एन्टिबायोटिक र ग्याष्ट्रिक कम गर्ने औषधिमा कैफियत नै कैफियत



Download our app to get more features

काठमाडौं, ९ जेठ । बजारमा पाइने एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्न प्रयोग हुने औषधिमा कैफियत देखिएको छ । ती औषधिको नमुना परीक्षणबाट कैफियत देखिएको औषधि व्यवस्था विभागले जनाएको छ । नेपाली बजारमा बिक्री भइरहेका ९० प्रकारका औषधिको नमुना फेल भएको पाइएको छ ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म संकलन गरिएका ८४७ नमुनामध्ये ८४३ वटा औषधिको नमुना परीक्षण गर्दा ९० वटामा कैफियत देखिएको राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ गुणस्तर नियन्त्रक शैलेशकुमार झाले बताए । ती औषधिको नमुना परीक्षणका क्रममा औषधिको मात्रा, घुल्ने क्षमता, फ्रियाबिलिटी टेस्टलगायतमा कमी देखिएको थियो ।

वरिष्ठ गुणस्तर नियन्त्रक झाले भने, ‘फेल भएका औषधिको नमुनामा अधिकांश एन्टिबायोटिक, झोलजन्य औषधि, क्याप्सुललगायत प्रकृतिका छन् । हाम्रो काम भनेको प्राप्त औषधिको नमुना परीक्षण गर्ने मात्र हो ।’

औषधि व्यवस्था विभागको नेतृत्वमा औषधिको नमुना संकलन हुँदै आएको छ । प्राप्त नमुनाको परीक्षण गरेर प्रतिवेदन बुझाउने काम राष्ट्रिय औषधि प्रयोगशालाले गर्छ । औषधिको बनोटअनुसार नमुना परीक्षण हुने वरिष्ठ गुणस्तर नियन्त्रक झाले बताए । ४० कर्मचारीको दरबन्दी रहेको प्रयोगशालामा हाल २९ जना मात्र कार्यरत छन् ।

 
कुनै औषधिको सेवनबाट स्वास्थ्य हानि हुन गएको व्यक्तिलाई वा त्यस्तो व्यक्ति मर्न गएमा मर्नेको नजिकैको हकदारलाई त्यस्तो औषधि उत्पादन गर्ने व्यक्ति वा संस्थाले क्षतिपूर्ति तिर्नुपर्ने औषधि स्तर नियमावली २०४३ मा उल्लेख छ ।

नियमावलीमा कम गुणस्तर भएकै औषधि सेवन गर्दा मुटु, कलेजो, मस्तिष्क, मिर्गौला (दुवै), फोक्सो (दुवै) क्षति हुन गई काम नलाग्ने हुन गएमा प्रत्येकका लागि ३ लाख रुपैयाँ सम्बन्धित कम्पनीले क्षतिपूर्ति बापत तिर्नुपर्ने प्रावधान छ । त्यस्तै, एउटा मात्रै मिर्गौला वा फोक्सोमा क्षति हुन गई काम नलाग्ने हुन गएमा प्रत्येकका लागि सोही बराबरको रकम पीडितले क्षतिपूर्ति बापत पाउने व्यवस्था गरिएको छ ।

औषधिको रासायनिक वा जीव वैज्ञानिक नाम र परिमाण, औषधिको शुद्धता (प्युरिटी), औषधिको परिचय (आइडेन्टिफिकेसन), औषधिको मात्रा (डोज) लगायतका आधारमा औषधिको स्तर निर्धारण गर्ने व्यवस्था छ । 

औषधिस्तर नियमावली २०४३ मा कुनै औषधि उत्पादनको सिलसिलामा औषधि उत्पादन गर्ने व्यक्तिले औषधि राखिएको भाँडाको सुरक्षाका लागि सो भाँडा कुनै प्याकिङ बट्टाभित्र राख्न सक्ने व्यवस्था छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार मापदण्ड नपुगेका औषधिलाई बजारबाट फिर्ता पठाइएको छ । उनले औषधिको गुण र अनुभवका आधारमा वार्षिक विवरण बनाएर त्यस्ता औषधिको नमुना संकलन गरिने गरेको बताए । विभागका प्रवक्ता केसीले भने, ‘हामीले विभिन्न स्थानबाट औषधिको नमुना संकलन गरेका हुन्छौं । प्रायः एन्टिबायोटिक, ग्यास्ट्रिक कम गर्ने औषधिको गुणस्तर खस्किएको पाएका छौं ।’


(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-05-23 13:10:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts