ताका लागि कुनै पहल भएको छैन ।

अनशनरत शेर्पाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मानव अंग प्रत्यारोपण केन्द्रकै आकस्मिक कक्षमा राखिएको छ । बराललाई भने अनशनस्थल लाजिम्पाटबाट वसुन्धरास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएकोे नर्स मीना खर्बुजाले जानकारी दिइन् ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2019-05-16 12:54:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts