आफै गाडी चलाएर अस्पताल पुगेका डाक्टर ९ दिनदेखि आईसीयूमा

परिवार भन्छ 'समयमै उपचार नहुँदा अवस्था गम्भिर'



Download our app to get more features

विराटनगर, ४ जेठ । छातीमा सामान्य दुखाई महसुस भएपछि उपचारका लागि आफ्नै गाडी चलाएर अस्पताल पुगेका एक चिकित्सक नौ दिनदेखि आईसीयूमा छन् । उनलाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वासका लागि अक्सिजन दिइँदै छ ।

कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ विमल अग्रवालको नोबेल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । अग्रवाललाई अघिल्लो शनिबार राति घरैमा सामान्य छाती दुखेको महसुस भएको थियो ।

'आफैं डाक्टर हो, प्राथमिक उपचारका लागि पेनकिलर र ग्यास्ट्रिकको औषधि खाएको थियो, ' पिता सावरमल अग्रवालले भने, ’आइतबार बिहान अञ्चल अस्पताल अगाडिको मनोज ठाकुर डाक्टरको क्लिनिकमा मुटुको ईसीजी गराइएको थियो ।’ ईसीजीको रिपोर्टमा डा. विमलले चित्त बुझाएनन् ।

त्यसलगत्तै उनी श्रीमती डा. कोपिलालाई गाडीमा चढाएर आफैं ड्राइभिङ गर्दै नोबेल मेडिकल कलेजको मुटु विभागमा पुगेका थिए । त्यहाँ पुगेपछि मेडिकल कलेजका मुटुरोग विभागका प्रमुख डा. राजेश नेपालले उनको पुनः ईसीजी गरे । त्यो रिपोर्टमा केही समस्या देखिएपछि टीएमटी गर्न लगाए । टीएमटीमा पनि समस्या देखिएपछि डा. नेपालले अर्को परीक्षण एन्जियोग्राफी गर्न सुझाव दिए ।

त्यस दिन डा. विमल एन्जियोग्राफी नगरी घर फर्किए । आफ्नो क्लिनिकमा बिरामीको स्वास्थ्य परीक्षण गरे । विमल मंगलबार बिहान श्रीमतीसहित आफंै गाडी चलाउँदै पुनः नोबेलमा पुगे । डा. नेपालले उनको एन्जियोग्राफी गर्न ’हल्का बेहोस हुने’ औषधि प्रयोग गरेर परीक्षण सुरु गरे ।

’एन्जियोग्राफी गर्दा विमल बोलिरहेका थिए,’ प्रत्यक्षदर्शी मेडिकल साइन्सका जानकार उनका मामा प्रदीप अग्रवालले भने, ’एन्जियोग्राफी गर्ने क्रममा डा. नेपालले मुटुको रक्तधमनीमा रहेका ब्लकेज चलाएपछि विमल बेहोस भए ।’ मामा प्रदीपका अनुसार मुटुको रक्तधमनीको ब्लकेज चलाउँदा विमलको ’ब्रेन स्ट्रोक’ भएको हुनुपर्छ ।

तीन घण्टाभित्र ब्रेन स्ट्रोकको उपचार गरिएको भए विमलको यस्तो स्थिति नहुने उनको दाबी छ । उनले भने, ’चिकित्सकको लापरबाहीले विमलको ज्यान जोखिममा परेको हो ।’

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-05-18 13:34:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts