भेन्टिलेटरमा राखेको १२ घण्टापछि बालकको मृत्यु, अस्पतालमा तनाव



Download our app to get more features

पर्सा, ८ जेठ । उपचारका क्रममा डेढ वर्षीय बालकको मृत्यु भएपछि गण्डक अस्पतालमा तनाव भएको छ । चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै अभिभावक र आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव भएको हो ।  

पर्साको बहुदरमाई नगरपालिका १ विश्रामपुरको शिवटोलका श्रीराम महत्तो कोइरीका डेढ वर्षीया छोरा सुजित कोइरीको उपचारका क्रममा मृत्यु भएको हो । 

बालकलाई पखाला लागेपछि सुरुमा डा. किशोर साहको निजी क्लिनिकमा लगिएको थियो। पखाला लागेका बालकलाई डा. साहले सामान्य उपचारपछि घर पठाएका थिए । दुई दिनसम्म ठिक नभएपछि उनको क्लिनिकमा फेरि पुग्दा गण्डक अस्पतालमा रिफर गरेका थिए ।
 
बालकलाई  शनिबार गण्डक अस्पतालमा गरिएको थियो । बालकका बुबा श्रीरामका अनुसार बालकको स्वास्थ्यमा सुधार हुँदै गएपछि सोमबार डा. साहले डिस्चार्ज गर्ने बताएका थिए ।

आइतबार साँझ तयार पारेर चिकित्सकले लगाउन बिर्सिएको इन्जेक्सन सोमबार बिहान लगाएपछि बालक गम्भीर बनेको बुबा श्रीरामको आरोप छ । ‘आइतवार साँझ नै तयार पारिएको इन्जेक्शन सोमबार बिहान आठ बजे मात्र बालकलाई लगाइएको थियो’, बुबा सुजितले भने, ‘इन्जेक्सन लगाएलगत्तै मुखबाट फिज आएपछि तत्काल बालकलाई आईसीयुमा राखिएको थियो ।’ 

सोमबार राति नै बालकको मृत्यु भए पनि परिवारलाई भेट्न नदिएर मंगलबार मात्र प्रशासनले जानकारी दिएको भन्दै बुबा श्रीरामले आपत्ति जनाए । त्यसपछि बालकका आफन्त र परिवारका सदस्यले अस्पतालमा धर्ना दिएका हुन् ।

अस्पतालमा खटिएका प्रहरीले पनि शव बुझनका लागि पटक पटक दबाब दिइरहेको भन्दै श्रीरामले भने ,‘जब सम्म यो घटनाको छानबिन गरेर उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाही हुँदै तबसम्म हामी शव बुझ्दैनौँ ।’ 
 
गण्डक अस्पतालको आईसीयु कक्षका डाक्टर विकास गुप्ताले भने बालकको मृत्यु मंगलबार बिहान ११ बजे नै भएको जानकारी दिए । ‘आईसियुमा ल्याउँदा सुजितको मुटुको चाल एकदमै कम थियो’, उनले भने, ‘भेन्टिलेटरमा राखेको १२ घण्टापछि बालकको मृत्यु भएको हो, आइसीयुमा ल्याउनु पहिले के भएको थियो मलाई थाहा भएन ।’  अस्पतालका प्रशासन प्रमुख अरुण यादवले भने उपचारमा कुनै लापरबाही नभएको बताए ।

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)

Last modified on 2019-05-22 15:00:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts